२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

सिंजा क्षेत्रका पाँच विद्यालयका भूकम्पप्रतिरोधी भवन निर्माण

भूकम्पप्रतिरोधी विद्यालय भवन। तस्बिर : नागरिक।

सिंजा क्षेत्रका तीन स्थानीय तहका पाँच विद्यालयका भूकम्प प्रतिरोधी भवन बनेका छन्। जीर्ण र कमसल भवन भत्काएर भूकम्प प्रतिरोधी भवन बनाइएको हो।

कनकासुन्दरी गाउँपालिकाका भैलापाटा र गोरुचौर आधारभूत विद्यालय, हिमा गाउँपालिकाको भैरव आधारभूत विद्यालय जोगीबाडा र महादेव आधारभूत विद्यालय कुडु तथा सिंजा गाउँपालिका– ६ नम्बरको माध्यमिक विद्यालय जोडुका भूकम्प प्रतिरोधी भवन बनाइएका हुन्।

भूकम्प प्रतिरोधी भवन बनेपछि एक हजार बालबालिकाले सुरक्षितका साथ बसेर पढ्न पाएका छन्। पछिल्लो समय बारम्बार भूकम्प आइरहने र कच्ची भवन भत्किएर ठूलो क्षति हुन सक्ने जोखिम अन्त्य गर्दै नयाँ भूकम्प प्रतिरोधी भवन बनाइएको सिंजा गाउँपालिकाले जनाएको छ।

पाँचवटै विद्यालयका नवनिर्मित चारचार कोठे पक्की भवन भूकम्प प्रतिरोधी, बालमैत्री र अपांगमैत्री रहेका छन्। प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा पेस नेपालको आधार परियोजनाले विद्यालयका भवन बनाइएको हो। 

यसका साथै चारवटा शौचालय र तीनवटा हेन्ड वासिङ स्टेसन छन् । कनकासुन्दरी– ६ गोरुचौरका स्थानीय जडेनी सार्कीले बालबालिका रमाइरमाइकन स्कुल जाने अवस्था बनेको बताइन्।

विद्यालयका भवनहरु आकर्षक, बलिया र शैक्षिक सामग्रीमैत्री देखेर बालबालिका पनि स्कुल जान थालेको उनी बताउँछिन्। जीर्ण भवनमा कोचाकोच अवस्थामा पढिरहेका विद्यार्थी अहिले सुरक्षित भवनमा बसेर पढ्न पाएकोमा उत्साही छन्।

विद्यालय भवन दुई करोड ४७ लाख तीन हजार पाँच सय ३३ रुपैयाँमा निर्माण भएका हुन्। नयाँ भवन निर्माणसँगै मर्मतसम्भार, कक्षाकोठा, शौचालय, हातधुने स्टेसन खानेपानी सुविधा र हरियो बगैंचाको अवधारणासमेत विकास गरिएको छ।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले आगामी दिनमा सबै भवन भूकम्पप्रतिरोधी र भवन आचारसंहिताको पूर्ण पालना गरेर मात्र बनाइने बताए। उनले भने, ‘सिंजा क्षेत्रका विद्यालय भूकम्पप्रतिरोधी बनिरहेका छन्। यसले अभिभावकमा ढुक्कता र विद्यार्थीमा सुरक्षित आभास दिलाएको छ।’

प्रकाशित: ९ वैशाख २०८१ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App