५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

युडब्लुएसले तीन जिल्लामा ९० वटा सामुदायिक विद्यालय बनाउने

युनाईटेड वर्ल्ड स्कुल(युडब्लुएस)नेपालले आगामी पाँचबर्ष भित्र ९० वटा सामुदायिक विद्यालयको भवन निर्माण गर्ने भएको छ । युडब्लुएसले भवनको निर्माणसँगै  आधुनिक प्रविधिमैत्री सिकाई विधि विकास गर्ने घोषणा गरेको छ। ताप्लेजुङ सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गरेर युडब्लुएस नेपालले उक्त घोषणा गर्दै पूर्वाधार निर्माणमा लामो अवधि नलिने भनेको छ। 

सामान्यतया ११ कोठे भवन निर्माणका लागि अधिकतम ७० दिन लाग्ने गरेको संस्थाले जनाएको छ। ताप्लेजुङ,संखुवासभा र गुल्मीलाई कार्यक्षेत्र बनाएको युडब्लुएस नेपालले गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय भवन,आकर्षक कक्षा कोठा,प्रविधि सहितको सिकाई,खेलकुद सामाग्री सहितको विद्यालय,क्षमता सहितको जनशक्ति र विद्यार्थी सहयोग कार्यक्रमलाई एकसाथ प्रयोगमा आउने बताएको हो। 

ग्रामीण,दुर्गम,पछाडि पारिएका र सीमान्तकृत बालबालिकालाई गुणस्तरीय तथा प्रभावकारी शैक्षिक पहुँचमा ल्याउन संस्थाले अभियान अघि बढाएको युडब्लुएस नेपालका अध्यक्ष खेमराज खड्काले बताए।उनले आफूहरूले स्थानीय तहसँग र सम्बन्धित सरोकारवालासँग शैक्षिक सहकार्य गर्ने समेत जानकारी दिए।२०७२ साल चैतमा स्थापना भएको युडब्लुएस नेपालले तीन जिल्लाका ७६ वटा विद्यालयमा ५ सय ९ वटा कक्षा कोठा निर्माण गरिसकेको जनाएको छ । जस अनुसार संखुवासभामा ५३,गुल्मीमा १८ र ताप्लेजुङमा ५ वटा विद्यालय निर्माण भएका छन्।

युडब्लुएस नेपालको कार्यक्षेत्रका दृष्टिले ताप्लेजुङ कान्छो हो । खड्काका अनुसार यो अभियानबाट तीन जिल्लाका १३ हजार ९ सय २८ बालबालिका लाभान्वित भएका छन् । संस्थाका कार्यक्रम प्रबन्धक अविनाश झाका अनुसार गुणस्तरीय शिक्षाको प्रवद्र्धनका लागि काम गर्नु संस्थाको प्रमुख उद्देश्य हो । बालबालिकाका लागि सुरक्षित कक्षाकोठाको निर्माण र अध्ययनका लागि उनीहरूलाई उत्प्रेरित गर्न सबै खाले आधुनिक सुविधा तथा प्रविधियुक्त पूर्वाधारको विकास र व्यवस्थापनमा ध्यान दिने घोषणा गरेको छ। 

संस्थाले सहकार्य गरेको विद्यालयमा गुणस्तरीय शिक्षाका लागि आवश्यकताको आधारमा निर्धारित पाठ्यक्रम र विश्वसनीय शिक्षण विधिको प्रयोग गरिने भएको छ । कक्षा कोठामा प्रयोगात्मक,उच्चतम,नवीन र सृजनात्मक शिक्षण विधि कार्यान्वयन गर्ने,कक्षाको दैनिक सूचीको तयारी,विद्यार्थीको कक्षा छाड्ने दर घटाउन मोबाइल एप्लीकेशनको प्रयोग र पढाई निरन्तरताका लागि विद्यार्थी तथा अभिभावकलाई प्रोत्साहित गर्ने कार्यक्रम समेत संस्थाले प्रयोगमा ल्याउने छ। युकेएडको सहयोगमा आगामी ५ वर्ष सम्म यो कार्यक्रम निरन्तर कार्यान्वयनमा ल्याउने सो अवधि भित्रमा साझेदार दातृ निकाय सँगको समन्वयमा कार्यक्षेत्र बिस्तार सहितका योजना अघि बढाउने युडब्लुएसले घोषणा गरेको छ।

 फगत विद्यालय भवनलाई मात्र शिक्षण सिकाईको केन्द्रको रुपमा विकास गर्न नसकिने निष्कर्ष सहित गुणस्तरीय सिकाईका लागि रचनात्मक कक्षाकोठा,आधारभूत शैक्षिक उपकरण,आवश्यकता बमोजिम शिक्षक व्यवस्थापनमा सहयोग र शिक्षण फेलोसिप कार्यक्रममार्फत दक्ष तथा प्रशिक्षित जनशक्तिको तयार गर्न संस्थाले सहकार्य गर्ने भएको छ । भौतिक पूर्वाधार निर्माणका लागि समुदायबाट जमिन,काठ र ढुङ्गा सहितका कच्चा पदार्थमा उसले सहकार्य गर्ने छ भने माग र आवश्यकतामा आधारित योजनालाई प्राथमिकतामा राख्ने बताएको छ।

सहकार्यका क्रममा युडब्लुएस प्रथम पक्ष,विद्यालय द्वितीय पक्ष र स्थानीय सरकार तृतीय पक्ष भई त्रिपक्षीय साझेदारी हुने भएको छ।५ वर्षको सहकार्यका क्रममा विद्यार्थीको सिकाई मूल्याङ्कनको तह चौथो वर्षमै कम्तीमा तृतीय श्रेणी सम्मको हुने लक्ष्यका साथ सहकार्य हुने संस्थाले जानकारी दिएको छ।प्रभावकारी शिक्षण,सिकाईको दिगोपना,दक्ष जनशक्तिद्वारा रचनात्मक शिक्षण,पढाइमा विद्यार्थीको उत्सुकता,विद्यालयमा शान्त शैक्षिक वातावरण सहितका क्रियाकलापलाई प्रभावकारी सिकाईका आधारको रुपमा लिने गरिन्छ।आगामी सहकार्य बारे युडब्लुएसले ताप्लेजुङका स्थानीय तहका प्रमुख सहित शैक्षिक सरोकारवाला संस्थाहरूसँग संयुक्त परामर्श कार्यक्रम समेत गरेको छ। 

प्रकाशित: १९ मंसिर २०८० १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App