१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

भक्तपुरको जनज्योति पुस्तकालयमा इ-लाइब्रेरी

भक्तपुरको जनज्योति पुस्तकालयमा इ-लाईब्ररी (विद्युतीय पुस्तकालय) को शुभारम्भ गरिएको छ। शुभारम्भसँगै विभिन्न अनुसन्धानकर्ता, थेसिस लेखक, अध्ययनकर्तालाई सहज भएको छ।

यो पुस्तकालय भक्तपुर नगरपालिका वडा नं २ नःपुखू (पोखरी) उत्तरी क्षेत्रमा रहेको छ। एक रोपनी भन्दा बढी क्षेत्रफलको पर्ती जग्गाको तीन तल्ले भवनभित्र पुस्तकालय रहेको छ। पुस्तकालय यसअघि भक्तपुर नगरपालिका वडा नं २ दरबार क्षेत्रमा थियो। स्थान अभाव भएपछि यसलाई २०७५ साल जेठ ७ गते एक भव्य कार्यक्रम गरी नयाँ भवनमा स्थानान्तरण गरिएको थियो। पुस्तकालय भने २००७ सालमा स्थापित भएको थियो। यो भक्तपुरकै सबैभन्दा ठुलो पुस्तकालय हो।

इ-लाइब्रेरी भन्नाले डिजिटल फर्म्याटमा तयार गरिएको पाठ्य सामग्री हो। यसले पाठ्यपुस्तकको मात्रै नभई विभिन्न अध्यापन तथा अनुसन्धानसँग सम्बन्धित श्रव्य, रेखाचित्रहरू तथा दृश्य चित्र सामाग्रीहरू पनि उपलब्ध गराउँछ। साथै पढ्न र डाउन लोड गर्न पनि अनुमति दिन्छ। इ-लाइब्रेरी मुख्यतः इन्टरनेटमार्फत पढिने पाठ्य सामाग्रीहरूको सुविधा हो।

यसको प्रयोग कम्प्युटर, ट्याब्लेट ल्यापटप, स्मार्टफोनमा पनि गरेर सयौँ प्रकारका विषयहरूको सहजै अध्ययन गर्न सकिने सुविधा प्रदान गर्दछ।

यो पुस्तकालय भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएको हो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ पुस्तालाई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले जनज्योति पुस्तकालयको स्तरोन्नतिलाई ध्यानमा राख्दै इ-लाइब्रेरीको सुरुवात गरिएको बताए।

जिल्लाका धेरै पुस्तकालय बन्द हुने अवस्थामा भक्तपुर नपाले जनज्योति पुस्तकालयलाई अझ सुविधा सम्पन्न र व्यवस्थापित बनाउने काम गरेसँगै पाठकहरु उत्साहित बनेको उनको भनाई छ। इ लाइब्रेरी स्थापनासँगै खोज तथा अनुसन्धान गर्नेहरूको निम्ति यसबाट निकै सहज हुने विश्वास उनको छ। 

पुस्तकालयका प्रमुख भूपाल मुलले विशेषतः भक्तपुर नगर वासीहरूको सुविधाको लागि स्थापना भएको यो लाइब्रेरी सबैको लागि निःशुल्क हुने बताए। अन्य निजीतिर जानुपर्दा घण्टामै एक दुई हजार तिर्नुपर्छ, उनले भने, भक्तपुर नगरपालिकाले निःशुल्क रुपमा यो सुविधा प्रदान गर्दछ।

लाइब्रेरीमा देश विदेशका विभिन्न पुस्तकहरू तथा राष्ट्रिय दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिकाहरू पनि पढ्न सकिन्छ। पुस्तकालयमा करिब १८ हजार पुस्तकहरू सङ्कलित रहेको जनाइएको छ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले कम्प्युटरको माउस क्लिक गरेर शनिबार इ–लाइब्रेरीको शुभारम्भ गरेका थिए। सांसद सुवालले २१ औं शताब्दीको डिजिटल युगमा सूचना र प्रविधिसँग कोही पनि अछुटो रहन नसक्ने बताउँदै अनलाइन माध्यमको प्रयोगसँगै अधुसन्धानकर्ताहरुलाई सहज र अध्ययनको दायरा बढ्दै गएको बताए।

प्रकाशित: ६ जेष्ठ २०८० १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App