५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

विद्यालयले खरिद गरिएको शैक्षिक सामग्रीमा हिन्दी भाषा

विद्यालयले खरिद गरेको हिन्दी भाषामा लेखिएको शैक्षिक सामग्री। तस्बिरः महेश्वर

उदयपुरको एक विद्यालयले हिन्दी (भारतीय) भाषामा लेखेको शैक्षिक सामग्री खरिद गरेको पाइएको छ। जिल्लाको ताप्ली गाउँपालिका ४ स्थित आधारभूत विद्यालय थुम्की सिपल बजारमा खरिद गरी ल्याइएको शैक्षिक सामग्रीहरु सबै हिन्दी भाषामा लेखिएको छ।

विद्यालयले खरिद गरी ल्याएको शैक्षिक सामग्रीको नाम हिन्दी भाषामा उल्लेख गरेको पाइएको छ। चार्टमा रातो रङलाई ‘लाल’ भनेर उल्लेख गरिएको छ भने पहेँलाेलाई ‘पला’, कालेलाई ‘काला’ लेखिएको छ। त्यसैगरी जनावर अंकित अर्को सामग्रीमा पनि हिन्दी भाषामै लेखेको पाइएको छ। जनावर चिनाउने नाममा गोरुलाई ‘बैल’, बाख्रालाई ‘बकरी’, कुकुरलाई ‘कुत्ता’ भनेर लेखिएको छ।

बालबालिकालाई विभिन्न बस्तु, रङ, जनावर र सामानहरुको नेपाली नाम चिनाउन प्रयोगमा ल्याइने यस्ता सामग्री नै हिन्दी भाषामा लेखेको पाइएपछि स्थानीय अभिभावकले विरोध गरेका छन्। उनीहरुले प्रधानाध्यापक (प्रअ) एकराज पोखरेलले गैरजिम्मवारी तरिकाले काम गरेको गुनासो गरेका छन्। अभिभावकहरुले प्रअ पोखरेलले अनियमितता गरेको समेत आशंका गरेका छन्। थोरै मूल्यमा सामग्री खरिद गरेर भ्रष्टाचार गरेको हुनसक्ने भन्दै अहिले सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ।

गाउँपालिकाका अनुसार सो विद्यालय पालिकाभरीकै नमूना प्रारम्भिक बाल विकास केन्द्रको रुपमा घोषणा गरेर बालबालिकाको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामग्री र फर्निचर खरिद गर्न बजेट व्यवस्था गरिएको बताइएको छ। तर, आवश्यक शैक्षिक सामग्री खरिद गर्न विनियोजित बजेटबाट खरिद भएका सामग्रीका नाम हिन्दीमा लेखेको पाइनुले प्रअ पोखरेलले भ्रष्टाचार गरेको आरोपसमेत अभिभावकले लगाएका हुन्।

गाउँपालिकाले दिएको ५ लााख अनुदान रकमबाट खरिद गरिएका सामग्रीका नाम सबै हिन्दीमा लेखिएको हुनाले कम मूल्यमा खरिद गरी बढी बील देखाई २ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोप उनीहरुको छ। शैक्षिक सामग्री तथा फर्निचरलगायत खरिदमा भ्रष्टाचार गरेको अभिभावकहरुको आरोप छ। प्रअ पोखरेलले आफुखुसी गाउँपालिकाबाट विनियोजित ५ लाखको सामान खरिद गरेको पनि उनीहरुको आरोप छ। प्रअ पोखरेलले दमक पुगेर खरिद गरेको सामग्रीमा कमजोरी पाइएको भन्दै आत्म आलोचना गरेका छन्। हतारमा काम गर्दा कमजोरी भएको भन्दै उनले केही सामान फिर्ता गरेर अर्को मगाएको तथा बढी पैसा फिर्ता लिएको बताए।

ताप्ली ४ का वडाध्यक्ष उमेश मगरले प्रअबाट कमजोरी भएको भन्दै सुधार गर्न सचेत गराएको बताए। सामग्री खरिद गर्दा यस्तो गल्ती कसरी हुन गयो भन्ने बारे विस्तृत जानकारी वडालाई बुझाउन प्रअलाई पत्राचार गरेको पनि उनले बताए। वडाध्यक्ष मगरले स्थानीय सचेत युवाहरुले यसबारेमा प्रश्न उठाएपछि अभिभावकहरु पनि सचेत भएर सामग्री प्रश्न उठाएको बताए।

गाउँका विद्यालयहरुमा हुने यस्ता गलत क्रियाकलापका बारेमा सचेत हुन नसके जनताका लागि आएको बजेट गुपचुप भ्रष्टाचार र दुरुपयोग हुने भएकाले आफूहरुले चासो दिएर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रश्न उठाएको स्थानीय युवराज राईले बताए। आफूहरुले चासो देखाएपछि वडाध्यक्ष, सदस्यहरु, गाउँपालिका शिक्षा शाखालगायत कर्मचारी र जनप्रतिनिधिको नजर पुगेपछि अहिले छलफल र बहसको विषय हुन पुगेको उनले बताए।

गाउँपालिका अध्यक्ष ढुंगराज बिकले विद्यालयमा नमुना प्रारम्भिक बाल विकास कक्षा ब्यवस्थापन गर्ने उदेश्यलिे शैक्षिक तथा खेलकुद सामग्री, फर्निचरलगायत खरिद गर्न दिइएको बजेटको दुरुपयोग भएको खवर आएको बताए। त्यसबारे आवश्यक जानकारी लिने काम भईरहेको र गलत भएको भए प्रअलगायत सरोकारवालाहरुमाथि कानुनी कारबाही गर्न गाउँपालिका पछि नपर्ने पनि अध्यक्ष विकले बताए। हालसम्म यसबारे उजुरी नआए पनि सार्वजनिक रुपमा अभिभावकहरुबाट प्रश्न उठिसकेकाले छानविन गरेर निश्कर्षमा पुग्ने उनले बताए।  

प्रकाशित: १ श्रावण २०८० १०:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App