३० वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

विद्यार्थी तान्ने काइदा

यस्तो पनि!

आधुनिक शिक्षाको प्रचारप्रसार गर्दा बेलायतले छात्र र छात्राहरूका लागि बेग्लाबेग्लै विद्यालयको परिकल्पना गरेको थियो। सयौं वर्ष इतिहास भएका त्यस्ता विद्यालयको नक्कल गरेर नयाँ पनि नखुलेका होइनन् तर पछिल्लो समय आर्थिक संकुचनका कारण धेरै विद्यालय तथा कलेजहरूले आफ्नो छात्र मात्र वा छात्रा मात्र शिक्षालयको पहिचान फ्याँक्ने तयार भएका छन्।

धेरै निजी विद्यालयहरूले विद्यार्थी अभाव खेप्न थालेपछि छात्रछात्रा दुवैको सहशिक्षामा जोड दिन थालेका छन्। आर्थिक अभाव नभएका कतिपय विद्यालयले समेत भविष्यलाई आकलन गर्दै सहशिक्षाको अवधारणालाई मूर्त रूप दिन थालेका छन्।

छात्र वा छात्रा मात्र विद्यालयमा भर्ती गर्दाका अनेकन् अप्ठेराहरू छन्। पछिल्लो समय समय अभाव खेपिरहेका अभिभावकले आफ्ना छोराछोरीहरूलाई बेग्लाबेग्लै विद्यालयमा भर्ती गर्नुपर्ने, तिनलाई लिन/लैजान पनि पर्ने, त्यसका लागि पर्याप्त समय खर्च गर्नुपर्नेजस्ता आधुनिक समयको नयाँ किसिमका समस्याका कारण अभिभावकहरूले सहशिक्षायुक्त विद्यालयमा भर्ती गर्न रुचाउन थालेको पाइएपछि सहशिक्षाका विरोधी विद्यालयहरूले पनि आफ्नो इतिहास चटक्क छाडेर सहशिक्षालाई सकार्न थालेको पाइएको हो।

कतिपयले आफूलाई समयअनुकूल बनाउन समयसीमासमेत तोकेका छन्। केही विद्यालयहरूले सन् २०२५ सम्म आफ्नो विद्यालयलाई सहशिक्षाका लागि तयार पार्ने जनाएका छन्। कतिपय विद्यालयहरू भने गाभिन पनि तयार भएका छन् र कतिपय गाभिइसकेका छन्।

हुन पनि विद्यालयमा भर्ती हुने विद्यार्थीको संख्या निरन्तर घटिरहेको छ। सन् २०१४ मा विद्यार्थीहरूको भर्ती प्रतिशत २४ थियो भने अहिले १७ प्रतिशतमा झरेको छ। त्यसमा पनि छात्रहरूको भर्ती प्रतिशत ९ बाट झरेर ७ मा पुगेको छ भने छात्राहरूको १५ बाट ११.५ प्रतिशतमा झरेको छ।

केही अभिभावक भने निजी विद्यालयहरूको यस निर्णयविरुद्ध हस्ताक्षर अभियानसमेत चलाउन थालेका छन्। केहीले भने छात्र मात्र वा छात्रा मात्र अध्ययन गर्नुभन्दा सहशिक्षा गर्दाका फाइदाहरू बढी हुने भन्दै यस्तो हस्ताक्षर अभियानको अर्थ नहुने भन्दै पक्षमा मुखर देखिएका पनि छन्।

विद्यार्थी अभावका कारण कतिपय प्रख्यात स्कुल तथा कलेजहरूसमेत बन्द भइरहेको अवस्थामा राम्रैसँग चलिरहेका विद्यालय तथा कलेजले लिएको पछिल्लो निर्णय जीवनदायक हुनसक्ने बताइएको छ।

साउथ लण्डनस्थित १३६ वर्ष पुरानो जोन ह्विटगिफ्ट विद्यालय सन् २०२५ पछि बन्द गर्ने घोषणा गरेको छ। त्यस्तै वेस्ट लण्डनको किसविकमा रहेको फाल्कन्स प्रि-प्रेप विद्यालय यही डिसेम्बरमा स्थापनाको ६६ वर्षपछि बन्द हुँदैछ।

इलफोर्डस्थित पार्क स्कुल फर गर्ल्स अर्को वर्षपछि बन्द हुने भएको छ। विद्यार्थी अभावसँगै महँगा शिक्षकहरूको पेन्सनपट्टा यसको मूल कारक रहेको बेलायती अखबार द टाइम्सले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०८० ०१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App