१३ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

प्रविधिमैत्री बनाइँदै विद्यालय

फाइल तस्वीर

अर्घाखाँचीको सन्धिखर्क-२ शंखेटारीस्थित भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ।

विद्यालयका पूर्व विद्यार्थीको पहलमा सूर्य नेपाल नामको संस्थाले कम्प्युटर, ल्यापटप, प्रोजेक्टर लगायतका ती मूल्य बराबरका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो।

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन तथा समयसापेक्ष शिक्षा प्रदान गर्न विद्यालयका पूर्व विद्यार्थी सरकारका सहसचिव बाबुराम गौतम, कानुन उपसचिव हरिहर पौडेल, पूर्व विद्यार्थी नारायण गौतम, अनिल भुसाल लगायतको पहलमा उक्त सामग्री विद्यालयलाई प्रदान गरियो।

आफूले पढेको विद्यालयमा केही सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वृद्धि गर्न प्रविधीमैत्री सामग्री हस्तान्तरण गरिएको विद्यालयका पूर्व विद्यार्थी तथा सामग्री ल्याउन पहल गरेका बाबुराम गौतमले बताए।

फ्लाक्स बोर्ड, क्यामेरा, पाँच वटा डेक्सटप कम्प्युटर, चार वटा प्रिन्टर, चारवटा ल्यापटप, दुईवटा टिभी, एक वटा इन्भटर र एक वटा इन्भटरको ब्याट्री लगायतका सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसाल र विद्यालयका प्रधनाध्यापक ध्रुव केसीलाई हस्तान्तरण गरिएको छ।

पूर्व विद्यार्थीको पहलमा विद्यालयमा अत्यावश्यक सामग्री प्राप्त भएको र यसले विद्यालयको पठनपाठनमा धेरै सजिलो हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालले बताए।

उनले प्रविधिको प्रयोग गरेर विद्यार्थीलाईृ अध्यापन गराउन सहयोग पुग्ने र विद्यालयको गणस्तरमा पनि वृद्धि हुने अपेक्षा रहेको बताए।

पछिल्लो समयमा सामुदायिक विद्यालयको गुणस्तर खस्किरहेको समयमा पनि यस विद्यालय जिल्लामै सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयको सूचीमा पर्ने गर्दछ। यो विद्यालय गत वर्षको एसइई परीक्षाको नतीजामा सामुदायिक विद्यालयतर्फ प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका शिक्षक शोभाखर पन्थीले बताए।

शिक्षाका कारण बसाइँसराइ बढेर गाउँका सामुदायिक विद्यालय खाली हुँदै गइरहेका छन्। सामुदायिक विद्यालय खाली भइरहेको समयमा विद्यार्थीलाई आधुनिक तरीकाबाट शिक्षा प्रदान गर्न आवश्यक रहेको जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय कार्यालयका प्रमुख जीवनारायण कोइरालाले बताए।

उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न र प्रविधिमैत्री बनाउन सबै लाग्नुपर्ने बताए।

२०१७ सालमा स्थापना भएको यस विद्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा १२ सम्म झण्डै सात सय विद्यार्थी छन्। जिल्लाकै कानुन विषयको अध्यापन हुने यस विद्यालयमा शिक्षा, मानविकी, व्यवस्थापन कानुन विषयका कक्षा सञ्चालन भएको विद्यालयका प्रधनाध्यापक ध्रुव केसीले बताए।

सामग्री हस्तान्तरण कार्यक्रममा सन्धिखर्क-२ का वडा अध्यक्ष मोतिजङ रायमाझी, पूर्व प्रधानाध्यापक नरेन्द्रकुमार क्षेत्री,  मुकुन्दराज आचार्य, भविश्वर खनाललगायतको उपस्थिति रहेको थियो।  

प्रकाशित: २४ श्रावण २०८० ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App