१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

आन्तरिक बढुवा प्रक्रिया रोकिएपछि वीपी प्रतिष्ठानका शिक्षकहरु आन्दोलित

वीपी प्रतिष्ठानका शिक्षकहरु बुधबार बिहान उपकुलपति कार्यालयअघि धर्नामा । तस्बीरः रोहित राई

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जारी रहेको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रिया रोक्न लोकसेवा आयोगले निर्देशन दिएपछि शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्।

प्रतिष्ठान पदाधिकारीकै षडयन्त्रबाट लोकसेवा आयोगले बढुवा प्रक्रियामा रोक लगाएको भन्दै शिक्षक कल्याण समाजको आह्वानमा शिक्षकहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन्। समाजले बुधबारदेखि दैनिकरुपमा बिहान ८ बजेदेखि ९ बजेसम्म उपकुलपति कार्यालयअघि शिक्षकहरु धर्नामा बस्ने कार्यक्रम घोषणा गरेको छ भने भदौ १३ गतेदेखि सबै शैक्षिक तथा परीक्षाका कार्यक्रमहरु बहिष्कार गर्ने पनि घोषणा गरेको छ। आन्दोलनको कार्यक्रम अनुसार बुधबार पहिलो दिन प्रतिष्ठानका शिक्षकहरुले उपकुलपति कार्यालयअघि धर्ना दिएका छन्।

शिक्षक समाजका अध्यक्ष डा.अध्यक्ष डा.सेराज अहमद खानले फ्याकल्टीहरुको ७ बर्षदेखि र कर्मचारीहरुको १२ बर्षदेखि बढुवा हुन नपाउदा पीडामा रहेको बताए। हाल ७ महिनादेखि बढुवा प्रक्रिया भइरहदा कायममुकायम उपकुलपतिले आयोगलाई रायको लागि पत्र पठाएपछि पुनः वृत्तिविकास नै रोकिने अवस्थामा पुगेकोले आन्दोलनमा उत्रिनु बाध्य परेको बताए। ‘पहिला ३, ३ महिनामा बढुवा खुल्थ्यो, अहिले ५, ६ बर्षदेखि खुलेकै थिएन। पैसाको कुरा होइन, व्यक्तिको वृत्तिविकासको कुरा हो, ’उनले भने, ‘हाम्रो एउटै माग छ, चलिरहेको बढुवा प्रक्रिया सुचारु गर्नुस्, र छिटो बैठक बसाएर रिजल्ट निकाल्न आह्वान गछौं।’

पठनपाठन र परीक्षा बहिष्कारको बिषयमा आफुहरु संवेदनशील रहेको पनि डा.खानले बताए । उपचार सेवालाई बन्द नगरेको भन्दै उनले दबाबको लागि पठनपाठन र परीक्षा कार्यक्रमलाई मात्र बहिष्कार गरेको उनको भनाई छ। ‘विरामीको सेवा सम्पुर्ण सुचारु छ । पठनपाठन त पछि हामी राती डबल टाइम गरेर, छुट्टीको समय गरेर भएपनि कभर गर्नसक्छौं,’उनले थपे।

प्रतिष्ठानका एडिस्नल प्रोफेसर डा. रविन मास्केले आफ्नै पनि प्रमोशन विगत ८ बर्षदेखि हुन नसकेको भन्दै चाडो समस्याको निकास दिन कामु उपकुलपतिलाई आग्रह गरे । वेवस्ता गरेमा थप कडा आन्दोलन गर्न पनि बाध्य हुने उनले चेतावनी दिए। ‘यो मेरो मात्र कुरा होइन, १३० जना फ्याकल्टी र १२ सय कर्मचारीको हकको कुरा छ। नसक्ने हो भने ४ जनाले कुर्सी छोडे हुन्छ, अति भइसकेको छ,’उनले भने।  

 

एसोसिएट प्रोफेसर डा.सन्दिप साहले प्रतिष्ठान आफै विश्वविद्यालय भएकोले लोकसेवासँग राय, सुझावसँगै सहमति गरेर विज्ञापन खुलेर प्रक्रिया अघि बढेको र स्थगित भएको औपचारिक सुचना नभएकोले प्रक्रिया रोक्न नमिल्ने बताए। कार्यकारिणी समितिभन्दा माथि कायममुकाय उपकुलपति नहुने भएकोले ४ जना पदाधिकारीहरु लोकसेवा गएर निर्णय सच्याउन लगाएर प्रक्रिया बढाउनुपर्ने शिक्षक कल्याण समाजको बटमलाइन भएको पनि नउले बताए।  

 

प्रतिष्ठानमा विगत ७ महिनादेखि आन्तरिक बढुवा एवं पदपूर्ति प्रक्रिया जारी थियो । तर, प्रतिष्ठानमा नयाँ कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्की आएपछि उक्त प्रक्रिया स्थगित भएको थियो। बढुवा प्रक्रिया रोकिदा लामो समयदेखि आन्तरिक बढुवा तथा पदपूर्ति नहुदा वृत्ति विकास हुन नपाएर निराश बनेका थिए। कामु उपकुलपति डा.कार्कीले बढुवा प्रक्रिया रोकेर लोकसेवा आयोगसँग राय मागेका थिए।  

आयोगले शिक्षक सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली २०७९ को प्रस्तावित मस्यौदामा आयोगबाट परामर्श भएका आधारभूति बिषयमा फेरबदल नहुने सुनिश्चिततासहित नियमावली स्वीकृत गरी आयोगबाट सहमति लिएर मात्र पदपूर्तिको आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरेको थियो। आयोगको यो निर्णयको पत्र सोमबार प्रतिष्ठानमा आएपछि शिक्षक कल्याण समाजको आकस्मिक बैठक बसेर आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको थियो। समाजले यसअघि भदौ ६ गते पनि कामु उपकुलपति कार्कीलाई ज्ञापनपत्र बुझाउदै बढुवा प्रक्रिया अघि बढाउन माग गेका थिए।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव कुमार शर्माले अपिल जारी गर्दै पठनपाठन एवं विरामीहरुको स्वास्थ्य उपचार सेवामा दिनरात तल्लिन प्रतिष्ठानका सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुको समय सापेक्ष नियमानुसार वृत्तिविकास हुनुपर्छ भन्ने कुरामा दुई मत नरहेको र नरहने प्रतिवद्धता जनाएका छन्।

शिक्षाध्यक्ष डा.शर्माले प्रतिष्ठानमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुको भविष्यलाई मध्यजनर राख्दै शिक्षकहरुका आफ्ना हकहितका कदमहरु अगाडि बढाउन पनि अनुरोध गरेका छन् । विद्यार्थीहरुको पठनपाठन र परीक्षा जस्तो बिषयको गम्भीरतालाई बुझेर पठनपाठन र परीक्षाका पुर्वनिर्धारित कार्यक्रमहरु यथावत सञ्चालन गर्न, गराउन पनि शिक्षाध्यक्ष डा.शर्माले शिक्षकहरुलाई अपिल गरेका छन्। उनले भने,‘मैले शिक्षकहरुलाई अनुरोध गरेको छुँ, पठनपाठन र परीक्षाहरु विद्यार्थीसँग सम्बन्धित भएकोले पुर्नविचार गर्नुस् भनेको छुँ । शिक्षक बुद्धिजिवि हुनुहुन्छ, पठनपाठन र परीक्षाको कार्यक्रम नियमित हुन्छ भन्ने विश्वास लिएको छुँ।’

प्रकाशित: १३ भाद्र २०८० ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App