खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने अभियान सुरु गरेको छ। त्यसका लागि हरेक विद्यालयमा विज्ञान प्रयोगशाला, प्रविधिमैत्री वातावरण निर्माण र नियमित तथा छड्के अनुगमन गर्न थालेको छ।
शैक्षिक गुणस्तर वृद्धि नगरी शिक्षामा सुधार नआउने निष्कर्षसहित गाउँपालिकाले शैक्षिक सुधारको गतिविधि अघि सारेको हो। यस क्रममा आवश्यक विज्ञान प्रयोगशालाका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बालबालिका माध्यमिक विद्यालयलाई मंगलबार विज्ञान प्रयोगशाला सामग्री प्रदान गरेका छन्।
बालबालिका माविले अघिल्लो वर्षको छनौटमा परेकाले सामग्री पाएको हो। आर्थिक वर्ष २०८०÷०८१ मा गाउँपालिकाले आवश्यकताका आधारमा शैक्षिक सामग्री तथा दक्ष जनशक्ति व्यवस्थापन गर्ने उद्देश्यले विद्यालयहरूको सर्वेक्षण गरी आवश्यकताको सूची तयार गरेको थियो। सोही सूचीका आधारमा विद्यालयलाई शैक्षिक सामग्री र दक्ष जनशक्ति उपलब्ध गराउँदै लाने योजना बनाइएको छ।
शिक्षा शाखा कर्मचारीसहित विद्यालयमै पुगेका अध्यक्ष राईले प्रधानाध्यापक हरिकुमार राईलाई ६ लाख ५० हजार बराबरको विज्ञान प्रयोगशाला सामग्री प्रदान गरे।
सामग्री प्रदान गर्दै अध्यक्ष राईले प्रयोगशाला स्थापना गरेर बालबालिकालाई सानै कक्षादेखि वस्तुगत र विज्ञान विषयमा शिक्षा प्रदान गर्न निर्देशन दिए। उनले आवश्यक सामग्री र जनशक्ति आगामी दिनमा पनि व्यवस्थापन गर्दै लाने बताए।
प्रकाशित: ३० श्रावण २०८१ १२:३४ बुधबार