१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

युवा नेतृत्व तालिमका लागि पोखराका चारजना छात्रा छानिए

अमेरिकाको वासिङटन डिसी र क्यान्सस सहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रमका लागि यहाँस्थित मदरल्याण्ड माविका चारजना छात्रा छनोटमा परेका छन्। उनीहरुले त्यहाँ विज्ञान, गणित, इन्जिनियरिङ र टेक्नोलोजीका बारेमा नेतृत्व सम्बन्धि तालिम लिनेछन्।  

देशभरबाट १६ जना प्रतिश्पर्धीमध्ये मदरल्याण्डका मात्र चारजना छात्रा यो कार्यक्रमका लागि छनोटमा परेको विद्यालयका प्राचार्य नारायण बरालले जानकारी दिए। बरालका अनुसार कक्षा १० की छात्रा कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापनमा अध्ययरत सुबिज्ञा नेपाल र विज्ञान संकायमा अध्ययरत रबिना पौडेल यो कार्यक्रमका लागि छानिएका छन्।  

नेपालस्थित अमेरिकी दूतावासले आव्हान गरेको प्रतिश्पर्धामा उत्कृष्टमा परेका उनीहरुलाई पोखराबाट बिदाई समेत गरिएको छ। ‘दूतावासले आव्हान गरेको प्रतिश्पर्धामा उत्कृष्ट प्रदर्शन गरेर चारजना छात्राहरु छनोटमा परेका हुन्, छनोटमा पर्नका लागि विभिन्न तहका परीक्षा उत्तिर्ण गरेका थिए। उनीहरुले त्यहाँ सिकेको सीपलाई नेपालमा आएर लागु गर्नेछन,’ उनले भने, ‘नेपाली विद्यार्थीका लागि नयाँ सिकाई हुनेछ। उनीहरुले सिकेको सीप स्वदेश फर्केर अरुलाई सिकाउनेछन।’

छात्राहरुले महिला नेतृत्व, वातावरणीय विकास, खाद्य सुरक्षा, संस्कृतीका बारेमा त्यहाँको समुदायमा बसेर सिक्नेछन्। नेपाल फर्किएपछि पनि आफ्नो परियोजना अनुसार समुदायमा नै काम गर्ने पनि प्राचार्य बरालले बताए। तीनसाताको यो कार्यक्रम अवधिमा अन्य मुलुकका आफु सरहका विद्यार्थीसँग उनीहरुको भेट हुने र त्यसले सीप आदानप्रदानमा सघाउ पुग्ने पनि बरालले बताए। ‘अमेरिकी सरकारको व्यवस्थापनमा देशकै प्रतिनिधित्व गरेर सहभागी जनाउन लागेका हुन,’ उनले भने, ‘यसले विद्यार्थीमा नयाँपनको सुरुवात गराउनेछ।’  

विद्यार्थीहरुलाई गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले बिदाई गरेकी थिईन। बस्नेतले विद्यार्थीलाई पढाइसँगैको सिकाई बढी प्रभावकारी हुने बताईन। विद्यार्थीहरुले अमेरिकामा सिकेका कुरा विद्यालयमा आएर अन्य साथीलाई पनि सिकाउदा अझ फलदायि हुने उनले बताइन्।  

प्रकाशित: ३२ जेष्ठ २०८१ १५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App