१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी

लोकसेवा आयोगको परीक्षाप्रति सबैभन्दा बढी आकर्षण सर्लाहीवासीमा देखिएको छ भने उत्तीर्ण हुनेमा भने गुल्मेली अघि रहेको पाइएको छ। आयोगको रिपोर्टअनुसार आर्थिक वर्ष २०७९/८० मा लिइएको परीक्षामा सहभागी हुन आवेदन दिनेमध्ये ३ दशमलव ७७ प्रतिशत सर्लाहीवासी छन्। तर परीक्षामा उत्तीर्ण भई सरकारी सेवामा सिफारिस हुनेमा भने गुल्मेली ३ दशमलव ९५ प्रतिशत छन्।

आयोगको वार्षिक तथ्यांकअनुसार आव २०७९/८० मा सरकारी सेवाप्रति सबैभन्दा बढी आकर्षण मधेसका पाँच जिल्ला क्रमशः सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषाका बासिन्दामा देखिएको छ। तर परीक्षा दिएर उत्तीर्ण भई आयोगबाट सरकारी सेवामा सिफारिस हुनेमा क्रमशः गुल्मी, स्याङ्जा, सर्लाही, जुम्ला र धनुषाका बढी छन्। उक्त आवमा सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषाबाट मात्र १६ प्रतिशत (८१ हजार ४०३ वटा) दरखास्त परे। सोही आवमा देशभरका ७७ वटै जिल्लाबाट दरखास्त परेका थिए। सबैभन्दा न्यून दरखास्त पर्ने जिल्लामा क्रमशः मनाङ, मुस्ताङ, रसुवा, म्याग्दी र डोल्पा छन्। ती जिल्लाबाट कुल ३ हजार ७३ मात्र (०.६३ प्रतिशत) दरखास्त परेका थिए। आव २०७९/८० मा मनाङ र मुस्ताङ जिल्लाबाट कुनै पनि उम्मेदवारले आयोगको परीक्षा पास गर्न सकेनन्। आयोगका अनुसार त्यस आवमा आयोगबाट सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २८ वर्ष छ।

आव २०७९/८० मा आन्तरिक र खुलातर्फ ४ लाख ८३ हजार २०३ जनाले लोकसेवा परीक्षा दिन अनलाइन प्रणालीमार्फत दरखास्त दिएका थिए। फाराम भर्नेमध्ये ३ हजार ६७५ उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भए। यसबाट आयोगको परीक्षा पास गर्न झनै चुनौतीपूर्ण रहेको देखिन्छ। त्यसमा पनि सरकारी सेवामा अवसर पाउनेमा महिला १ हजार ९९ जना र पुरुष २ हजार ५७६ जना छन्।

सरकारी सेवामा बढ्दो आकर्षण

आयोगले निकालेको अथ्यांकअनुसार सरकारी सेवाप्रति युवामा आकर्षण बढ्दै गएको देखिन्छ। अघिल्लो आर्थिक वर्ष (आव २०७८/७९) मा परेको कुल दरखास्त संख्याभन्दा आव २०७८/७९ मा परेका दरखास्तको संख्या ३२.२३ प्रतिशतले बढी रहेको पाइएको छ। आव २०७८/७९ मा ३ लाख ६५ हजार ४३४ जनाबाट दरखास्त परेको थियो।

आयोगका अनुसार पछिल्लो १० वर्षमा आयोगमा सबैभन्दा कम दरखास्त आव २०७५/७६ मा परेको थियो। त्यस वर्ष १ लाख ४३ हजार ७५३ जनाबाट मात्र दरखास्त परेको थियो। यसैगरी सबैभन्दा बढी दरखास्त आव २०७३/७४ मा परेको थियो। त्यस वर्ष ८ लाख ४४ हजार २९७ जनाबाट दरखास्त परेको थियो। आव २०७९/८० मा ५०३ बढुवा सूचना, १४७ आन्तरिक प्रतियोगितात्मक परीक्षा, २९९ खुला प्रतियोगितात्मक परीक्षा र ६६७ वटा विभिन्न समावेशी गरी १ हजार ६१६ वटा विज्ञापन तथा बढुवा सूचना प्रकाशन गरिएको थियो।

परीक्षा दिने बाहुन–क्षेत्री बढी

आयोगले निकालेको तथ्यांकअनुसार लोकसेवा आयोगको परीक्षा दिनेहरूमा सबैभन्दा बढी बाहुन–क्षेत्री समुदायका छन्। आव २०७९/८० मा आयोगको परिक्षाका लागि दरखास्त दिनेमध्ये पहाडी समुदायका बाहुन मात्र २३ दशमलव ५६ प्रतिशत छन्। जबकि केन्द्रीय तथ्यांक विभागको पछिल्लो रिपोर्टअनुसार पहाडी समुदायको बाहुनको जनसंख्या कुल संख्याको ११ दशमलव २९ प्रतिशत छ। आयोगको परिक्षाका लागि फाराम भर्नेमा क्षेत्री समुदायको जनसंख्या १२ दशमलव ४१ प्रतिशत छ। परीक्षाका लागि दरखास्त दिनेमा सबैभन्दा कम समुदाय बराम समुदायका छन्। आव २०७९/८० मा बराम समुदायबाट शून्य दशमलव शून्य १ प्रतिशत व्यक्तिले मात्र आयोगको परीक्षाका लागि दरखास्त भरेका थिए।

सरकारी सेवामा किसानका छोराछोरी

आयोगको तथ्यांकअनुसार लोकसेवा आयोगको परीक्षामा सहभागी हुन किसानका सन्तति बढी छन्। आव २०७९/८० मा दिइएका कुल दरखास्तमध्ये ७९ दशमलव ६४ प्रतिशत दरखास्त कृषि पेसा अँगालेका बाबुआमाका सन्तति रहेको आयोगको रिपोर्टमा जनाइएको छ। दरखास्त दिएकामध्ये १० दशमलव ६४ प्रतिशत व्यक्तिका आमाबाबु मात्र व्यवसायमा संलग्न रहेको रिपोर्टमा जनाइएको छ। रिपोर्टअनुसार उक्त आवमा १ दशमलव ८५ प्रतिशत श्रमिकका छोराछोरीले आयोगको परिक्षाका लागि दरखास्त दिएका छन्।

प्रकाशित: १२ मंसिर २०८० ००:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App