१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

विषयगत शिक्षक नहुँदा खस्कियो नतिजा

मंगला गाउँपालिका–१ पूर्ण गाउँस्थित राष्ट्रिय जनजागृति मावि। तस्बिर: नागरिक

म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँस्थित राष्ट्रिय जनजागृति माविमा माध्यमिक तहको गणित शिक्षक रिक्त भएको तीन महिना भयो। प्रधानाध्यापक टेक राम्जालीले आफ्नो सामाजिक सञ्जालमा गणित विषयका शिक्षकको खोजीमा १० औं पटकसम्म विज्ञापन गर्दा समेत शिक्षक नपाएको गुनासो गरे।

सामाजिक सञ्जाल र पत्रिकामा गरी ९ पटकसम्म विज्ञापन गर्दा समेत शिक्षक नपाएपछि प्रअ राम्जालीले अब विज्ञापनको बाटो बन्द गर्ने घोषणा गरे। 

विगत दुई शैक्षिक सत्रमा विज्ञान, अंग्रेजी र गणित विषयका शिक्षकको अभावको नमिठो अनुभव झेलेका प्रअ राम्जालीले विषयगत शिक्षक पाउनु फलामको चिउरा चपाएजस्तै भएको बताए।

‘विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ, एसइईको नतिजामा समेत झड्का लागेको छ’ प्रअ राम्जालीले भने। 

उनले विषयगत शिक्षकको अभावले आधारभूतदेखि मा.वि तहसम्म विद्यार्थीको सिकाइ उपलब्धिसमेत कमजोर बन्दै गएको बताए।

यस वर्षको एसइईमा विद्यालयबाट सहभागी भएका विद्यार्थी १ दशमलव ५५ देखि २ दशमलव ८० जिपिए लिएर उत्तीर्ण भएका छन्। समग्र जिल्लाभरको औसत जिपिएमा ७४ विद्यालयमा ३७ औं र पालिका स्तरमा दोस्रो भएको विद्यालयले भौतिक पूर्वाधारमा फड्को मारे पनि विषयगत शिक्षकको अभावले शैक्षिक योजना अनुसारको प्रगति प्राप्त गर्न सकेको छैन।

म्याग्दीको बेनी नगरपालिका सहित ५ वटै गाउँपालिकामा गणित, अंग्रेजी तथा विज्ञान विषयका शिक्षकको अभावले शैक्षिक गतिविधि अस्तव्यस्त भएको छ। बेनी नगरपालिकाको सहरी क्षेत्रका विद्यालयमा समेत विषयगत शिक्षकको अभाव देखिएको छ भने ग्रामीण क्षेत्रका विद्यालयले शिक्षक पाउनै मुस्किल छ।

‘सबै पालिकाभित्रका सामुदायिक विद्यालयमा यो समस्या छ,‘नयाँ शैक्षिक जनशक्ति तयार नहुने र पुरानाले मात्रै ठेग्न सक्ने अवस्था छैन’ शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले भने। 

उनले यस पटकको एसइई परीक्षामा प्रगति नहुनुको पछाडिको मुख्य कारण भनेको विषयगत शिक्षक अभाव नै रहेको बताए। पछिल्लो पाँच वर्ष यता एसइई नतिजा खस्किँदै गएको छ। एउटै विद्यालयले १० पटकसम्म शिक्षकको खोजीमा सूचना निकाल्नुपर्ने अवस्था देखिएको भन्दै स्थानीय तहले विषयगत शिक्षकको संख्या बढाउने कार्यक्रमहरू प्रोत्साहन गर्नुपर्ने बताए।

‘अगामी वर्ष नतिजामा सुधार ल्याउन विषयगत शिक्षकको अभाव हटाउनुपर्छ, विषयगत नतिजा विश्लेषणमा मुख्य विषयमै विद्यार्थीको अवस्था नाजुक छ’ प्रमुख थापाले भने।

सामुदायिक विद्यालयका विद्यार्थीको शिक्षण सिकाइ र गुणस्तर अभिवृद्धिमा स्थानीय सरकारले पर्याप्त ध्यान नदिँदा नतिजा कमजोर देखिएको छ। शिक्षा आयोगबाट सिफारिस भएका शिक्षकले समेत ग्रामीण क्षेत्रमा विद्यार्थीको संख्या कम हुने भएको भन्दै पहुँच देखाएर सहर केन्द्रित गर्ने कार्यमा स्थानीय पालिकाहरू नै सहयोगी बन्दा झनै समस्या देखिएको प्रअहरूको गुनासो छ।

केही वर्ष अगाडी म्याग्दी बहुमुखी क्याम्पसले विषयगत शिक्षकको अभावलाई समाधान गर्न नियमित गरेको विभिन्न कार्यक्रमहरूलाई म्याग्दीका स्थानीय तहले नै बेवास्ता गरेका थिए। म्याग्दी बहुमुखी क्याम्पसलाई स्थानीय तहले प्रोत्साहन गर्न सकेमा अभाव पूरा गर्न सकिने सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताए।

उनले जिल्लामा आवश्यक पर्ने शैक्षिक जनशक्ति तयार गर्न सकिने भएपनि सम्बन्धित निकायबाट आवश्यक सहयोग नहुँदा विगतका कार्यशाला गोष्ठी सहितका गतिविधिहरू नतिजामुखी नभएको बताए।

सइईको नतिजा ५ वर्षकै कमजोर

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा खस्केको छ। गत वर्षको तुलनामा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या घट्दो र तल्लो ग्रेड (स्तरीकृत अंक) ल्याउने विद्यार्थीको संख्या घट्दो क्रममा रहेको पाइएको हो।

कोरानाकालमा आन्तरिक मूल्याङ्कनबाट सार्वजनिक गरिएको बाहेक चार वर्षे नतिजा विश्लेषणमा जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या प्रत्येक वर्ष घट्दो क्रममा रहेको देखिन्छ।

शिक्षा विकास तथा समन्वय इकाईले माध्यमिक शिक्षा परीक्षा २०७९ को म्याग्दी जिल्लाको नतिजाको तुलनात्मक अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा शैक्षिक सत्र २०७४ मा कुल परीक्षामा सहभागी भएका विद्यार्थीहरू मध्ये २.१० प्रतिशत विद्यार्थीले ३.६–४.० जिपिए प्राप्त गरेकोमा शैक्षिक सत्र २०७९ मा १.११ प्रतिशत विद्यार्थीहरूले मात्रै उक्त जिपिए प्राप्त गरेको अवस्था छ।

२०७४ सालमा परीक्षा बोर्डले एसइई सञ्चालन गरेको परीक्षाको नतिजा र २०७९ सालमा बोर्डले सञ्चालन गरेको परीक्षाको नतिजा तुलनात्मक रूपमा अध्ययन गर्दा समग्रमा विद्यार्थीको सिकाइ स्तर खस्केको प्रस्ट भएको छ।

चार वर्षको नतिजा विश्लेषणमा हरेक वर्ष एसइईमा सहभागी हुने विद्यार्थी संख्या समेत घट्दै गएको देखिन्छ। २०७९ सालमा ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म ७१ जना उत्तीर्ण भएका छन्।

गत वर्ष ९० जना विद्यार्थी यो जिपिए ल्याएको देखिन्छ। जिपिए २ दशमलव ८० देखि ३ दशमलव २० सम्म ल्याउनेमा यस पटक १७३ विद्यार्थी छन्। गत वर्ष ४२३ विद्यार्थी थिए।

यस्तै, जिपिए २ दशमलव ४१ देखि २ दशमलव ८ सम्म यस वर्ष ३ सय ८१ विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष यो श्रेणीमा ५८१ उत्तीर्ण भएका थिए। जिपिए २ दशमलव १ देखि २ दशमलव ४० सम्म प्राप्त गर्ने यस वर्ष ५७९ विद्यार्थी छन्। गत वर्ष ६५२ जना विद्यार्थी थिए। जिपिए ० दशमलव ७ देखि १ दशमलव २ सम्मको नतिजामा समेत गतबर्षको भन्दा यस बर्षको कमजोर छ।

प्रकाशित: २६ असार २०८० १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App