२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

उपमेयर डंगोलकाे सुझाव: अरूसँग तुलना गरेर आफूलाई दुःखी नबनाउनु

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले एसइई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई अरूसँग तुलना गरेर आफूलाई दुःखी नबनाउन आग्रह गरेकी छन्।

एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शनिबार राजधानीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले एसइई उत्तीर्णले स्वतन्त्रता होइन, झनै धेरै जिम्मेवारीको सुरुवात गर्ने बताइन्।

डंगोलले विद्यार्थीलाई सही मार्ग छनोट गर्न र आत्मपहिचान गर्न प्रोत्साहित गरिन्। उनले भनिन्, ‘अब गम्भीर भएर सोच्ने बेला आएको छ। सबैले विज्ञान या व्यवस्थापन पढ्नुपर्छ भन्ने छैन। आफ्नो क्षमता र रुचि अनुसार विषय छान्नुहोस्।’

उनले अभिभावकलाई पनि सन्तानलाई दबाब नदिन आग्रह गरिन्।, ‘छोराछोरीलाई यहीँ नै विषय पढ्नुपर्छ भनेर दबाब दिने काम नगर्नुहोला। दबाबमा रोजिएको विषय पढ्दा विद्यार्थीलाई मजा आउँदैन। रुचिमा नपरेको विषयमा जबरजस्ती पढाइ गरे पनि एउटा बिन्दुमा गएर थाक्ने परिस्थिति आउँछ।’ उनले भनिन्।

उनले किताबी ज्ञानलाई भन्दा पनि व्यावहारिक ज्ञानमा जोड दिन आग्रह गरिन्। डंगोलले विद्यार्थीलाई असल व्यक्तित्व विकासमा जोड दिनुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै भनिन्, ‘हाम्रो देशलाई अहिले असल व्यक्तिको आवश्यकता छ। चरित्र र आचरणले मात्र साँचो प्रतिष्ठा प्राप्त हुन्छ।’

खुसी र सफलता पनि अरूले निर्धारण गर्नेभन्दा पनि आफैंले र आफ्नै प्रयासले प्राप्त हुने विषय भएको उनको भनाइ थियो।

अरूसँग तुलना नगरी आफ्नो लक्ष्यमा केन्द्रित रहन पनि उनले सुझाव दिइन्। उनले भनिन्, ‘सामाजिक सञ्जालमा अरूसँग तुलना गरेर गलत धारणा नबनाउनुहोस्। आफूलाई चिन्न र बुझ्न नयाँ कुरा सिक्न र नयाँ काम गर्ने प्रयास गर्नुस्।’

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंह र उत्प्रेरक वक्ता डा. रविन कटुवालले पनि प्रेरणादायी सन्देश दिएका थिए।

परिवार, समाज र राष्ट्रका लागि भोलिका दिनमा कसरी योगदान दिन सकिन्छ भनेर आजका विद्यार्थीले वस्तुपरक ढंगले सोच्नुपर्ने उनीहरूको सुझाव थियो।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, पोलिटब्युरो सदस्य आनन्द पोखरेल, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्याम बस्नेत, बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशोककुमार ठकुरी, उपाध्यक्ष सरोजमोहन लामालगायतले विद्यार्थीहरूलाई शुभकामना दिएका थिए।

कार्यक्रममा जिपिए ४ ल्याएका विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो। १५ सय जति विद्यार्थीहरूलाई सम्मान-पत्र प्रदान गरिएको सम्पर्क कमिटीकासचिव धनबहादुर पुलामीले जानकारी दिए।

त्यहाँ उपस्थिति विद्यार्थीहरूका लागि विभिन्न कलेजका प्रतिनिधिहरूले छात्रवृत्तिको घोषणा गरेको पनि उनले जनाए।

प्रकाशित: २३ असार २०८१ ००:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App