२४ वैशाख २०८१ सोमबार
image/svg+xml
शिक्षा

नागरिककर्मी रौनियारलाई शिक्षा पत्रकारिता पुरस्कार

शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकत्सवको अवसरमा नागरिकर्मी रौनियारलाई शिक्षा पुरस्कार प्रदान गर्दै प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशी। तस्बिर: नागरिक

नागरिकर्मी रूबी रौनियार शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छिन्। सोमबार राजधानीमा आयोजित शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकत्सवको अवसरमा रौनियारलाई २५ हजार नगद र सम्मान पत्रसहित प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले सम्मान गरेका थिए।

पत्रकार रौनियारले विगत डेढ दशकभन्दा बढी समयदेखि शिक्षा पत्रकारितामा सक्रिय रही शिक्षाको विकास र रूपान्तरणमा पुर्‍याउँदै आएको योगदानको कदर गर्दै समाजले उनलाई पुरस्कृत गरेको हो। कार्यक्रममा शिक्षाका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने १० जना शिक्षासेवीलाई सम्मानपत्रसहित सम्मान गरेको छ।

सो अवसरमा काठमाडौं विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डिन डा. बालाचन्द्र लुइँटेल, केन्द्रीय बहिरा क्याम्पस नक्सालका प्रमुख ऋषिराम देवकोटा, पृथ्वी माविका प्रधानाध्यापक  बाबुराम लामिछाने, जापानको टोकियोस्थित नेपाली पाठ्यक्रम पठनपाठन गराउने एभरेष्ट इन्टरनेसनल स्कुललाई पनि सम्मानित गरिएको थियो।

साथै, शिक्षा क्षेत्रमै योगदान पुर्‍याउने बाल विकास प्रशिक्षक एवं अंकुर माविकी प्रधानाध्यापक सिर्जना पोखरेल, सिन्धुपाल्चोकस्थित तेस्रे माविका व्यवस्थापन समिति अध्यक्ष कृष्ण थापा, कैलाली-१ घोडाघोडीस्थित न्यू स्टार बोर्डिङ स्कुलका प्रअ परशुराम शर्मा भण्डारी, सप्तरीको कल्याणपुरस्थित भवानीप्रसाद सकलप्रसाद रामप्रसाद जनता माविका लेखापाल भगवती चौधरी, बेलायतस्थित पहार ट्रष्ट नेपालका निर्देशक एलन स्विट म्यान र आसमान नेपालका निर्देशक दिनेश्वर साहलाई सम्मानित गरिएको  थियो।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सरकारले विद्यालय शिक्षा विधेयक कार्यान्वयन गर्ने निकाय र सरोकारवालासँग छलफलनै नगरी ल्याउन लागेकोले समस्या आएको बताए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विधेयक हाल संसद्मा छलफलमा रहेको र सकेसम्म सबैको सुझावलाई समेटेर जाने बताए। कार्यक्रममा प्रतिनिधिसभाका प्रस्तुत विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि सरोकारबाला र विज्ञका धारणा प्रस्तुतीकरण गरिएको थियो।

प्रकाशित: १६ आश्विन २०८० ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App