२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

गाउँमै पहिलो पटक ११ कक्षाको पढाइ सुरु

बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रदेखि ११ कक्षाको अध्ययन सुरु भएको छ। नेपालगन्ज नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको उक्त गाउँपालिकाको वडा नं. ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान सङ्कायको पढाइ थालिएको हो।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण आर्चायका अनुसार तेह्र विद्यार्थी भर्ना भए पनि आठ जना मात्र नियमितरुपमा अध्ययन गरिरहेका छन्। पठनपाठनका लागि तीन शिक्षकको व्यवस्था गरिएको उनले बताए। तेह्र विद्यार्थीमध्ये छ जना छात्रा छन्।

'हामीले धेरै वर्षदेखि कक्षा ११ को पठनपाठनका लागि प्रयास गर्‍यौँ तर अहिले बल्ल सफल भएका छौँ,' प्रधानाध्यापक आर्चायले भने। जानकी गाउँपालिकाको अनुदानमा सो कक्षा सञ्चालन भएको हो। दरबन्दी भएका शिक्षकलाई मासिक रु ४० हजार तलब दिने गरिएको छ। चार सयको हाराहारीमा विद्यार्थी रहेको सो विद्यालयमा माध्यमिक तहमा पाँच तथा निम्न माध्यमिक तहमा तीन शिक्षकको दरबन्दी रहेको छ। 

जानकी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णाकुमारी भण्डारीले यस शैक्षिकसत्रदेखि ११ कक्षा सुरु गरिएकोे र अर्को वर्षदेखि १२ कक्षा सुरु भएपछि विद्यार्थी सङ्ख्या बढ्दै जाने बताए।

गाउँपालिकामा ११ कक्षाको अध्ययन सुरु भएको पहिलो पटक हो। मदरसा र गुरुकुल विद्यालयसहित ३९ विद्यालय रहेको सो पालिकामा १४ मदरसा, एउटा गुरुकुल र छ संस्थागत विद्यालय रहेका छन्। रासस

प्रकाशित: २ पुस २०८० ०५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App