१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

कृषि पढ्ने विद्यार्थी घटे

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेललाई रामपुरको कृषि क्याम्पसमा भर्ना हुन निकै मेहनत गर्नुपरेको थियो। कृषि शिक्षामा निकै थोरै कोटा हुन्थ्यो। पढ्न चाहने विद्यार्थीको संख्या निकै धेरै हुन्थ्यो। सो समयमा प्रवेश परीक्षा पास गर्न कठिन हुने गरेको पौडेलले बताए। ‘म रामपुरमा सन् २००६ मा भर्ना भएको थिएँ। त्यतिखेर प्रवेश परीक्षा दिने हजारभन्दा माथि थिए। विद्यार्थी कोटा १ सय ५० मात्र थियो’, विगत सम्झँदै उनले भने, ‘त्यतिखेर रामपुरमा पढ्न पाउनु नै ठूलो कुरा हुन्थ्यो।’

यसरी नै विगतका वर्षमा कृषि शिक्षामा विद्यार्थी आकर्षण अत्यधिक हुने गरेको थियो। तर, हिजोआज कृषि शिक्षा पढ्ने विद्यार्थीका संख्या न्यून छ। विश्वविद्यालयको आवश्यक कोटा पनि पूरा नभएको कृषि वन विज्ञान विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक डा. ईश्वरीप्रसाद कडरिया बताउँछन्। ‘क्याम्पसलाई प्रवेश परीक्षा दिने विद्यार्थीको चाप थाम्न मुस्किल हुन्थ्यो। कुनै वर्ष ५ हजारसम्मले प्रवेश परीक्षा दिएको रेकर्ड छ’, उनले भने, ‘अहिले विद्यार्थी नभएर कोटासमेत पूरा भएको छैन।’

नेपालमा बिएस्सी एजी पढाइ हुने क्याम्पस १६ वटा छन्। त्यसमा ९ वटा सरकारी र ७ वटा निजी क्याम्पस छन्। त्यसमध्ये सबै क्याम्पसमा कोटा खाली छ। ७ वटा निजी क्याम्पसमा विद्यार्थीको संख्या शून्य छ। सरकारी क्याम्पसमा पनि विद्यार्थीको संख्या न्यून रहेको कडरियाले बताए। ९ वटा सरकारी क्याम्पसको ५५४ र सातवटा निजी क्याम्पसको कोटा ३५० गरी ९३४ विद्यार्थीको कोटा रहेको छ। तर, हाल ३५० जना विद्यार्थीले मात्र पढेका छन्। हाल पढिरहेका विद्यार्थी पनि सरकारी क्याम्पसकै हुन्। अझै सरकारी क्याम्पसको २३४ कोटा खाली रहेको उनले बताए।

५४ जनाको कोटा रहेको दैलेखको दुल्लुमा स्नातक तहको पहिलो वर्षमा कृषि पढ्ने विद्यार्थीको संख्या शून्य छ। यो क्याम्पस सरकारी हो। कृषि वन विज्ञान विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा समेत आवश्यक सिट संख्या पुग्न सकेको छैन। १७६ सिट संख्या रहेको क्याम्पसमा १२७ जनाले मात्र पढिरहेका छन्। कास्कीको परञ्चौरमा रहेको कृषि क्याम्पसमा कृषि पढ्ने विद्यार्थीको सिट संख्या ५४ थियो। त्यहाँ ४८ जनाले मात्र पढिरहेका छन्। ५४ सिट संख्या रहेको महोत्तरीको बर्दिवासमा २२ जना मात्र विद्यार्थी छन्। ५४ सिट संख्या रहेका धनकुटा र कैलालीमा क्रमशः ३२–३१ जना विद्यार्थीले पढिरहेका छन्। खजुरामा २९ र रोल्पामा २१ विद्यार्थी भर्ना भएका छन्। भर्ना भएकामध्ये पनि बीचमै छाड्ने विद्यार्थी संख्या बढी नै रहेको छ।

वीरेन्द्रनगर, ललितपुर, नवलपरासी, झापा, सुनसरी, बाँके र नवलपुरमा रहेका ७ वटा क्याम्पसले कृषि पढाउनका लागि सम्बन्धन प्राप्त गरेका छन्। यी क्याम्पसको सिट संख्या ३५० थियो। तर, अहिले विद्यार्थीको संख्या शून्य रहेको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक कडरियाले बताए।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा हुने राजनीतिक बेथिति, विदेश मोहलगायतका कारणले पनि विद्यार्थीको संख्या घट्दै गएको आकलन गर्न सकिन्छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका डिन प्रा.डा. अर्जुन श्रेष्ठ देशैभरि स्नातक पढ्ने विद्यार्थीको चाप घट्दै गएको बताउँछन्। ‘देशमा कक्षा १२ पढेपछि बाहिर जान थाले। सबै विश्वविद्यालयमा स्नातक तह पढ्ने विद्यार्थीको संख्या घट्दो छ’,उनले भने, ‘त्रिविले अधिकांश क्याम्पस समायोजन गर्दै छ।’ यद्यपि सुधारका कृषिमा विद्यार्थीको आक्रषण बढाउने खालका योजना विश्वविद्यालयले बनाएको उनले बताए। कक्षा १२ को नतिजा प्रकाशित भएको दुई महिनाभित्रै प्रवेश परीक्षा लिन्छौं र भर्ना अभियान थाल्छौं, उनले भने, ‘हाम्रा पाठ्यक्रम र पढाइ पनि राम्रो छ।’

कृषि तथा वन विज्ञान विश्वविद्यालय २०६७ सालमा स्थापना भएको हो। यसको मुख्य कार्यालय चितवनको रामपुरमा छ। कृषि, पशु, मत्य र वन विज्ञानको पढाइ मात्र सञ्चालन गर्ने गरी सरकारीले विश्वविद्यालय खोले पनि अन्य विश्वविद्यालयलाई पनि कृषि पढाउन अनुमति दिँदा समस्या आएको उनले बताए। ‘संस्कृत विश्वविद्यालयले समेत कृषि विषय पढाउन थालेका छन्। यसरी अनुमति दिने भए कृषि विश्वविद्यालयको अवधारणा किन ल्याउनुपथ्र्यो’, उनले भने, ‘यसतर्फ सरकार अगाडि बढ्नुपर्छ।’

शिक्षा सरकारको प्राथमिकतामा नपर्नु र वर्तमान विश्वविद्यालयका पदाधिकारीले पनि त्यसमा त्यति चासो नदिँदा समस्या आएको बताउने गरिन्छ।

प्रकाशित: ६ श्रावण २०८० ०२:३३ शनिबार