२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

नयाँ शैक्षिक सत्रसँगै घरदैलो अभियान सुरु

पर्वतका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रमा भर्नाका लागि घरदैलो अभियान सुरु गरिएको छ। जिल्लाका स्थानीय तहले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सुरु गरेका हुन्।

नयाँ शैक्षिक सत्रका लागि यही वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु भएसँगै पर्वतका सातवटै पालिकाका सामुदायिक विद्यालयले घरदैलो अभियान थालेका हुन्।

महाशिला गाउँपालिकाकी शिक्षा अधिकृत सविता केसी पौडेलले पालिकामा सञ्चालित सबै विद्यालयले विद्यालय जान उमेरका कोही नछुटून् भन्ने उद्देश्यले घरदैलो अभियान सुरु गरेको बताए। महाशिलामा हाल २६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्।

फलेबास नगरपालिका– ४ मुडिकुवाको गहते अम्बोट आधारभूत विद्यालयले आइतबारदेखि घरदैलो अभियान सुरु गरेको छ। विद्यालयले घर र टोलमा पुगेर अभिभावक भेटभाट कार्यक्रम सुरु गरेको विद्यालयका प्रधानाध्यापक ओमकार पौडेलले बताए। 

फलेबासको भवानी विद्यापीठ माध्यमिक विद्यालयले पनि शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक सङ्घका प्रतिनिधि, वडाध्यक्षलगायतको टोलीसहित घरदैलो कार्यक्रम गरिरहेको प्रधानाध्यापक अर्जुनकुमार रेग्मीले जानकारी दिए।

फलेबास वडा नं ५ मा रहेको ध्रुव नमुना माविले यस वर्षदेखि आवासीय विद्यालयका रुपमा सञ्चालन गर्न थालेको छ। विद्यार्थीलाई खाना, खाजा, आवास, पोसाक, पुस्तक सबै विद्यालयले नै उपलब्ध गराउने भएको छ। यस शैक्षिक सत्रमा नेपालका विभिन्न जिल्लाबाट थप ५० जना विद्यार्थी आवासीय सुविधासहित विद्यालयमा भर्ना गर्ने लक्ष्य रहेको प्रधानाध्यापक झलक शर्मा पौडेलले बताए। 

जलजला गाउँपालिकाले पनि वैशाख २ गतेदेखि भर्ना अभियान सुरु गरेको शिक्षा शाखा अधिकृत यज्ञप्रसाद लामिछानेले जानकारी दिए। उनका अनुसार पालिकाका ४४ वटा सामुदायिक र ६ वटा निजी विद्यालयले घरदैलो अभियान थालेको उनले बताए। कुनै पनि विद्यार्थी शिक्षा लिनबाट वञ्चित हुन नपरोस् भनेर घरदैलोमै पुग्न थालिएको उनको भनाइ छ। 

कुश्मा नगरपालिकाले पनि भर्नाका लागि घरदैलो अभियान सुरु गरेको नगर प्रमुख रामचन्द जोशीले बताए। पैयूँ गाउँपालिकाले पनि नयाँ विद्यार्थी थप्ने लक्ष्यका साथ विद्यालयका शिक्षक, कर्मचारीसँगै, व्यवस्थापन समितिका पदाधिकारी पनि भर्ना अभियानमा सक्रिय भएर लागेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए। पालिकाका सातवटै वडाका विद्यालय विद्यार्थी भर्ना अभियानका लागि घरदैलो अभियानमा जुटेको उनको भनाइ छ। 

बिहादी गाउँपालिका र मोदी गाउँपालिकाले पनि विद्यालय जाने उमेर समूहका सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने सङ्कल्पका साथ अभियान सुरु भएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले बताए। 

पर्वतमा भर्ना अभियानलाई सफल बनाउन सबै निकाय लागिपरेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख उद्धिमराज पौडेलले सुनाए। उनले भने,  ‘अभियान सफल बनाउन घरदैलो अभियान जारी छ।’

पर्वतमा आधारभूत तहका दुई सय १८, माध्यमिक तह ७८ वटा र संस्थागततर्फ २९ वटा विद्यालय छन्। जिल्लाका सामुदायिक र संस्थागत विद्यालय तीन सय २५ वटा विद्यालयमा २६ हजार आठ सय विद्यार्थी अध्ययनरत छन्। –रासस

प्रकाशित: १० वैशाख २०८१ १४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App