२२ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

दलित शिक्षाका लागि एक करोडको अक्षयकोष

समाजसेवी कृष्ण सोव

लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका आप्रवासी तथा समाजसेवी कृष्ण सोवले दलित विद्यार्थी छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन्। उनले हालै नेपाल आई एक करोड रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। कोषबाट प्राप्त ब्याज रकममा थप रकम संकलन गर्दै दलित तथा सीमान्तकृत समुदायका विद्यार्थीको शैक्षिक अवसरका लागि सहयोग गर्ने उद्देश्य राखिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा ब्याज र थप रकमसहित १० लाख बराबरको सहयोग उपलब्ध गराउने सोवले बताए। नेपाल सरकारले विद्यालय तह र केही उच्च शिक्षामा छात्रवृत्तिको व्यवस्था गरे पनि अध्ययनका लागि अन्य आवश्यक खर्च नहुँदा पढाइ पूरा गर्न नसकेको पछिल्लो स्थिति रहेकाले लक्षित वर्गलाई शिक्षामा सहयोग गर्न अक्षयकोष स्थापना गरेको समाजसेवी सोवले बताए।

‘दलित तथा सीमान्तकृत समुदायभित्र पनि अत्यावश्यक विद्यार्थीलार्ई छात्रवृत्ति दिने लक्ष्य लिएको छु,’ उनले भने, ‘निःशुल्क शिक्षा भए पनि अरू खर्चको अभावमा पढाइ छाड्ने विद्यार्थी ६७ प्रतिशत रहेछन्। यसलाई सम्बोधन गरेर जान सके मात्र शैक्षिक विकास हुन्छ।’

स्कुलले पढाइदिए पनि कापी, किताब किन्ने र खाजा खाने खर्चको अभावमा स्कुल जान नपाएका र छात्रवृत्ति पाइए पनि अन्य खर्चको कमीले पढाइलाई निरन्तरता दिन नसकेका  प्रतिभाशालीहरू प्राथमिकतामा पर्ने उनले बताए।

यो वर्ष स्कुल तहका ५० जना र प्राविधिक उच्च शिक्षा तहमा १० जनालाई छात्रवृत्ति उपलब्ध गराउने तयारी भएको सोवले जानकारी दिए। आगामी पाँच वर्षभित्र कोषको रकम २ करोड पुर्‍याउने योेजना उनको छ।

सोवका अनुसार अक्षयकोषको नाम यकिन भइसकेको छैन। तर आफ्नो नामबाट भने  नराख्ने सोचमा उनी छन्। व्यक्तिका नाममा कोषको नामकरण गर्दा अभियानमा जोडिने अरू समाजसेवीको अपनत्व नदेखिने भएकाले अरू नै नामबाट अक्षयकोषको नामकरणको निर्णय लिइएको उनले बताए।

सोवले आफूलाई अहिलेको अवस्थामा पुर्‍याउने जन्मभूमिलाई केही योगदान फिर्ता दिन मन लागेपछि रकम जुटाएको बताए। ‘परिवारमा सल्लाह गरें। उनीहरूले पनि कोषका लागि पैसा जम्मा गरिदिए,’ उनले भने।

शिक्षामा अवसर पाए दलितहरू स्वतः विकसित हुन्छन् भन्ने सिद्धान्तलाई आत्मसात् गरेर सो समुदायका विद्यार्थीका लागि शिक्षामा योगदान गर्ने लक्ष्य लिइएको सोवले बताए। ‘म शिक्षाका कारण विकसित भएको हुँ। दलितहरू पनि शिक्षा पाए स्वतः विकसित हुन्छन्,’ उनले भने।

२००९ सालमा डोटीको सिलगढीमा जन्मिएका सोव हाल सेन्टर एसिया इन्स्टिच्युटमा जागिरे हुँदै सन् २००० मा अमेरिका पुगेका हुन्। उनी सोही जागिर नै सरुवा गरेर अमेरिका पुगेका हुन्। उनी कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले द्वन्द्वग्रस्त देशहरूमा योगदान गर्छ। उनी सो संंस्थाको अन्तर्राष्ट्रिय कार्यक्रम निर्देशकका रूपमा कार्यरत छन्। नेपालमा रहँदा पनि सेभ द चिल्ड्रेन, मर्सिप्सलगायत संस्थामा काम गर्दा दलित विद्यार्थीका लागि उनले योगदान पुर्‍याएका थिए।

उनले अन्तर्राष्ट्रिय दातृ निकायका बीचमा नेपालमा आर्थिक तथा सामाजिक रूपले अविकसित र मानवअधिकार नभएको पहिलो समुदाय दलित रहेको बारेमा आफ्नो प्रस्तुतिमार्फत जानकारी दिएपछि अन्तर्राष्ट्रिय निकायको दृष्टिकोणमा दलित समुदाय विकासको प्राथमिकता र मुद्दाामा समावेश हुन पुगेको उनले स्मरण गरे।

७१ वर्षीय सोवले डोटीमा एसएलसीसम्मको पढाइ पूरा गरे। त्यतिबेला जिल्लामा उच्च शिक्षाको पहुँच थिएन। उनी ६ दिन हिँडेर र तीन दिन बसको यात्रा पूरा गरेर भारत हुँदै काठमाडौं आए। काठमाडौं आएपछि उनले पाटन क्याम्पसबाट राजनीति शास्त्रमा स्नातकोत्तर पूरा गरेका थिए। उनले दलित समुदायको विकासको मूल आधार शिक्षा बन्नुपर्नेमा जोड दिँदै आएका छन्।

प्रकाशित: ९ वैशाख २०८१ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App