२९ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

रिड छात्रवृत्तिमा अध्ययन गरेका ८० विद्यार्थीमध्ये ४५ रोजगारीमा

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड)नेपालको छात्रवृत्ति पाएर अध्ययन गरेका ताप्लेजुङका ८० जना विद्यार्थीमध्ये ४५ जनाले रोजगारी पाइसकेको रिडले जानकारी दिएको छ।

रिड नेपाल ताप्लेजुङका प्रबन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार केही सरकारी निकायमा र केही गैरसरकारी संस्थामा रोजगारमा आवद्ध भइसकेका हुन्। छात्रवृत्ति पाएकामध्ये केहीले पढाइलाई निरन्तरता दिइरहेको र पढाइको पछिल्लो अवस्थाबारे रिड नेपालले नियमित सम्पर्क गरी सूचना लिने कार्य गरिरहेको समेत पन्तले जानकारी दिए।

सन् २०१३ मा स्थापना गरिएको छात्रवृत्तिका लागि अहिलेसम्म रिड नेपालले ७० लाख रूपैयाँ खर्च गरिसकेको जनाएको छ।

छात्रवृत्ति स्थापना भएयता रिड नेपालले हरेक वर्ष उच्च शिक्षा अध्ययन गर्ने सातजना जेहेनदार विद्यार्थीलाई जर्ज बैण्ड मेमोरियल छात्रवृति दिँदै आएको छ।

छात्रवृत्ति पाएकामध्ये अधिकांश इन्जिनियरङ, विज्ञान, कृषि विज्ञान, वन विज्ञान र स्वास्थ्य (अनमी, अहेव) विषयमा अध्ययन गर्ने गरेका छन्। रिड नेपालका शिक्षा अधिकृत रोमा माबो लिम्बुका अनुसार स्थानीयस्तरमा प्राविधिक जनशक्ति अभाव भइरहेको अवस्थालाई दृष्टिगत गर्दै प्राविधिक विषय अध्ययन गर्नेहरूलाइ छात्रवृत्ति वितरण गर्ने गरिएको छ।

 हिमालयन ट्रष्ट युकेको आर्थिक सहयोगमा नेपालका दुर्गम र हिमाली क्षेत्रहरूको शैक्षिक प्रवर्द्धनका लागि रिड नेपालले काम गर्दै आएको छ। जर्ज बैण्डले विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमालमा पहिलोपटक मानव पाइला राखेका थिए।

हिमालयन ट्रष्ट युके तिनै जर्ज बैन्ड र जो ब्राउनको संस्थापन र अगुवाइबाट सन् २०५५ मा सुरु भएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो।

ताप्लेजुङमा रिडको कार्यक्रम सुरु भएको १५ बर्ष भएको छ। यहाँको फक्ताङ्लुङ गाउँपालिकाका ४ तथा सिरिजङ्गा गाउँपालिकाका ३ दुर्गम वडाहरूलाई कार्यक्षेत्र बनाएको रिड नेपालको कार्यक्षेत्र अब ताप्लेजुङ जिल्लाभर विस्तार गर्ने तयारी भइरहेको छ।  

प्रकाशित: २९ पुस २०८० ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App