१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुने

चिनमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीको लागि उचित शैक्षिक परार्श दिने उदेश्यले नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौंमा एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्ने भएको छ।

आइतबार परिषद्का अध्यक्ष हरिश्चन्द्र साहले पत्रकार सम्मेलन गरी एक दिने शैक्षिक मेला असार ४ गते मंगलबार बौद्यस्थित होटल हायात रिजेन्सीमा आयोजना गरीने बताए। असल छिमेकी चीन र त्यहाँको उच्चस्तरको शैक्षिक अवस्थाबारे नेपाली विद्यार्थी र अभिभावकलाई जानकारी गराउने उदेश्यले नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपालमा मेला आयोजना गर्न लागेको अध्यक्ष साहले जानकारी गराए।

यस शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्यसाशास्त्र,भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्यन, खेलकुद, कृषि, ओषधिजस्ता विषय अध्यापन गराउने समान्य तथा विश्व प्रसिद्ध ३१ वटा विश्वविद्यालय तथा कलेजहरुले भाग लिने छन्। ‘यस शैक्षिक प्रदर्शनीमा चीनका विभिन्न शहरहरुमा रहेका चीन र विश्वमै अब्बल ठहरिएका ३१ वटै विश्वविद्यालयका स्टलहरु रहने छन्,’ अध्यक्ष साहले भने,‘ती प्रत्येक स्टलहरुमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरुलाई विस्तृत रुपमा चीनमा अध्ययन गर्दा हुने फाइदा,विश्वविद्यालयले उपलब्ध गराउने छात्राबृत्ति, शैक्षिक वातावरण, खानपिन, तथा सामाजिक वातावरण लगाएतका विभिन्न विषयहरुमा विज्ञहरुले जानकारी दिनुहुने छ।’

कार्यक्रमको उद्घाटन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठ र नेपालकालागि चिनिया राजदूत छन् सोङ्ले संयुक्त रुपमा गर्ने तय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो। निःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको सो शैक्षिक मेलामा विाद्यार्थी तथा अभिभावकहरु सहभागिता जनाई चीनमा उपलब्ध उच्च शिक्षाका बारेमा आवश्यक परामर्श लिन सक्ने ब्यवस्था गरिएको छ । हाल चीनमा १६० देशका ५ लाख विद्यार्थीहरु विभिन्न विषयमा अध्ययनरत छन्।

प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २ सय वटा भन्दा बढी छात्राबृत्ति प्रदान गर्दै आएको छ। पछिलो समय छात्राबृत्ति बाहेक पनि सेल्फ फाइनान्समा अध्ययन गर्न चीन जाने नेपाली विद्यार्थीको सँख्या बढ्दै गएको समेत परिषदले जनाएको छ। परिषद जनवादी गणतन्त्र चीनबाट विभिन्न विषयमा स्नातक गरेका नेपाली विद्धान् र पेशाकर्मीहरुको मैत्री संस्था हो ।

प्रकाशित: २ असार २०८१ १९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App