२० असार २०८१ बिहीबार
image/svg+xml
शिक्षा

हुरीले उडाएको विद्यालयको छानो जब शिक्षिकाहरुले मर्मत गरे...

तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षिकाले हुरीले उडाएको छानो मर्मत गरेका छन्।

यही जेठ १७ गते आएको हुरीले उडाएको विद्यालयको छानो विद्यालयमा अध्यापनरत शुभकामना कुँवर, निर्मला राना र बन्दना भट्टराईले मर्मत गरेका हुन्।

हुरीले छानो उडाउँदा पठनपाठनमा समस्या भएपछि शिक्षिका आफैँ अग्रसर भएर मर्मतमा जुटेको विद्यालयका प्रधानाध्यापक सरस्वती भट्टराईले जानकारी दिइन्। विद्यालयको दुईवटा भवनमध्ये एउटाको छानो हुरीले उडाएको थियो। दुवै भवन जीर्ण अवस्थामा रहेका उनले बताइन्।

छानो नउडाएको अर्को भवनमा विद्यार्थी राखेर अध्यापन गराउँदै आइएको प्रधानाध्यापक भट्टराईले बताइन्। उनका अनुसार विद्यालयमा ३१ जना विद्यार्थी अध्ययनरत छन्। छानो नहुँदा पानी परेर पठनपाठनमा समस्या भएपछि शिक्षिका आफैँले मर्मत थालेको उनको भनाइ छ।

प्रधानाध्यापक भट्टराईका अनुसार यसबारेमा गाउँपालिकालाई खबर गरिएको थियो। पालिकाबाट छानो छाउन समय लाग्ने जानकारी पाएपछि पुरानै छाना मर्मत गरी पठनपाठन सञ्चालन गरिएको उनले बताइन्। विद्यालयमा सातजना शिक्षक छन्।  

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले हुरीले पालिकाभित्रका धेरै विद्यालय र घरहरुमा क्षति पुगेको बताए। आवश्यकताका आधारमा तत्काल त्रिपाल पठाइएको भन्दै विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने उनले बताए। 

प्रकाशित: ३० जेष्ठ २०८१ १६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App