८ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

सामुदायिक विद्यालयका विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बिमा

फाइल तस्बिर : नागरिक

स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ।

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकाले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क स्वास्थ्य बिमा अवधारणा अघि बढाइएको हो।

चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाणले १४औँ नगरसभाले पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेनदार विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने प्रस्ताव अनुमोदन गरेको जानकारी दिए।

आफ्ना बालबालिकालाई पढाउन बजार जाने वा सुविधा भएका ठूला सहर जाने प्रवृत्तिका कारण पछिल्लो समय गाउँ खाली हुँदै गइरहेकाले पनि यसको रोकथामका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमले भूमिका खेल्ने उनको भनाइ छ।

‘बालबालिकालाई सामुदायिक विद्यालयमा पठाउने अभिभावक वा घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिँदा उपचारमा सहयोग पुग्छ’, उनले भने, ‘सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै जान्छ।’

नगरपालिकाले यसका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ। उक्त कार्यक्रमले सर्वसाधारणको स्वास्थ्यमा पहुँच पुग्नुका साथै सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षालाई गुणस्तरीय बनाउन पनि पालिकाले आवश्यक नीति, कार्यविधि तथा बजेटको सुनिश्चित गरेको नगर प्रमुख खाणले बताए।

नगरपालिकाभित्र ४५ सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेनदार बालबालिकाका परिवारका सदस्यका लागि न्यूनतम तीन हजार पाँच सय बिमावापतको रकम नगरपालिकाले भुक्तानी गरिदिने भएको छ।

उक्त रकमले पाँच जनासम्मको परिवारले एक वर्षको अवधिसम्म एक लाख बराबरको उपचार खर्च गर्न पाउने छन्। पाँचभन्दा बढी सदस्य संख्या भए पालिकाले प्रतिव्यक्ति सात सय रुपैयाँ थप गरिदिने भएको छ।

शिक्षा शाखा प्रमुख बन्दना गुरुङका अनुसार चापाकोट नगरपालिकामा माध्यमिक तहका १६, आधारभूत तह (१-८) का पाँच, आधारभूत (१-५) का १४ र आधारभूत (१-३) का १० विद्यालय रहेका छन्। हाल नगरका १० वडामा रहेका ४५ सामुदायिक विद्यालयमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ। –रासस

प्रकाशित: १ माघ २०८० ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App