१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

पक्की भवनमा रमाउँदै विद्यार्थी

विगत लामो समयदेखि भवन अभावमा रहेको कालीकोटको शुभकालीका गाउँपालिका–३ सञ्ज्यालबाडास्थित महादेव आधारभूत विद्यालयमा पक्की भवन बनेपछि विद्यार्थी खुसी भएका छन्।

पुरानो जस्ता पाताले छाएको भवनमा अटि नअटि बस्दै आएकी कक्षा ८ की छात्रा सिर्जना धिताल अहिले पक्की भवनमा बसेर पढ्न पाउँदा फुरुंग छिन्। ‘जिर्ण भवनमा बसेर पढ्नु पर्दा डरैडरले पढाएको पनि बिर्सने र विद्यालय आउन पनि मन लाग्दैनथ्यो,’ उनले भनिन्, वर्खामा कक्षाकोठाभित्र पानी चुहिँदा पढाइ नै प्रभावित हुने गरेको थियो। अहिले ५ कोठे पक्की भवन निर्माण भएको छ।’ पक्की भवन निर्माणपछि विद्यार्थी खुसी छन्।

‘नयाँ भवन पाएसँगै हामी उत्साहित छौं, अब पढाइ प्रभावित हुँदैन,’ विद्यालयका प्रधानाध्यापक तुलाराम धितालले भने, ‘अब पढाइको स्तर पनि केही परिवर्तन हुनेछ र बर्खा तथा हिउँदमा कुनै समस्या झेल्नुपर्दैन,जिर्ण भवनमा विद्यार्थीलाई एउटै कक्षामा पढाउनु पर्दा विद्यार्थीको ध्यान पढाइमा भन्दा अन्यन्त्र जाने गर्दथ्यो्। निर्माण भएको भवनले विद्यार्थीको पढाइमा सुधार हुने अपेक्षा गरिएको छु।’

नयाँ भवनमा पढ्न पाएपछि र्सिजना मात्र होइन, कक्षा ७ मा पढ्दै आएकी सितला धिताल पनि कम्ती खुसी छैनन्। जिर्ण टहरामा कष्टका साथ पढ्दै आइरहेका उनीहरु पक्की भवन,शौचालयको सुविधासहितको सेवा पाएपछि पढाइमा सुधार हुने देखिन्छ।

अब विद्यालयले खेलमैदान, खानेपानीको सुविधा तथा अन्य गतिविधिलाई नियमित सञ्चालन गर्ने हो भने सुनमा सुगन्ध थनिने स्थानीयको भनाइ छ। निर्माण गरिएको विद्यालय भूकम्पप्रतिरोधी छ,भने छात्रछात्रा र अपांगमैत्री शौचालयको पनि निर्माण गरिएको छ।

विद्यार्थीमैत्री खानेपानीको धारा पनि निर्माण गरिएको छ। ह्विलचियर गुड्ने गरी विद्यालय तथा शौचालयको संरचना निर्माण गरिएको छ। विद्यालय भवन निर्माणपछि पढाउन पनि सहज भएको  शिक्षिका उर्मीला आचार्य धिताल बताउन्छिन्।

‘धेरै वर्षसम्म कष्टका साथ टहरामा पढायौं,’ उनले भनिन्, ‘अहिले ५ कोठे भवन निर्माण भएको छ, अब सहज हुनेछ।’ विद्यालयमा कम्प्युटर प्रयोगशालाको समेत निर्माण गरिएको छ। १ करोड छाया नेपाल सहयोग र २० लाख गाउँपालिकाको साजेदारी १ करोड २० लाखमा विद्यालयको भवन तयार गरीएको हो।

छाया नेपालको आर्थिक सहयोग तथा स्थानीय तहको समन्वयमा विद्यालय भवन निर्माण गरेको हो। शौचालयसहित ५ कोठे भवन तयार भएको  छाया नेपाल कर्णाली प्रदेशका टिम लिडर मिन बहादुर रावतले बताए।

कालीकोटका स्थानीय तहमा संस्थाले काम गरिरहेका छन्। तर, समयमै भवन निर्माण हुन नसक्दा हजारौं बालबालिका चिसो भुई र खुला आकाशमा पढ्न बाध्य छन्। निर्माण सामग्रीको अभाव, ढुवानीको समस्या, उपभोक्ताको कमीजस्ता कारणले विद्यालय पुनर्निर्माणमा ढिलाइ भइरहेको सरोकारवाला बताउँछन्। 

छाया नेपालले निर्माण गरेको ५ कोठे पक्की भवन बुझ्दै शुभकाली गाउँपालिका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यले  पालिकाकै नमुना भवन सञ्ज्यालबाडामा निर्माण भएको बताए। 

उनले भने,‘पालिकाको हकमा धेरै राम्रो भवन तयार भएको छ, विद्यालयको भवन तयार गर्ने छाया नेपाल लगाएत सम्पुर्ण सहयोगी दातालाई धन्यवाद छ।  उनले थपे विद्यालयमा धेरै कुराको अभाव कायमै छ।’ घेरबार, खानेपानीलगाएतका संरचना निर्माणको लागि पालिका सरकारले सहयोग गर्ने बताए।

छाया नेपालले कर्णालीका मुगु, कालीकोट, जाजरकोटमा बाहिरिदाताहरुको समन्वयमा भवन, सडक,खानेपानी लगाएतका क्षेत्रमा  कामगदै आएको छ। 

प्रकाशित: ४ जेष्ठ २०८१ ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App