१२ पुस २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

त्रिविमा रोकिएन दलीय राजनीतिको आतंक

त्रिभुवन विश्वविद्यालयमा भइरहेको राजनीतिक हस्तक्षेप, गुन्डागर्दी र आतंक बन्द हुनुपर्ने माग राख्दै संयुक्त विद्यार्थी संगठनको अगुवाइमा शुक्रबार त्रिवि परिसरमा भएको विरोध प्रदर्शनका सहभागी। तस्बिर: विजय राई/नागरिक

अभियुक्तलाई खुलेआम छाडेपछि शान्तिसुरक्षामा खलल पुग्छ भन्ने प्रमाण त्रिभुवन विश्वविद्यालय (त्रिवि) बनेको छ। केही वर्षअघि उपप्राध्यापकमाथि सांघातिक हमला गर्ने व्यक्तिले फेरि त्यस्तै धम्की दिएको भन्दै प्राध्यापकहरूले त्रिविमा असुरक्षा बढेको भन्दै टिप्पणी गरिरहेका छन्।

चार वर्षअघि त्रिवि समाजशास्त्र संकायको केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि योगेन्द्र रावलले विश्वविद्यालय प्रांगणमै सांघातिक हमाल गरेका थिए। विभागीय प्रमुखको नियुक्तिलाई लिएर रावलले विभागमा ९० दिनदेखि तालाबन्दी गरेका थिए।

तालाबन्दीले पठनपाठनमा समस्या खडा भएको भन्दै विभागका उपप्राध्यापक चलाउनेले ताला खोल्नुपर्ने आवाज उठाएपछि उनीमाथि रावलले सांघातिक हमला गरेका थिए।

निवर्तमान विभागीय प्रमुख युवराज लुइँटेलको चार वर्षे कार्यावधि सकिएपछि फेरि नयाँ विभागीय प्रमुखको नियुक्तिमा तिनै टीकाराम गौतम बाधक बनेका छन्।

हाल सिफारिस भएकामध्ये गौतम दोस्रो वरीयतामा परे पनि उनको विभागीय प्रमुख बन्ने महत्त्वाकांक्षाले गर्दा समग्र समाजशास्त्र विभाग नै विवादमा तानिँदै आएको बताइन्छ। चार वर्षअघि पनि विभागले विभागीय प्रमुखका लागि योग्यता र वरिष्ठताका आधारमा लुइँटेलको नाम सिफारिस गरेको थियो। तर गौतमकै उक्साहटमा योगेन्द्र रावलले लुइँटेललाई फेल गराएर गौतमलाई विभागीय प्रमुखमा नियुक्त गर्नुपर्ने माग राखेर विभागमा तालाबन्दी गरेको दुई महिनाभन्दा बढी भएको थियो। ताला खोलाउने प्रयास गर्दा आफूमाथि नै रावलले प्राणघातक हमला गरेको उपप्राध्यापक चलाउनेले बताए।

‘चार वर्षअघि पनि रावलले ममाथि विभागीय प्रमुखकै नियुक्तिलाई लिएर सांघातिक हमला गरेका थिए। जिल्ला अदालत काठमाडौंले दुई वर्ष जेल र जरिवाना सजाय तोकेको छ। उनी अभियुक्त हुन्। राजनीतिक शक्तिको दुरुपयोग गरी उनी धरौटीमा रिहा भएका हुन्,’ उपप्राध्यापक चलाउनेले नागरिकसँग भने, ‘अझै पनि उच्च अदालत पाटनमा पुनरावेदन छ।

गुरु कुट्नेलाई जेल राखेर अनुसन्धान गर्नुपर्नेमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको संरक्षणमा अभियुक्त रावलले सामाजिक अपराध गर्न छुट पाए।’ उनले थपे, ‘चार वर्षपछि पुनः घटना दोहोरिएको छ। फेरि पनि समाजशास्त्र विभागकै विभागीय प्रमुखको नियुक्तिको विषयलाई लिएर अभियुक्त रावलले विश्वविद्यालयका पदाधिकारीलाई धम्की दिइरहेका छन्। अर्को प्रेम चलाउने बनाइदिने धम्की दिएपछि विश्वविद्यालयको शान्तिसुरक्षामा खलल पुगेको छ।’

तिनै अभियुक्त अहिले गृहमन्त्री रमेश लेखकसँग देखिएपछि फेरि पनि अपराधीलाई राज्यले संरक्षण गरेको भन्दै त्रिविका प्राध्यापक, पदाधिकारी तथा शिक्षामन्त्रीले विरोध जनाएका छन्। अहिले पनि विवादको कारण गौतम नै बनेका छन्।

विभागीय प्रमुख रहँदै आएका लुइँटेलको कार्यकाल सकिएको छ। विभागले वरिष्ठताका आधारमा पासाङ शेर्पा र दोस्रो वरिष्ठतामा गौतमलाई विभागीय प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ।

मानविकी तथा समाज शास्त्र संकायकी डिन कुसुम शाक्यले कार्यविधि मिचेर वरिष्ठताभन्दा पनि दोस्रो वरिष्ठतामा परेका गौतमको नाम विभागीय प्रमुखमा शिक्षाध्यक्षसमक्ष सिफारिस गरेपछि विवाद चर्केको बताइन्छ।

त्रिविका प्राध्यापकहरूलाई धम्क्याउने रावल नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन्। उनकै दबाबमा डिन शाक्यले गौतमको नाम सिफारिस गरेको त्रिविका प्राध्यापकहरू बताउँछन्। त्रिविका पदाधिकारीहरू उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई समेत रावलले टीकारामलाई नै विभागीय प्रमुखमा नियुक्ति नगरे अर्को प्रेम चलाउने बनाइदिने भन्दै धम्की दिएपछि विश्वविद्यालयका पदाधिकारीहरूले असुरक्षा महसुस गर्दै गृह मन्त्रालयसँग सुरक्षाको माग गरेका हुन्।

यसै विषयलाई लिएर रष्ट्रियसभाका सांसद नरबहादुर विष्टले बिहीबार शून्य समयमा बोल्दै विश्वविद्यालयका पदाधिकारीमाथि सांघातिक हमलाको धम्की दिने योगेन्द्र रावलमाथि कडा कारबाहीको माग गरेका छन्।

‘केही वर्षअघि पनि त्रिविका प्राध्यापक प्रेम चलाउनेमाथि भौतिक आक्रमण गरेको योगेन्द्र रावल समूहले अहिले त्रिवि पदाधिकारीमाथि आक्रमणको धम्की दिएको छ,’ सांसद विष्टले भने, ‘विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा सांघातिक हमलाको धक्की आउनु चिन्ताजनक छ। तत्काल दोषिमाथि कडा कारबाही गरियोस्।’

उनले विश्वविद्यालयका पदाधिकारीमाथि आक्रमणको धम्की आउनुले मुलुकको सुरक्षा व्यवस्थाप्रति नै प्रश्न उब्जाएको भन्दै ध्यानाकर्षण गराए।

समाजशास्त्र केन्द्रीय विभागका निवर्तमान विभागीय प्रमुख युवराज लुइँटेलले आफूले विभागीय प्रमुखको हैसियतले आफ्नो कार्यकाल सकिनुअघि साउन १० गते डिन कार्यालयलाई कार्यविधिमा आधारित भएर वरिष्ठताका आधारमा तीन जनाको नाम सिफारिस गरेका बताए।

पहिलो वरिष्ठतामा पासाङ शेर्पा, दोस्रोमा टीकाराम गौतम र तेस्रोमा मनहरि ढकालको नाम सिफारिस गरिएको उनले जानकारी दिए। ‘तर डिन कार्यालयले शिक्षाध्यक्षकहाँ उल्टाएर अर्थात् दोस्रोलाई पहिलोमा राखेर पठाएपछि विवाद चर्केको हो,’ निवर्तमान प्रमुख लुइँटेलले नागरिकसँग भने, ‘समाजशास्त्र विभागमा सेवा प्रवेश गर्दा पासाङ सर टीकाराम गौतमभन्दा चार वर्ष अगाडि हुनुहुन्छ। समस्या समाजशास्त्र विभागमा नभएर एक व्यक्तिको महत्त्वाकांक्षामा छ। म विभागीय प्रमुखमा नियुक्त भइसक्दा पनि त्यही रावल समूहकै व्यक्तिहरूले महिनौं दिनसम्म पद छाड्न धम्की दिइरहन्थे तर म कति पनि त्रसित नबनी आफ्नो काममा अगाडि बढिरहें।’

 त्रिविमा केही व्यक्तिका कारण त्रासको वातावरण फैलिएको उनले बताए। ‘चलाउने सरमाथि हमला गर्नेलाई नै राज्यले कारबाहीको साटो संरक्षण गरेकाले अपराधीहरूले खुला रूपमा आतंक मच्चाइरहेको हामीलाई महसुस भएको छ,’ उनले भने।

योगेन्द्र रावलको आपराधिक क्रियाकलाप विगतमा पनि प्राध्यापकहरूले भोगेकाले हाल पदाधिकारीले विश्वविद्यालयको शान्तिसुरक्षामा खलल पुगेको अनुभव गरेका छन्।

त्रिविका पदाधिकारीहरूको आवासीय र केन्द्रीय कार्यालयको सुरक्षाको माग सरकारसँग गरिसकेको रजिस्ट्रार प्राध्यापक डा. केदारप्रसाद रिजालले बताए। उनले पदाधिकारीहरूमाथि नियुक्तिकै विषयलाई लिएर धम्की आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग सहकुलपतिको हैसियतले शान्तिसुरक्षाको माग गर्दै पत्राचार गरेका छन्।

‘त्रिभुवन विश्वविद्यालयमा तत्काल देखिएको असहज परिस्थितका कारण विश्वविद्यालयका पदाधिकारीहरू तथा केन्द्रीय कार्यालय परिसर, कीर्तिपुरको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको छ। हामी पदाधिकारीलाई असुरक्षाको महसुस हुन थालेको छ,’ रजिस्ट्रार प्राध्यापक डा. रिजालले भने, ‘यसकारण गृह मन्त्रालयमार्फत त्रिविका पदाधिकारीहरू उपकुलपति, रेक्टर र रजिस्ट्रारज्यूको निजी आवास र केन्द्रीय कार्यालय कीर्तिपुरको सुरक्षार्थ आवश्यक प्रबन्धका लागि शिक्षामन्त्री एवं सहकुलपतिज्यूलाई पत्राचार गरिएको हो।’

यसैलाई आधार मानी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीसँग विश्वविद्यालयको सुरक्षाको माग गरेकी छन्। ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्ने र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेका कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ,’ शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘त्रिविको सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग माग जोडदार माग गर्छु।’ उनले थप लेखेकी छन्, ‘गुन्डागर्दी गर्ने छुट कसैलाई छैन। यस्तो क्रियाकलापमा संलग्नहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्नसमेत म गृह मन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्छु। यो मैले कुनै आवेगमा आएर लेखेकी होइन।’

रावलले सहप्राध्यापक टीकारामलाई प्राध्यापक बनाउनुपर्ने धम्कीसहितको दबाब त्रिवि सेवा आयोगलाई दिएका थिए। रावलकै कारण सेवा आयोगले लिएको प्राध्यापकको बढुवाको अन्तरवार्तासमेत रोकिएको थियो। तर तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले आफैंले पहल गरी अन्तर्वार्ता गराएकी थिइन्।

प्रकाशित: ८ भाद्र २०८१ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App