१६ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

८ विद्यार्थीको मेडिकल सपना पूरा हुँदै

बङ्गलादेश सरकारले आफ्नो सूचीबाट हटाएको ८ नेपाली विद्यार्थीको मेडिकल पढ्ने सपना पूरा हुने निश्चित भएको छ।

बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर गरी बङ्गलादेश सरकारले सूचीबाट नाम हटाएका ८ विद्यार्थीको नामा पुनः समावेश गरी अध्ययनको बाटो खोलेपछि समस्या समाधान भएको हो।

बङ्गलादेश सरकारले छुटेका ८ जनालाई पनि भर्ना दिने निर्णयको पत्र परराष्ट्र मन्त्रालयलाई बुधबार पठाएपछि समस्या समाधान भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बताएको छ। यसबाट बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समेत समाधान भएको छ।

बङ्गलादेश सरकारले अन्तिम सूचिमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको पत्र नेपाल सरकारलाई पठाएपछि सो समस्या समाधान भएको शिक्षा मन्त्रीले बुधबार मन्त्रालयमै विद्यार्थीसँगको भेटमा बताइन्।

बङ्गलादेशमा मेडिकल अध्ययन गरी सपना पुरा गर्ने अवसर पाउने ८ विद्यार्थीहरू राहुल सर्राफ, देवशंकर रौनियार,पारस कठायत,आर्शिरवाद झा,अमृता कुमारी,ललनकुमार दास, पूनम चुनारा र अनुकुमारी साह छन्। मन्त्री श्रेष्ठले अवसर पाउने सबै विद्यार्थीलाई बधाई पनि दिइन।

बंगालदेश सरकारले वर्षेनी उपलब्ध गराउने मेडिकलको छात्रवृत्तिमा यस पटक मन्त्रालयले छनौट गरी नाम सिफारिस गरेको छात्रवृत्तिका २२ विद्यार्थीमध्ये १० लाई सूचिबाट हटाएर भर्नाको लागि पत्राचार गरेको थियो ।दुई विद्यार्थीले अनलाइन फारम भरेका थिएनन्।

छात्रवृत्ति शाखा प्रमुख देवी उपाध्यायले दूतावासबाट समस्या समाधानसहितको पत्र परराष्ट्र मन्त्रालयमा प्राप्त भएको जानकारी दिँदै बङ्गलादेशले आफ्नो सूचीबाट हटाएको ८ नेपाली विद्यार्थीलाई भर्नाको स्वीकृति दिएसँगै समस्या समाधान भएको बताए।

तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयले सिफारिस गरेका योग्य विद्यार्थीमध्ये १० लाई किन र कसरी हटाइयो बारे नेपालस्थित बंङ्गलादेशकालागि राजदूत श्री सलाहुद्दिन नोमान चौधरीसँग मन्त्रालयमा डाकेर छलफल गरेकी थिइन्। त्यस लगत्तै राजदूत चौधरीले समस्या समाधान बारे प्रतिबद्धता जनाएका थिए।

बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न बङ्गलादेश जान नेपाल सरकारबाट १९ जना एमबिबिएस र ३ जना बिडिएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश पठाएको थियो।

तर, अन्तिम सूचिमा १२ जनाको मात्रै नाम आएको थियो। यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपालस्थित बङ्गलादेशी राजदूतसँग छलफल गरेको आधारमा यही सम्बन्धमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई ’कूटनीतिक नोट’ पठाएको थियो। त्यसको जवाफमा बङ्गलादेशले छुटेका ८ जनालाई समेत समावेश गर्ने निर्णय भएको पत्र कूटनीतिक नोट मार्फत नै जानकारी दिएको छ।

शिक्षा मन्त्री सुमना श्रेष्ठले विभिन्न कारणले उत्पन्न समस्याले विद्यार्थीहरूमा अन्यौलता छाएकोमा सो समस्या समाधान गर्न अहोरात्र खटिने सबै जनाप्रति कृतज्ञता व्यक्त गरेकी छिन्। बुधबार नै सम्बन्धित विद्यार्थीहरूलाई मन्त्रालयमै बोलाएर बङ्गलादेशमा अध्ययनका लागि शुभकामना व्यक्त गर्दै विद्यार्थीहरूसँग संवाद समेत गरिन।

खुसी हुँदै मन्त्रालय पुगेका विद्यार्थीहरूलाई मन्त्री सुमनाले अध्ययन पुरा गर्न हौसला प्रदान गरिन् ‘नयाँ ठाउँमा नयाँ संस्कृतिमा घुलमिल हुन समय लाग्छ। आफ्नो स्वास्थ्य र मानसिक स्वास्थ्यको ख्याल गर्नुहोला,’ मन्त्री श्रेष्ठले विद्यार्थीसँग भनिन्,‘ अध्ययन पछि सफल भएर स्वदेशको सेवा गर्न फर्केर आउनुहोला।’ मन्त्री श्रेष्ठले थपिन्,‘परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठज्यू, नेपालका लागि बङ्गलादेशका महामहिम राजदूतज्यू, ढाकास्थित नेपाली दूतावासका महामहिम राजदूतज्यू र बङ्गलादेश सरकारलाई धन्यवाद दिन चाहन्छु। यो विषयलाई प्रमुखताका साथ उठाउनुहुने संघीय सदनका माननीय सदस्यज्यूहरूलाई पनि धन्यवाद छ।’ मन्त्री श्रेष्ठले विद्यार्थीहरूको गुनासो आएकै दिनदेखि समस्या समाधानका लागि खटिने मन्त्रालयका कर्मचारीहरू प्रति आभार प्रकट गरिन्।

प्रकाशित: ९ जेष्ठ २०८१ १८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App