२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
शिक्षा

कृषि प्राविधिक शिक्षालयमा नि: शुल्क पढाउन २ करोडको अक्षयकोष

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा ६३ लाखभन्दा बढी आर्थिक संकलन भएको छ।

अक्षयकोषको घोषणा भएको करिब एक महिनाभित्र नेपालमा ३३ लाख ९२ हजार र विदेशमा २९ लाख ५० हजार गरी ६३ लाख ४२ हजार संकलन भएको अक्षयकोषका विदेश विभाग प्रमुख कृष्ण जुग्जालीले बताए। उनले दैनिकजसो सबैतिरबाट सहयोग आइरहेको जानकारी दिए।

उनका अनुसार अक्षषकोषका बारेमा जानकारी पाएपछि मंगलबार गोर्खा कर्नर रेष्टुरेन्टका सञ्चालक तनँहु जिल्ला घर भएका एकबहादुर आलेमगरले १५० पाउण्ड अर्थात नेपाली २५ हजार ७ सय हजार सहयोग गरेका छन्। अक्षयकोषमा स्थानीयले एकै परिवारबाट ५ लाखसम्म सहयोग गरेका छन्।

अक्षयकोषका लागि विदेशमा रहेका बिमबासीले अभियान नै सञ्चालन गरेपछि छोटो समयमा अपेक्षा गरे अनु्सार आर्थिक संकलन भएको किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजा बताउँछन्। ‘यो सक्रियता विमबासीको एकताको नमुना पनि हो,आफ्नो गाउँको प्राविधिक शिक्षालयमा स्थापना हुने अक्षयकोषका लागि मन खोलेर सहयोग भइरहेको छ’ प्राचार्य गर्बुजाले भने।

अक्षयकोष स्थापनाका लागि गाउँमा खेलिएको देउँसीभैलोाबट लगभग ३३ लाख संकलन भएको थियो । देशका विभिन्न जिल्लाबाट कृषि र भेटेरनरी शिक्षा लिनका लागि यहाँ आउने गरिब,विपन्न र जेहेनदार विद्यार्थीहरुको सहयोगका लागि दुई करोडका किसानी सञ्जीवनी अक्षयकोष स्थापनाको अभियान सञ्चालन भइरहेको छ। यो अभियानमा आफ्नो क्षमता अनुसार सहयोग गर्न समेत विद्यालयले अपिल गरेको छ।

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ। बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो। अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका छन्।

कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन्। देशका विभिन्न जिल्लामा सञ्चालन खर्च समेत जुटाउन नसकिरहेको कृषि प्राविधिक शिक्षालयका बिच पश्चिम म्याग्दीमा रहेका किसानी कृषि प्राविधिक शिक्षालयमा भने देशभरबाट पढ्न आउने र रोजगारीका लागि समेत धमाधम सिफारिस भइरहेका छन्।

कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरु उत्पादन गरी बजारमा लगेर बिक्री समेत गर्ने गरिएको छ।

कृषि प्राविधिक शिक्षालयको स्थापना भएपछि बिम गाउँ समेत नेपालभित्र चर्चामा छ। यहाँ विद्यार्थी र शिक्षकहरुकै प्रयासमा उत्पादन भएको बस्तु बिक्री गरी विद्यार्थीले आफ्नो खर्च चलाउँदै आएका छन्।

प्रकाशित: २८ कार्तिक २०८१ ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App