८ मंसिर २०८१ शनिबार
image/svg+xml
शिक्षा

उच्च शिक्षालाई ‘एक रुपैयाँ बचत’

इलामको रोङ गाउँपालिकाले सञ्चालन गर्न लागेको ‘एक रूपैयाँ बचत’ कार्यक्रमबारे छलफल गर्दै वडा नं. २ स्थित विद्यालयका प्रतिनिधि तथा शिक्षक-विद्यार्थी। तस्बिर: नागरिक

बालबालिकालाई उच्च शिक्षा पढ्न सहज होस् भन्ने उद्देश्यले इलामको रोङ गाउँपालिकाले ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रम सञ्चालन गर्दै छ। स्वयम् विद्यार्थी, गाउँपालिका र प्राइम कमर्सियल बैंकको सहकार्यमा उच्च शिक्षामा आर्थिक सहयोग गर्न ‘एक रूपैयाँ बचत’को अवधारणा ल्याइएको हो।

यसका लागि पालिकाका ३० वटै विद्यालयका सबै (करिब दुई हजार पाँच सय) विद्यार्थीको बैंक खाता खोलिनेछ। बैंक खातामा पालिकाले केही रकम जम्मा गरिदिनेछ भने बैंक र सम्बन्धित विद्यार्थीले पनि त्यसमा केही रकम जम्मा गर्नेछन्। यसका लागि प्राइम कमर्सियल बैंकसँग सम्झौता भएको पालिका अध्यक्ष मनीकुमार स्याङ्बोले बताए।

‘आर्थिक अभावका कारण बालबालिकाले पढाइ छाड्न नपरोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु गर्न लागिएको हो,’ स्याङ्बोले भने, ‘यस कार्यक्रममा अभिभावक र विद्यार्थी उत्साहित छन्। गाउँपालिकाले एक रूपैयाँ बचत गर्दा विद्यार्थी एकजनाले महिनामा पाँच हजार रूपैयाँसम्म बचत गर्न रकम संकलन गरेको पनि पाइएको छ।’

बैंकले प्रत्येक विद्यार्थीको खातामा सय रूपैयाँ जम्मा गरिदिनेछ। विद्यार्थीले पनि प्रत्येक दिन आफ्नो खातामा एक रूपैयाँ जम्मा गर्नेछन्। पालिकाले त्यसमा प्रत्येक दिन एक रूपैयाँले हुनआउने तीन महिनाको रकम जम्मा गरिदिनेछ। बैंकले हरेक वर्ष वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पालिकासँग सम्झौता गरेको छ।

‘विद्यार्थीको बैंक खाता विद्यालयमै गएर खोलिने छ,’ उनले भने, ‘विद्यालयमा आधारित उद्यमशीलताका लागि १४ सर्तमा बैंकसँग सम्झौता भएको छ र कार्यक्रमका लागि कार्यविधिसमेत पारित भइसकेको छ।’

विद्यार्थी बचतका लागि प्राइम कमर्सियल बैंकले दुई लाख ५० हजार रूपैयाँभन्दा बढी सहयोग गर्ने जनाएको छ।

कार्यक्रम सञ्चालनका लागि निर्देशक समिति र स्कुल–स्कुलमा कार्यान्वयन समितिसमेत गठन गरिएको छ। प्रचारप्रसार र सचेतना विभिन्न माध्यमबाट गरिएको छ।

‘अभिभावकसँग पालिकाको भेटघाट कार्य तीव्र हुँदै छ, बैंक खाता खोल्ने तयारी हुँदै छ। सबै विद्यालयमा एकसाथ यो काम सुरु हुन्छ,’ उनले भने, ‘बचत कार्यक्रमको विवरण व्यवस्थापनका लागि सफ्टवेयर तयार छ, फोकल शिक्षकलाई सामान्य तालिम दिइनेछ।’

अनावश्यक खर्च कटौती गरी भविष्यका लागि बचत गर्ने कार्यक्रम पालिकाले ल्याएको अध्यक्ष स्याङ्बोले बताए।

‘हाम्रो पुस्ताले भोगेका समस्या आउँदो पुस्ताले भोग्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘भविष्यको भन्दा वर्तमानको आवश्यकता गति तीव्र हुन्छ तर भविष्य निकै महŒवपूर्ण हुन्छ। भोलिका लागि आजैबाट लगानी सुरु गर्नुपर्छ भनेर यो अवधारणा ल्याइएको हो। हरेक वर्ष गाउँपालिकाको ठुलो बजेट ‘छात्रवृत्ति’ शीर्षकमा खर्च भइरहे पनि सबै विद्यार्थीले पर्याप्त छात्रवृत्ति नपाएको भन्दै पालिकाले छात्रवृत्तिको दिगो समाधान प्रयास गरेको जनाएको छ।

प्रकाशित: २५ मंसिर २०८० ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App