१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

उपकुलपतिको दौडमा त्रिविका पूर्व पदाधिकारी

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको पदका लागि विश्वविद्यालयका पूर्व पदाधिकारीहरू नै दौडधुप गरिरहेका छन्।

यसका लागि विभिन्न दल निकटका प्राध्यापक संगठनहरु समेत लागि परेका छन्। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको पद रिक्त भएको एक महिना बितिसक्दा पनि पूर्णकालीन उपकुलपति पाउन सकेको छैन। दलहरूबिचमा भागबन्डाको विषय नमिलेपछि हाल त्रिविको शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसाललाई नै बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएको छ।

विश्वविद्यालयका पूर्व पदाधिकारीहरू उपकुलपतिको दौडमा रहेको शिक्षकहरू नै बताउँछन्। विशेष गरी त्रिविका पूर्व रजिस्ट्रार प्राडा चन्द्र मणि पौडेल, पूर्व उपकुलपति प्राडा तीर्थराज खनिया, पूर्व शिक्षाध्यक्ष प्राडा गुणनिधि न्यौपाने, खुला विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा लेखनाथ शर्माको नाम त्रिवि उपकुलपतिको चर्चामा आएको छ। एमाले निकट प्रगतिशील प्राध्यापक संगठन नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संगठन र माओवादी केन्द्र निकट राष्ट्रिय प्राध्यापक संगठनसँग आबद्ध प्राध्यापकहरू आ आफ्ना राजनीति दलभित्र त्रिविको उपकुलपति नियुक्तिबारे नाम सिफारिस गर्न दौडधुप गरिरहेका छन्।

प्रधानमन्त्री एवं विश्वविद्यालयको कुलपति पुष्पकमल दाहालले कात्तिक १७ गते शिक्षा अध्यक्ष प्राडा शिवलाल भुसाललाई त्रिभुवन विश्वविद्यालय ऐन,२०४९को दफा२१ख बमोजिम रिक्त रहेको उपकुलपतिको पद पूर्ति नभएसम्मका लागि दैनिक कार्य संचालन गर्नका लागि बढीमा ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी तोकेका छन्। मंसिर ८ गते त्रिवि सेवा आयोगका सदस्य हेमराज ढकालको चार वर्षे सेवा अवधि सकिएको छ भने पुस ८ गते रजिस्ट्रार प्राडा पेशल दाहाल र चैत ८ गते शिक्षाध्यक्ष प्राडा शिवलाल भूषालको चार वर्षे सेवाअवधि सकिने क्रममा छ। तर सरकारको यी पदहरुमा नियुक्तिको तयारी भने छैन।

कात्तिक १६ गते उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा तीन सदस्य उपकुलपति छनौट समिति कात्तिक २० गते गठन गरिएको भए पनि हालसम्म कुनै पनि काम नभएकोले नियुक्ति प्रकृयानै अघि नबढेको त्रिवि प्राध्यापक संघका सभापति वसन्त ढकालले जानकारी दिए। उनले सकेसम्म विश्वविद्यालयमा समयमै नेतृत्व दिएर सरकारले विश्वविद्यालयलाई प्राज्ञिक उन्नयनको कार्यमा सहजीकरण गर्नु पर्नेमा जोड दिए।

‘उपकुलपति छनौटका लागि समिति गठन गरियो तर काम भएन। विश्वविद्यालयलाई भागबन्डाको बन्धक बनाउने काम दलहरूले बन्द गर्नु पर्‍यो ,’सभापति ढकालले नागरिकसँग भने ‘दलहरूले भाग बन्डा मिलाउने निहुँमा विश्वविद्यालयलाई लामो समयसम्म नेतृत्वविहीन बनाउँदा विश्वविद्यालय नै ध्वस्त हुन्छ। ’ उनले थपे ‘यति मात्र होइन हाल त्रिवि शिक्षक कर्मचारीले डेढ वर्षदेखि बढेको तलब पाएका छैनन्। यसले उहाँहरूको मनोबल गिरेको छ। यस्तो अवस्थामा विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक उन्नयनको काम गर्न बाधा पुग्छ।’ उनले भनेअब विश्वविद्यालयभित्र उपकुलपति बन्ने व्यक्ति स्पष्ट भिजन भएको र नेतृत्व गर्न सक्ने दखल राख्ने हुनु पर्ने आवश्यकता बताए।

नेपाल खुला विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा लेखनाथ शर्माले आफ्नो नाम चर्चामा आए पनि आफू भने कुनै राजनीति दल समक्ष नपुगेको बताए। उनले आफूले खुला विश्वविद्यालयलाई चार वर्षसम्म हाँकेर उत्कृष्ट नतिजा दिएको अनुभवको आधारमा प्राध्यापकहरूबाटै उनलाई उपकुलपति बनाउनु पर्ने दबाब भने आएको स्पष्ट पारे। ‘त्रिविसँग प्रयाप्त भौतिक संरचना, उत्कृष्ट नियम कानुन र शैक्षिक संरचना पनि छ आवश्यक छ मात्र त्रिविको यी भएकै संरचनालाई कुशलतापूर्वक व्यवस्थापन गर्न सक्ने नेतृत्वको ,’ शिक्षा शास्त्र संकायका गणित विषयका प्राडा शर्माले वास्तविकता सुनाए ‘म त्रिविमा ३७ वर्षदेखि दौडिरहेको छु तर उपकुलपतिको लागि कसैकोमा गएको छैन। कसैले उपकुलपति चलाउन भनेर दियो भने म विना अवरोध निर्बाध रूपमा विश्वविद्यालयलाई हाँक्न सक्ने नेतृत्वदायी भूमिका निर्वाह गर्छु।’ उनले थपे‘त्रिविमा आउने अबको उपकुलपतिले भएकै शैक्षिक, आर्थिक र भौतिक संरचनालाई व्यवस्थित गरी अगाडि बढ्नु पर्छ।’

त्रिविको पूर्व रजिस्ट्रार एवं राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि पौडेल पनि राष्ट्रिय प्राध्यापक संगठनका प्राध्यापकहरूले उनलाई उपकुलपति बनाउने शुभेच्छा राखे पनि दलगत रूपमा कुनै पहुँच नगरेको स्पष्ट पारे। तर यसका बाबजुद उनले त्रिविमा अब विना विलम्ब पूर्णकालीन उपकुलपति नियुक्ति गरिनु पर्ने भनाई राख्छन्। त्रिवि तथ्याङ्क शास्त्रका प्राडा पौडेलका अनुसार अबको त्रिविको अवस्था संवेदनशील भएकोले अबको उपकुलपति त्रिविको पुनः संरचना गर्न सक्ने क्षमता भएको हुनु पर्छ।‘अब त्रिवि परम्परागत पाठ्यक्रमले मात्र चल्दैन ,’ प्राडा पौडेलले भने ‘त्रिविको भौतिक, पाठ्यक्रम,क्यालेन्डर, नियम कानुनको पुनः संरचना गरेर मात्र विश्वविद्यालयलाई नयाँ गति दिन सकिन्छ।’ 

पूर्व रजिस्ट्रार पौडेलका अनुसार निर्वाधरुपमा चार वर्ष आफ्नो टिममा काम गर्न सक्ने उपकुलपति अब त्रिविलाई चाहिएको छ। सरकारले यस तर्फ ध्यान दिनु पर्ने आवश्यक छ। उनले सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको संयोजकत्वमा गठन गरेको उपकुलपति छनौट समितिले गठन भएको एक महिनाभित्र पनि एउटा छलफल वा बैठक सम्म बस्न नसक्नु दुर्भाग्य भएको औँल्याए। ‘अब समितिले बैठक बसेर मापदन्ड बनाएर खुला प्रस्ताव मागेर उत्कृष्ट प्रस्ताव बुझाउनेलाई मात्र उपकुलपति छान्नु पर्छ ,’ पूर्व रजिस्ट्रार पौडेलले औँल्याए ‘दलको पाउ परेर होइन।’

त्रिविका कानुन विषय प्राडा एवं त्रिविका पूर्व शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले पनि अबको उपकुलपति त्रिविलाई स्वतन्त्र रूपमा हाँक्न सकेन आवश्यक रहेको औँल्याए। ‘त्रिविलाई हाल नपढाउने शिक्षक र नपढ्ने विद्यार्थीसँग ठुलो समस्या हो,’ पूर्व शिक्षाध्यक्ष प्राडा न्यौपानेले भने ‘अबको उपकुलपतिले प्राज्ञिक विशिष्टतालाई मुलमन्त्रमा राखेर विश्वविद्यालय चलाउनु पर्छ।’ उनका अनुसार सरकारले हाल नयाँ विश्वविद्यालय खोल्दै उपकुलपति र रजिस्ट्रार लगायतका पदाधिकारी भागबन्डामा नियुक्ति गरेर जागिर खुवाउने काम बन्द गर्नु पर्छ। त्रिविमा पनि जागिर खुलाउने होइन कार्यक्रम चलाएर अब्बल विश्वविद्यालय बनाउने उपकुलपति नियुक्ति हुनु पर्छ।

त्रिवि उपकुलपति छनौट समितिका सदस्य डा चन्द्रकला घिमिरेले समिति गठन भए पनि पत्र ढिला पाएकोले काम गर्न समय लागेको बताइन्। ‘उपकुलपति कसरी छनौट गर्नेबारे विधि मापदण्ड बनाएर खुलाबाट गर्ने समितिले छलफल गरेको छ,’ त्रिवि बौद्ध अध्ययन केन्द्रीय विभागीय प्रमुख समेत रहेकी घिमिरेले भनिन्‘तीन महिनाको लागि शिक्षाध्यक्षलाई निमित्त उपकुलपति दिएको छ। यही अवधिभित्र समितिले उपकुलपतिको नाम कुलपतिसमक्ष सिफारिस गर्ने लक्ष्य लिएको छ।’ हाल सेवा आयोगको सदस्य नहुँदा उपप्राध्यापक पदको परीक्षा, सह प्राध्यापक र प्राध्यापकहरूको अन्तरवार्ता समेत हुन सकेको छैन।

प्रकाशित: २४ मंसिर २०८० १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App