coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

‘विश्वविद्यालयको कुलपति छाड्न प्रधानमन्त्री तयार’

कुलपति पद छाड्दा विश्वविद्यालयको आमूल परिवर्तन हुन्छ भने आफु्ले कुलपति पदबाट राजीनामा दिने प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले आश्वस्त पारेका छन्।

बुधबार शिक्षाविद्, समाजशास्त्री तथा राजनीतिज्ञसँगको भेटवार्तामा कुलपति दहालले त्रिभुवन विश्वविद्यालयको रिक्त उकपुलपति नियुक्तिबारे चासो दिँदै आफू जसरी पनि यसपटक त्रिविमा राजनीतिमुक्त योग्य र सक्षम उपकुलपति ल्याउने कृतसंकल्प लिएको बताएका हुन्।

हालै बालुवाटारमा शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला, केदारभक्त माथेमा, राजनीतिशास्त्री प्राध्यापक डा. कृष्ण खनाल, समाजशास्त्री प्राध्यापक डा. चैतन्य मिश्र र भूगोलशास्त्री प्राध्यापक डा. पिताम्बर शर्मासँग एक घन्टाभन्दा बढी शिक्षा र देशको समग्र अवस्थाबारे छलफलमा प्रधानमन्त्रीको मुख्य चासो उच्च शिक्षामै रहेको शिक्षाविद् विद्यानाथ कोइरालाले बताए।

शिक्षाविद् कोइरालाले प्रधानमन्त्रीले विश्वविद्यालयमा भइरहेको चरम राजनीतिकै कारण विश्वविद्यालयको मर्यादामाथि नै आँच आएको महसुस गरेको बताए।

‘हामीसँग एक घन्टाभन्दा बढी छलफलमा प्रधानमन्त्रीले पटकपटक आफूले कुलपतिको पद छाड्दा विश्वविद्यालयमा आमूल परिवर्तन आउँछ भने आफू कुलपतिको पदबाट राजीनामा दिन तयार रहेको भनिरहनुभयो। हामी विश्वस्त भयौं कि यसपटक त्रिविले योग्य र क्षमतावान् उपकुलपति पाउँछ,’ कोइरालाले भने, ‘प्रधानमन्त्रीको अर्को मुख्य चासो भनेको विश्वविद्यालयमा दलगत भागबन्डाले चरम राजनीति मात्र भइरह्यो यसले राम्रा विद्यार्थी र शिक्षक विश्वविद्यालयबाट पलायन हुँदै गए र विश्वमा नेपालप्रति नकारात्मक असर पर्‍यो। प्रधानमन्त्रीले यसपटक जसरी पनि त्रिविमा निष्पक्ष तरिकाले उपकुलपति नियुक्ति गर्ने विश्वास लिन सकिने अवस्था बनेको छ।’

यति मात्र होइन विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई सुधार गर्न अब शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई समेत कुनै पनि दलको भातृ संगठनको सदस्य बनाउन वा संगठन खोल्न नदिने विज्ञहरूको सुझावप्रति पनि प्रधानमन्त्री दहाल सकारात्मक रहेको कोइरालाले बताए।

‘हामीले पनि प्रधानमन्त्रीज्यूलाई हालको अवस्थामा प्रधानमन्त्री केन्द्रीय विश्वविद्यालयको, शिक्षामन्त्री खुला विश्वविद्यालयको, मुख्यमन्त्री प्रदेश विश्वविद्यालयको र ट्रष्टीबाट कुलपति गरी हाल विश्वविद्यालयहरूमा चार किसिमका कुलपति रहेको अवगत गरायौं,’ कोइरालाले भने, ‘हामीले विश्वविद्यालयको कुलपति पनि प्राज्ञिक क्षेत्रबाटै हुनु पर्ने सुझाव दियौं। मन्त्री कुलपति भएकै कारण विश्वविद्यालयहरू राजनीति दलका कार्यकर्ता भर्ति केन्द्र मात्र बनेको र शैक्षिक प्राज्ञिक उन्नयन कार्य कम हुँदै गएको विषय अवगत गराएर हिँड्यौं।’

राजनीतिशास्त्री खनालले आवेदन दिएका ४३ भन्दा बाहिर पनि धेरै योग्य र सक्षम व्यक्ति उपकुलपति बन्न योग्य रहेको सुनाउँदा प्रधानमन्त्री दहालले विज्ञहरूको सुझावमा यस्ता व्यक्तिको रोष्टर बनाएरसमेत अघि बढ्ने बताए।

विज्ञहरूको टोली प्रधानमन्त्रीको सल्लाहाकार रमेश मल्लको सहकार्यमा बोलाइएको थियो। मल्ल पूर्व विद्यार्थी नेता हुन्।

‘प्रधानमन्त्री कुलपति बन्न व्यावहारिक नदेखिएकोले पनि वहाँले विश्वविद्यालय सुधारका लागि कुलपति पद छाड्ने तीन पटक सम्म दोहर्‍याउनुभएको थियो,’ खनालले भने, ‘यति मात्र होइन उपकुलपति निष्पक्ष नियुक्ति भएसाथै उपकुलपतिको पूरै टिमलाई नै अर्थात् रेक्टर, रजिष्ट्रार तथा विभागीय प्रमुखसमेत निष्पक्ष नियुक्ति गर्ने कुरामा विश्वस्त पार्नुभयो। प्रधानमन्त्रीले म एक्लैको निर्णय नभएर विश्वविद्यालयहरूमा निष्पक्ष पदाधिकारी ल्याउने सरकारमा भएका सबै दलहरूको निर्णय यही नै भएको बताउनुभयो। विद्यार्थी र युवाहरू पलायन हुने सँख्या बढ्दै गएकोमा प्रधानमन्त्रीको चिन्ता थियो। हामीले युवा पलायन रोक्नु भन्दा पनि उनीहरूले हासिल गरेको ज्ञान र सिप देशको विभिन्न विकास कार्य क्षेत्रमा उपयोग गर्नु पर्ने सल्लाह दियौं।’

छलफलपछि अर्का शिक्षाविद् कोदारभक्त माथेमाका अनुसार प्रधानमन्त्रीको मुख्य चासो नै त्रिविको उपकुलपति निष्पक्ष रूपमा क्षमताको आधारमा हुनुपर्ने नै थियो। देशको बलियो आधार नै शिक्षा भएकोले शिक्षा क्षेत्रलाई स्तरीय बनाउने तर्फयस पटक सरकारनै लागि परेको प्रधानमन्त्रीको लक्ष्य रहेको माथेमाले बताए।

‘यसपटक त्रिविको उपकुलपति राजनीतिक हिसाबले नहुने विश्वविद्यालयको सुधारका लागि हुनेमा प्रधानमन्त्रीले हामीलाई विश्वस्त पार्नुभयो,’ शिक्षाविद् माथेमाले भने ‘सरकारले युवा तथा विद्यार्थीकोलागि स्वदेशमै ज्ञान र सिप उपयोग गर्ने वातावरण बनाउने आशा जगाउने काम गर्नेमा प्रधानमन्त्रीलेको बलियो विश्वास देखियो। उनको अर्को चासो नेपालप्रतिको नकरात्मक भाष्यलाई चिर्न शिक्षा क्षेत्रबाट राजनीति पूर्णरूपमा हटाउने र बढ्दो अनुशासन हिनतालाई रोक्न विद्यालयदेखि विश्वविद्यालयसम्म नैतिक शिक्षाको आवश्यकता हो।’

प्रकाशित: १४ माघ २०८० ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App