२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

अभिभावकलाई विद्यालयको ‘फोन आतंक’

ललितपुरको चाँगाथली निवासी नीता त्रिपाठीलाई सोमबार एउटा अपरिचित नम्बरबाट मोबाइलमा फोन कल आयो। कुरा गर्दै लाँदा उनलाई थाहा भयो, त्यो कल उपत्यकाको एउटा निजी शैक्षिक संस्थाको रहेछ। उक्त शैक्षिक संस्थाले नीतालाई उनको छोरा कक्षा ११ मा विज्ञान विषय पढाए शिक्षण शुल्कमा भारी छुटको प्रलोभन दिइरहेको थियो।

‘तपाईको छोराले ए प्लस ग्रेड ल्याएको रहेछ नि ! हाम्रो स्कुलमा कक्षा ११ मा पढाउनुहोस्, हेभी अफर दिन्छु,’ स्कुल सञ्चालकले भन्यो। त्यो कुरा सुनेर अनि आफ्नो मोबाइल नम्बर कसरी उक्त स्कुलसम्म पुग्यो भनेर नीता छक्क परिन्। ‘तपाईंले मेरो पर्सनल नम्बर कसरी थाहा पाउनुभयो? अनि मेरो छोरोले ए प्लस ल्याएको पनि कसरी थाहा पाउनुभयो?’

जबाफमा स्कुल सञ्चालकले भन्यो, ‘अप्ठ्यारो नमान्नुहोला है। मैले तपाईंलाई राम्रो अफर दिन खोजेको हुँ। नम्बर मैले स्कुलबाटै पाएको हुँ। मंगलबारसम्म मेरो स्कुलमा तपाईंको बच्चालाई कक्षा ११ मा भर्ना गराउनुभयो भने एक लाख ७५ हजारको शिक्षण शुल्कमा हेभी डिस्काउन्ट गरी वार्षिक ५० हजारमा पढाइदिन्छु्।’ त्यसपछि नीताले अचम्म मान्दै भनिन्, ‘मेरो छोरो कहाँ पढाउनुपर्ने हो, त्यो हाम्रो कुरा हो। छोराको रुचिअनुसारको शैक्षिक संस्था छनोट गर्छौं। तपाई धेरै जोडबल नर्गनुस्।’

नीतालाई सोमबार मात्र होइन, एसइई २०८० को नतिजा प्रकाशित भएसँगै छोरोले ल्याएको ३.८६ जिपिएले गर्दा दिनहुँजसो विभिन्न शैक्षिक संस्थाबाट कहिले फोन कल त कहिले म्यासेज आएर यति आतंकित बनाएको छ कि अब कुनै कल आए उनी नउठाउने मनस्थितिमा पुगेकी छन्। ‘कहिले स्कुल एलर्ट, कहिले मेरो व्यक्तिगत नम्बरमा स्कुल सञ्चालकहरूको कल आएर आतंकित बनेकी छु,’ नीताले नागरिकसँग भनिन्, ‘हाम्रो नम्बर अनधिकृत व्यक्तिसम्म कसरी पुग्यो?’

भक्तपुर कौशलटारकी सिर्जना अधिकारीलाई पनि अचेल छोरा एसइई उत्तीर्ण भएका कारण दिनहुँ विभिन्न शैक्षिक संस्थाबाट कक्षा ११ मा भर्नाका लागि फोन कल आउने गरेको छ। एसइई–२०८० को नतिजा सार्वजनिक भएको भोलिपल्टदेखि नै सिर्जनालाई यति धेरै फोन आउन थाल्यो कि उनी उठाउँदाउठाउँदै हैरान भइन्।

‘एक्कासि धेरै स्कुलले छोरा पढाइदिन्छु , डिस्काउन्ट दिन्छु भन्दै फोन गर्दा म त छक्क परें, किनभने मलाई अहिलेसम्म परिवारिक फोन कलबाहेक अन्य आउने गरेकै थिएन,’ सिर्जनाले नागरिकसँग भनिन्, ‘मलाई त मेरो छोराको जिपिए कति आएको पनि थाहा थिएन। सुरुमा त मेरो छोरोले राम्रो जिपिए ल्याएर स्कुलहरूले तानातान गरेको भन्ने लागेको थियो तर त्यो पनि होइन रहेछ। छोरोको जिपिए त बी प्लस मात्रै रहेछ।’

सिर्जना र नीता मात्र होइनन्, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेसँगै उत्तीर्ण हुने सबै विद्यार्थीलाई अचेल निजी शैक्षिक संस्थाले व्यक्तिगत मोबाइलमा कल गरेरै आकर्षक छुटमा भर्ना गरिदिने प्रलोभन देखाइरहेका छन्।

‘हाम्रो गोपनीयता भंग हुने गरी शिक्षण संस्थालाई कसले मोबाइल नम्बर दिएछ,’ कालिमाटीकी स्मृति श्रेष्ठले भनिन्, ‘मेरो छोराले जिपिए ३.५ ल्याएको छ। आजको दिनसम्म मलाई १० वटा शैक्षिक संस्थाबाट आकर्षण छुटसहित भर्नाका लागि कल आयो। उनका अनुसार अभिभावक र शैक्षिक संस्थाबीच भर्नामा सकेसम्म ‘बार्गेनिङ’ हुने रहेछ।

‘अझै मेरो भतिजाको ४ जिपिएलाई त सित्तैमा भर्ना गरिदिने र उल्टै केही रकम दिएर फोटो प्रचारमा समेत प्रयोग गर्ने अफर दिएछन् शैक्षिक संस्थाले,’ स्मृतिले भनिन्, ‘तर हाम्रो परिवारले शैक्षिक संस्थाले फोटो दुरूपयोग गरी पछिसम्म कमाइ खाने भाँडो बनाउने हो कि भन्ने सोचेर त्यस शैक्षिक संस्थामा भर्ना नगर्ने निष्कर्ष आयो।’

बोर्डले २०८० चैतमा सञ्चालन गरेको एसइई परीक्षामा कुल ४ लाख ६४ हजार ७ सय ८५ विद्यार्थीले सहभागिता जनाएका थिए। तीमध्ये २ लाख ४२ हजार ३ सय १३ विद्यार्थी ननग्रेडेड अर्थात् ५२.१३ प्रतिशत असफल भएका छन्। बोर्डले ती ५२ प्रतिशत विद्यार्थीका लागि पूरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले निजी शैक्षिक संस्थाहरूले छोराछोरीको भर्नाका लागि आग्रह गर्दै अभिभावकलाई फोन गरेको विषयमा उजुरीहरू आएको बताए। ‘उपत्यकाका निजी शैक्षिक संस्थाहरूले अभिभावकहरूलाई २० पटकसम्म कल गरेर भर्नाका लागि दबाब दिएको लगायत विभिन्न गुनासा आएका छन्,’ उनले भने, ‘समाजमा ब्रान्डेड भइसकेका बाहेक अन्य सबै शैक्षिक संस्थाले विद्यार्थी पाएका छैनन्। भनौं विद्यार्थीले ती शैक्षिक संस्था रुचाएनन्। स्कुलमै आमाबुवा तथा अभिभावकको नामनामेसी र मोबाइल नम्बर हुन्छ। कमिसनको लोभमा तिनै स्कुलले अन्य स्कुलाई नम्बर उपलब्ध गराउने गरेको देखिन्छ। यो स्कुलको व्यापारिक वस्तु परियोजन देखियो।’

उनले स्कुलले कमिसन लिएर अन्य शैक्षिक संस्थालाई नम्बर उपलब्ध गराएको हुन सक्ने बताए। ‘ब्रान्ड नबनेको शैक्षिक संस्थाले प्रलोभन देखाएर विद्यार्थी तान्न हरेक हतकण्डा अपनाइरहेको गुनासो संघमा आएको छ। तर अभिभावको गोपनीयता भंग हुने काम गलत हो।’ भण्डारीका अनुसार समाजमा स्थापित नभएका शैक्षिक संस्थाहरूले विद्यार्थीलाई शैक्षिण शुल्क छुट दिनेदेखि अब्बल विद्यार्थी भर्ना गरी त्यसलाई देखाएर कमाइ खाने भाँडो बनाइरहेका छन्। शिक्षा क्षेत्रमा हाल देखिएका यस्ता विकृतिलाई राज्यले रोक्नुपर्ने उनको सुझाव छ।

प्रकाशित: २५ असार २०८१ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App