जुम्लाको सिंजा गाउँपालिका – ६ जोडुमा अवस्थित श्रीमाध्यामिक विद्यालय लामो समयदेखि बाढीपहिरो प्रभावित विद्यालय हो। जोडु र भाडगाउँको बीचमा पर्ने जोखिमपूर्ण स्थानमा विद्यालय छ।
उक्त विद्यालय २०३२ सालमा स्थापना भएको हो। हरेक वर्ष साउन भदौँको बर्षसँग आउने बाढीपहिरोले विद्यालयका भौतिक संरचना बगाएर लैजाने गरेको प्रध्यानाध्यापक नरबहादुर बुढाले बताए । 'गाउँमा आएका विकासका बजेट सबै त्यो विद्यालयमा हालियो, तर दिगो भएन, बर्सेनि बगेको बगै भयो, 'उनले भने, 'हरेक वर्ष आउने बाढीपहिरोले दुख दिन थालेपछि विद्यालय दातँस्थित वडा कार्यालय नजिक विद्यालय सार्न तयारी गरेका छौँ। पुरानो स्कुल देखि करिब आधा घण्टा टाढा निर्माण हुदैछ।'
गतवर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तगर्त दुई कोठे भवन निर्माण भएको छ । अहिले वर्ष साँझेदारी सहयोग केन्द्र (पेस नेपाल) र प्लान इन्टरनेशनल नेपालको साँझेदारीमा सञ्चालित आधार परियोजना अन्र्तगत ४ कोठे भवन, ३ कोठे शौचालय र ६ वटा धारा भएको हातधुने स्थान निर्माण गर्न थालिएको छ। नयाँ विद्यालय सार्न थालिएको स्थानमा भवन बन्दै छन्। तर विद्यालयको पठनपाठन भने पुरानै बाढिपहिरोको जोखिमपूर्ण ठाउँको स्कूलमै पठनपाठन भईरहेको प्रध्यानाध्यापक बुढाले बताए।
उनका अनुसार नयाँ स्कूल सारिएको ठाउँमा भवन निर्माण भएपछि अर्को शैक्षिक सत्र बैशाखदेखि विद्यालय सार्ने तयारी गरिएकाे छ। अहिले पनि पुरानो विद्यालय भएको ठाउँमा ४ कोठे एउटा व्लक मात्रै बाँकी छ । त्यहि भवनमा विद्यार्थीको पठनपाठन भइरहेकाे छ। 'निकै समस्याका बाबजुत विद्यार्थीको पठनपाठन भईरहेको छ । वर्षाद भएको दिनमा कहिले स्कूल विदा गर्ने त, कहिले दिउसो विदा गर्ने गरेका छौँ' प्रधानाध्यापक बुढाले भने।
नयाँ ठाउँमा स्कूल सार्ने भनिएको ठाउँमा पनि गतवर्ष वर्ष निर्माण भएको दुई कोठे भवन र अहिले निर्माण हुन थालेको चार कोठे भवन गरी ६ कोठे दुई वटा भवन हुन्छन् । प्रधानाध्यापक बुढाेका अनुसार अझै ८ कोठे भवन अपुग हुन्छ । यस विषयमा गाउँपालिकामा पनि ध्यानाकर्षण गरेका छौँ । अपुग भवन पनि निर्माण हुने अपेक्षा गरिएको छ। अहिले विद्यालयमा २ सय ९८ विद्यार्थी अध्ययनरत छन् । यस्तै भौतिक संरचना अभाव भएका सामुदायिक विद्यालयमा भवन निर्माण गर्न थालिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए ।
उनले भने, 'सिंजा भेगका ३ गाउँपालिका सामुदायिक स्कूल भवन निर्माण गर्न थालिएको हो । हिमा गाउँपालिका – ३ जोगीवाडास्थित भैरव आधारभुत विद्यालयमा ४ कोठे भवन एक व्लक, ३ कोठे शौचालय र ६ वटा धारा निर्माण गर्न थालिएको छ।
हिमा गाउँपालिका – ४ माथिल्ला कुडुस्थित महादेव आधारभुत विद्यालयमा ४ कोठे भवन, शौचालय र हात धुने स्थान निर्माण गर्ने योजना छ । कनकासुन्दरी गाउँपालिका – ४ लेकपोरस्थित भैलेपाटा आधारभुत विद्यालयमा २ कोठे दुई व्लक विद्यालय भवन निर्माण गर्न थालिएको हो । यस्तै कनकासुन्दरी गाउँपालिका – ६ गोरुचौरस्थित श्रीआधारभुत विद्यालयमा ४ कोठे भवन, ३ कोठे शौचालय र ६ वटा धारा भएको हातधुने स्थान निर्माण गर्न थालिएको जनाएको छ ।
प्रकाशित: २५ भाद्र २०८० ०३:३४ सोमबार




