२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

एसइई अनुत्तीर्ण विद्यार्थीलाई कटारी नगरको निःशुल्क ट्युसन

यस वर्षको एसइई परीक्षा अनुत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दै कटारी नगरपालिकाले निःशुल्क तयारी कक्षा (ट्युसन) सञ्चालन गर्ने भएको छ।

एसइई अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षामा सफल गराउने उद्देश्यले नगरका सामुदायिक विद्यालयका विद्यार्थीलाई ग्रेड वृद्धिका लागि तयारी कक्षा सञ्चालन गर्न लागिएको नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए।

प्रमुख श्रेष्ठका अनुसार अङ्ग्रेजी, गणित र विज्ञान विषयमा अनुत्तीर्ण विद्यार्थीलाई निःशुल्क कक्षामा सहभागी गराइनेछ।

एसइईमा नगरका विभिन्न ७ केन्द्र तोकिएका विद्यालयमा तयारी कक्षा सञ्चालन गर्न सुरु भएको र तयारी कक्षामा विषय विज्ञ शिक्षकहरूबाट पठनपाठन गराउने व्यवस्था मिलाइएको प्रमुख श्रेष्ठले बताए।

"बाहिरी ट्युसन कक्षाका लागि महँगो शुल्क तिर्नुपर्ने हुन्छ, त्यसो नहोस् भन्नका लागि हामीले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी नगरपालिकाबाटै निःशुल्क पठनपाठन गराउन लागेका हौँ" उनले भने।

कटारी-४ कटारी बजारको त्रिवेणी मावि, वडा नं-२ नं. को जनता मावि गुराँसे त्रिवेणी, १ वडा त्रिवेणीकै मावि कालीखोलामा तयारी कक्षा सञ्चालन गरिनेछ। त्यसैगरी वडा नं-१० को जनता कालिका मावि, ७ को जनप्रेमी मावि रिस्कु र १२ नं वडाको जनमुखी माविमा तयारी कक्षा सञ्चालन हुनेछ।

यस वर्षको एसइई परीक्षामा नगरभित्रका २० वटा सामुदायिक विद्यालयका ७ सय ९६ विद्यार्थी सामेल थिए। जसमध्ये २ सय ४९ जना मात्र उत्तीर्ण भएका छन्। प्रतिशतका हिसाबले कुल विद्यार्थीमध्ये ३१.३२ मात्रै उत्तीर्ण भए।

सहभागी विद्यार्थीमध्ये कटारी-१ को मावि खसिबास र १०ं नं वडा स्थित मावि सोरुङको नतिजा शून्य आएको छ। कटारी-५ स्थित मावि भुल्केका ३७ विद्यार्थीमध्ये १ जना मात्र उत्तीर्ण भएका छन्।

प्रकाशित: २७ असार २०८१ १४:३६ बिहीबार