५ पुस २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

अब पक्की भवनबाट पठनपाठन

पुरानो जीर्ण भवनमा पढ्दै आएका विद्यार्थीलाई पक्की भवन बनेपछि सहज भएको छ। जिल्लाको तिलागुफा नगरपालिको–२ दियारतोलीस्थित जनसेवा आधारभूत विद्यालयमा पक्की भवन बनेपछि पठनपाठनमा सहजता भएको हो।

नेपाल रेडक्रस सोसाइटी कालीकोटको समन्वय तथा लक्जमबर्ग रेडक्रस र तिलागुफा नगरपालिकाको आर्थिक सहयोगमा ३ कोठे पक्की विद्यालय भवन निर्माण गरिएको छ। नेपाल रेडक्रस सोसाइटीकाे १५ लाख र तिलागुफा नगरपालिकाको ८ लाख आर्थिक सहयोग गरी जम्मा २३ लाख रुपैयाँमा पक्की विद्यालय भवन निर्माण गरिएको हाे।

नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्यायले समुदायको समग्र विकासका लागि गुणस्तरीय शिक्षाको महत्त्वमा विद्यालय भवनले सहयोग पुगेको बताए। उनले भने, ‘नयाँ भवनले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई सुरक्षित र अनुकूल वातावरणमा अध्ययन गर्ने सुविधा उपलब्ध गराएको छ। जसले शिक्षामा पहुँचलाई अझ सुदृढ बनाउने छ।’

भवन निर्माणले भाबी दिनमा विद्यालयको शैक्षिक सुधारका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्न ऊर्जा मिलेको नगरपालिकाका उपमेयर महेन्द्रबहादुर शाहीले बताए। ‘विद्यालयमा यो भवन बन्नु हाम्रा लागि गौरवको कुरा हो,’ उनले भने, ‘यसले विद्यालयलाई थप हौसला मिलेको छ, अबका दिनमा गुणस्तर सुधारमा योजनाबद्ध रूपमा थप काम गर्छौं।’

भवनको उद्घाटन तिलागुफा नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्याय र लक्जमबर्ग रेडक्रसका प्रतिनिधि मरियमले गरेका हुन्। लक्जमबर्ग रेडक्रसका प्रतिनिधि मरियमले नेपालमा शिक्षा र विपद् प्रतिरोधात्मक परियोजनाहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। साथै नेपाल रेडक्रस सोसाइटी तिलागुफाकाे उपशाखा भवनको समेत उद्घाटन गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी कालीकोट शाखाका सभापति बलप्रसाद संज्यलले भवन निर्माणका लागि गाउँपालिकाले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताए। उनले तिलागुफामा विद्यालयको शैक्षिक सुधार, विपद्लगायतका क्षेत्रमा रेडक्रस सोसाइटीले काम गरिरहेको उल्लेख गरे।

प्रकाशित: ५ पुस २०८१ १०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App