१३ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

स्थानीय पाठ्यक्रम ‘त्रियुगा ज्ञानमाला’ को पठनपाठन सुरु

सदरमुकाम त्रियुगा नगरपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक तयार गरेर नगरभित्र पठनपाठन सुरु गरेको छ।

नगरपालिकाले स्थानीय विषयवस्तु र आवश्यकताको आधारमा तयार पारेको ‘त्रियुगा ज्ञानमाला’ पाठ्यपुस्तक नगरभित्रका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा पठनपाठन गर्न अनिवार्य गरेको हो।

नगरवासी बालबालिकालाई स्थानीय विषयवस्तुको बारेमा तल्लै तहदेखि जानकारी गराउने उद्देश्यले चालु शैक्षिक वर्षदेखि लागू हुने गरी पाठ्यपुस्तक तयार गरी पठनपाठन गराइएको नगरप्रमुख वसन्त बस्नेतले बताए। उनका अनुसार नगर शिक्षासँग सम्बन्धित यो पाठ्यपुस्तक कक्षा १ देखि ५ सम्म पठनपाठन गराइने छ।

नगरपालिकाले केही दिनयता नगरभित्रका सबै संस्थागत र सामुदायिक विद्यालयमा पठनपाठन गर्न निर्देशनसहित पाठ्यपुस्तक उपलब्ध गराएको छ। जस अनुसार नगरभित्र सञ्चालित सबै विद्यालयले पाठ्यपुस्तक अनिवार्य पठनपाठन गराउनुपर्ने प्रावधान काम गरेको मेयर बस्नेतले बताए।

एक सय पूर्णाङ्कको यो पुस्तकमा नगरभित्रका १६ वटै वडाका ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पशुपालन तथा अन्य विविध विषयहरू समेटिएको छ। नगरपालिकाभित्रका सबै वडा, स्थान विशेष, इतिहास, राजनीति, शिक्षा, संस्कार संस्कृति, धर्म परम्पराको परिचय पुस्तकमा समेटिएको छ।

नगरवासी बालबालिकालाई आफ्नो गाउँ ठाँउको सबै पक्षको चिनारी गराउँदै त्यसपति जानकारी र अभ्यस्त पार्न पाठ्यपुस्तकले सहयोग गर्ने अपेक्षा गरिएको मेयर बस्नेतले बताए। 

पाठ्यपुस्तक तयार गर्नुअघि सबै वडाका शिक्षाविद्, बुद्धिजीवी, जनप्रतिनिधि, इतिहास, राजनीति, समुदाय र धर्म संस्कारबारे जानकार राख्ने सरोकारवालाहरुसँग अन्तरक्रिया र छलफल गरेर पाठ्यपुस्तक तयार पारिएको उनले बताए।

यो पुस्तक विद्यार्थीका लागि चाखलाग्दो र आकर्षक पनि हुने अपेक्षा गरेको बस्नेतले बताए। भौगोलिक क्षेत्रफलको हिसाबले ठुलो नगरपालिका त्रियुगाका बालबालिकालाई एउटै पुस्तकले धेरै ज्ञान आर्जन गराउने अपेक्षा पनि उनको छ।

नगर उपप्रमुख महेश्वरी राईले आधारभूत तहका विद्यार्थीलाई स्थानीय पाठ्यपुस्तक लागू गरेपछि स्थानीय विषय बस्तुबारे जानकारी लिन सहज हुने बत्ताइन्। हरेक स्थानीय सरकारले स्थानीय विषयवस्तु र आवश्यकता अनुसार यस्ता पाठ्यपुस्तक, पाठ्यक्रम र पाठ्य सामग्री बनाएर लागू गर्दा बालबालिकालाई फाइदा पुग्नेमा आफू विश्वस्त रहेको बत्ताइन्।

नगर शिक्षा अधिकृत शिवकुमारी राउतका अनुसार सो पाठ्यपुस्तक नगरपालिकाभित्र सञ्चालित ६६ नेपाली माध्यम, ४ वटा मुस्लिम (मदरसा) र एउटा गुरुकुल (संस्कृत) सहित ७१ वटा सामुदायिक विद्यालयमा वितरण भइरहेको छ। 

त्यस्तै ४४ वटा संस्थागत (निजी) विद्यालयलाई पनि पाठ्यपुस्तक वितरण गर्ने काम भइरहेको राउतले बत्ताइन्। सभ्यता अध्ययन केन्द्र काठमाडौँको संपादनमा जनक शिक्षा सामग्री केन्द्रमा छापिएको २२ हजार थान पुस्तक प्रकाशनमा नगरपालिकाको बजेट लगानी भएको अधिकृत राउतले बताएकी छिन्।

प्रकाशित: ११ भाद्र २०८० १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App