१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

जुम्लाका दुर्गम गाउँमा भूकम्पप्रतिरोधी विद्यालय

जुम्लाका दुर्गम गाउँमा भूकम्पप्रतिरोधी विद्यालय भवन बनाउन थालिएको छ। पछिल्लो समय बारम्बार भूकम्पले तर्साइरहने र कच्ची भवन भत्किएर ठुलो क्षति हुन थालेपछि नयाँ बन्ने भवन भूकम्पप्रतिरोधी बनाउन थालिएको हो।

हालै हिमा गाउँपालिकामा दुई, सिंजामा एक र कनकासुन्दरीमा दुईवटा विद्यालय भवन बनेका छन्। ती सबै भवन भूकम्पप्रतिरोधी हुन्। पाँच विद्यालयमा चारकोठे पक्की भवन, ४ वटा बालमैत्री, अपांगमैत्री भवन, ४ वटा शौचालय र ३ वटा हेन्ड वासिङ स्टेसन बनेका छन्।

हिमास्थित भैरव आधारभूत विद्यालय जोगीबाडा र महादेव आधारभूत विद्यालयका भवन भूकम्पप्रतिरोधी बनेका छन्।

त्यस्तै, कनकासुन्दरीका भैलापाटा आधारभूत विद्यालय र गोरुचौर आधारभूत विद्यालयमा पनि भूकम्पप्रतिरोधी भवन बनेका छन्। यी चारवटा विद्यालय गरेर २ करोड ४७ लाख ३ हजार ५ सय ३३ रूपैयाँ खर्च भएको छ।

सिंजा गाउँपालिका–६ को माध्यमिक विद्यालय जोडुमा ६५ लाख ३३ हजार ४ सय १४ रूपैयाँमा भवन बनेको छ। नयाँ निर्माणसँगै मर्मतसम्भार, कक्षाकोठा, शौचालय, हातधुने स्टेसन खानेपानी सुविधा र हरियो बगैंचाको मर्मतको कामसमेत भएको हो।

यी पाँच विद्यालय भवनमा बालमैत्री, अपांगमैत्री, छात्र–छात्रामैत्री, अपांगमैत्री शौचालय, बालबालिकाको पहुँचयुक्त धारा, सिकाइमैत्री कक्षाकोठासहितको सुविधा नयाँ विद्यालय भवनबाट सुरु गर्ने तयारी रहेको स्थानीयले बताए।

गत वर्ष असोजमा परेको बेमौसमी वर्षाले सिंजाको जोडु विद्यालयमा क्षति पुगेको थियो। त्यसयता विद्यार्थी खुला चौरमा बसेर पठनपाठन गरिरहेका थिए।

सो विद्यालयका प्रधानाध्यापक नरबहादुर बुढाले भने, ‘भूकम्पप्रतिरोधी नयाँ विद्यालय बनेसँगै विद्यार्थीले सुरक्षित तरिकाले बस्न र पढ्न पाउन थालेका छन्। प्रधानाध्यापक बुढाले दुर्गमका विद्यालय भूकम्पप्रतिरोधी बन्न थालेपछि स्थानीय अभिभावक ढुक्क हुने अवस्था बनेको बताए।

प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा पेस नेपाल, जुम्लाले आधार परियोजनाबाट विद्यालय भवन बनाइदिएको हो। पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले दुर्गमका पाँच विद्यालय भूकम्पको जोखिमरहित बनेको बताए।

कतै अत्यावश्यक र कतै मागमा आधारित भएर भवन निर्माण गरिएको न्यौपानेले जानकारी दिए।

विद्यार्थीले नयाँ शैक्षिक सत्रदेखि भवनमा बसेर अध्ययन गर्न पाउने भएका छन्। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पछिल्लो समयमा दुर्गममा भूकम्पप्रतिरोधी विद्यालय भवन बन्दा पठनपाठन निकै सुरक्षित हुने गरेको बताए। उनले भवनको सही रूपमा सदुपयोग र संरक्षण गर्न शिक्षकअभिभावकलाई आग्रहसमेत गरे।

प्रकाशित: २१ पुस २०८० ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App