भारतीय दूतावासको आर्थिक सहयोगमा निर्मित म्याग्दी बहुमुखी क्याम्पसको भवनको उद्घाटन भएको छ । बेनी नगरपालिका–८, फुलबारीमा रहेको क्याम्पसको छात्राबास, वार्डेन कक्ष सहित व्यवस्थापन र मानविकी संकाय गरी ३ वटा भवनको भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले सोमबार संयुक्तरुपमा उद्घाटन गरेका हुन् । आर्थिक वर्ष २०६८–२०६९ मा भारतीय दूतावासको दुई करोड ८३ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।
क्याम्पस भवन तत्कालिन जिल्ला विकास समितिले २०७१ सालमा हस्तान्तरण गरेपछि नियमित प्रयोगमा आइरहेपनि विभिन्न कारणले उद्घाटनको मिति तय हुन सकेको थिएन । दुईतले २४ कोठा भएको नयाँ भवन निर्माणपछि पठनपाठन तथा ग्रामिण क्षेत्रबाट आउने छात्राहरुलाई सहयोग पुगेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले बताए । ‘भवन नहुदाँ पठनपाठनमा निकै समस्या भएको थियो । अब गुरुयोजनासहितका अन्य संरचना बनाउन केन्द्रित भएका छौ’ अध्यक्ष ढुंगानाले भने ।
भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले दुतबासबाट सञ्चालित परियोजनाको २० वर्ष अवधिमा ७९ वटा आयोजनामा नेपाललाई सहयोग गरिएको बताउँदै अव २० करोडसम्म सहयोग गर्न सकिने बताए । ‘नेपालसँगको सम्बन्ध बलियो छ, हामीले सहयोगमा पहिलो प्राथमिकता नेपाललाई दिन्छौ’ सिंहले भने । उनले भारतले भूकम्पपछिको पुननिर्माणसहित विभिन्न परियोजनामा समेत नेपाललाई सहयोग गरेको बताए ।
शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ती सहित अन्य विभिन्न राहत कार्यक्रमहरुमा भारत अन्य देशको तुलनामा पहिलो र धेरै सहयोग गर्नेमा पर्ने समेत प्रथम सचिव सिंहको भनाई छ । उनले भारतीय दुताबासबाट हुने सबै सहयोग नेपाल सरकारको मातहतका निकायबाट कार्यान्वयन हुने गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकालका मेयर सुरत केसीले भारतीय दुताबाससँगको सहकार्यमा क्याम्पसभित्र थप पूर्वाधार सहित अन्य संरचनाहरूलाई प्राथमिकता दिन अनुरोध गरेका थिए । प्रसिद्ध कालिगण्डकी नदीबाट भारतको अयोद्धामा पुर्याइएको शिला उत्खनन् गरिएको स्थानमा प्रस्तावित २० करोडको परियोजनामा समेत बजेट विनियोजन गर्न उनीहरुको अनुरोध थियो ।
सोही अवसरमा क्याम्पसले भौतिक तथा प्राविधिक शिक्षाका लागि केन्द्रित गरी तयार गरेको गुरुयोजनामा समेत भारतीय दुतावासको सहयोग मागेको छ । करिब १ हजार विद्यार्थी कक्षा ११, १२ र स्नातक, स्नातकोत्तर तहमा अध्ययनरत छन् । क्याम्पसका विद्यार्थीमा ७० प्रतिशत छात्रा रहेको क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताए । क्याम्पसमा म्याग्दीका साथै छिमेकी जिल्लाहरुबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् ।
प्रकाशित: २२ पुस २०८१ १६:५९ सोमबार