७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

सामुदायिक विद्यालयमा भर्ना हुन प्रवेश परिक्षा

पोखरिया माविमा भर्ना हुन प्रवेश परिक्षा दिंदै विद्यार्थीहरू। तस्बिरः विनोद सुवेदी /नागरिक

सामुदायिक विद्यालय भन्ने वित्तीकै नाक खुम्च्याउने गरिन्छ।सामुदायिक विद्यालयको तुलनामा नीजि विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता नेपाली समाजमा स्थापित हुँदै गर्दा सामुदायिक विद्यालय प्रति वितृष्णा देखिंदै गएको छ।तर, विराटनगरको पोखरिया माध्यामिक विद्यालयमा भने अवस्था ठीक उल्टो छ।  

विराटनगर—३ स्थित पोखरिया माध्यामिक विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीले प्रवेश परिक्षामा उत्कृष्ट अंक ल्याउनु पर्ने हुन्छ।पोखरिया माध्यामिक विद्यालयले निश्चित कोटा तोकेर विद्यार्थी भर्नाको सूचना प्रकाशित गर्छ। तर, विद्यालयले तोकेको कोटा भन्दा धेरै विद्यार्थीले भर्नाका लागि फर्म भरेपछि प्रवेश परिक्षाबाट विद्यार्थी छनौट गर्दै आएको छ।

आगामि आर्थिक वर्षका लागि पनि पोखरिया माध्यामिक विद्यालयले प्रवेश परिक्षा लिएर विद्यार्थी छनौटको प्रकृया सुरू गरेको छ। विद्यालयले शनिबार आगामि शैक्षिक सत्रका लागि विद्यार्थी छनौट गर्न प्रवेश परिक्षा लियो। आगामि शैक्षिक सत्रमा  विद्यालयले कक्षा ६ देखि ९ सम्मको लागि ४ सय जना विद्यार्थी भर्नाका लागि कोटा निर्धारण गरेको थियो।

तर, पोखरियामा भर्ना हुनका लागि १ हजार ८ सय ५३ जना विद्यार्थीले फारम भरेको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार विद्यालयले तोकेको कोटा भन्दा ४ गुणा बढी विद्यार्थीले फारम भरेपछि विद्यालयले प्रवेश परिक्षा लिएर उत्कृष्ठ अंकका आधारमा विद्यार्थी भर्ना गर्ने तयारी गरेको हो।

हामीले कक्षा ६ देखि ९ सम्मका लागि ४ सय जना विद्यार्थीको कोटा निर्धारण गरेका थियौं ’ उनले भने‘तर, साँढे १८ सय विद्यार्थीले फारम भरे पछि प्रवेश परिक्षाबाट विद्यार्थी छनौट गर्न लागेका हौ।’  

आगामि शैक्षिक सत्रका लागि कक्षा ६ देखि ९ सम्म हरेक कक्षामा १ सय जनाका दरले विद्यार्थी छनौट गरिने प्रधानाध्यापक भट्टराईले  जानकारी दिए।

शनिबार पोखरियाले लिएको प्रवेश परिक्षामा कक्षा ६ मा एक सय जनाका लागि ४ सय ७, कक्षा ७ मा ४ सय ५५, कक्षा ८ मा ५ सय ५१ र कक्षा ९ मा ४ सय ४० जना विद्यार्थी प्रवेश परिक्षामा सहभागि भएका छन्।  

माथिल्ला कक्षामा मात्रै हैन पोखरिया माविका आधारभूत तहका कक्षामा पनि विद्यार्थीको आकर्षण उत्तीकै देखिएको छ। आधारभूत तहमा समेत प्रवेश परिक्षाबाटै विद्यार्थी छनौट गर्न लागिको प्रधानानध्यापक भट्टराईले बताए।

उनका अनुसार  आधारभूत तहका लागि आइतबार प्रवेश परिक्षा लिने तयारी विद्यालयले गरेको छ। आधारभूत तहमा भर्ना हुनका लागि विद्यालयले तोकेको कोटा भन्दा धेरै विद्यार्थीले फारम भरेपछि प्रवेश परिक्षाबाट विद्यार्थीको छनौट गर्न लागिएको विद्यालयले जनाएको छ।  विद्यालयले  शैक्षिक सत्रका लागि कक्षा २ मा ५० जना, कक्षा ३ मा ५०, कक्षा ४ मा ५० र कक्षा ५ मा १ सय जना विद्यार्थी भर्ना गर्न कोटा निर्धारण गरेको छ।

तर, विद्यालयमा भर्ना हुनका लागि कोटा भन्दा बढी विद्यार्थीले फारम भरेका छन्। विद्यालयका अनुसार कक्षा २ मा १ सय ५, कक्षा ३ मा १ सय ५०, कक्ष ४ मा १ सय ६२ र कक्षा ५ मा २ सय ५२ जनाले फारम भरेका छन्। कक्षा १ मा भने आएजति सबै विद्यार्थीलाई भर्ना लिने गरिएको प्रधानानध्यापक भट्टराईले जानकारी दिए।

उनका अनुसार कक्षा १ मा हालसम्म ४० जनाले फारम भरेका छन्। विद्यालयले प्राविधिक विषयमा पनि पठनपाठन गराउँदै आएको छ।  कक्षा ९ देखि १२ सम्म  कम्प्युटर इन्जिनियर विषयमा विद्यालयले पठनपाठन गराउँदै आएको प्रधानाध्यापक भट्टराईले बताए। प्राविधिक विषयमा पनि विद्यार्थीको आकर्षण धेरै देखिएको विद्यालयले जनाएको छ।

कक्षा ९ मा कम्प्युटर इन्जिनियरिङ विषयमा ४८ जनाको कोटा रहेकोमा हालसम्म १ सय १८ जनाले फारम भरेका छन्। कम्प्युटर इन्जिनियरिङ विषयमा पनि प्रतिश्पर्धाबाटै विद्यार्थीको छनौट गरिने प्रधानानध्यापक भट्टराईले बताए।  

यसरी सुधार भयो विद्यालय  

पोखरियामाध्यामिक विद्यालय  १० वर्ष पहिले अन्य सामुदायिक विद्यालयको जस्तै अवस्थामा थियो।  विद्यालयले विद्यार्थी अभावको सामना गरिरहेको थियो । विद्यालयमा भर्ना हुन नयाँ विद्यार्थी आउने क्रम भन्दा पुराना विद्यार्थीले विद्यालय छाडेर जानेक्रम बढी थियो।

हरेक वर्ष विद्यालयमा विद्यार्थीको संख्या घट्न थालेपछि विद्यालयका शिक्षकहरू र व्यवस्थापन समितिलाई समेत चिन्तित बनायो। विद्यालयका शिक्षक, व्यवस्थापन समितीका पदाधिकारीहरू र अभिभावककाे समेत सल्लाहमा नीजि विद्यालयहरूमा जस्तै अंग्रेजी माध्ययमबाट पठनपाठन गर्ने तयारी पोखरियाले गर्‍यो।

अंग्रेजी माध्ययमबाट पठनपाठन गर्न आवश्यक थप जनशक्ती, कक्षाकोठा व्यवस्थापन लगायतका लागि अभिभावकहरूले पनि आर्थिक सहयोग गर्ने  भएपछि विद्यालयलाई अंग्रेजी माध्ययमबाट पठनपाठन गर्न प्रोत्साहन मिल्यो। २०७० देखि पोखरिया माविले अंग्रेजी माध्यमका कक्षाहरू सुरू ग¥यो। त्यस पछि एस्एल्सीको परिक्षामा पोखरिया माविले उत्कृष्ठ नतिजा ल्याएपछि पोखरियामा विद्यार्थीको चाप क्रमशः बढ्न थाल्यो।

२०७० मा जम्मा ५ सय विद्यार्थी पठनपाठन गर्ने पोखरियामा हाल ३ हजार २ सय जना विद्यार्थी पठनपाठन गरिरहेको विद्यालयले जनाएको छ।एस्इई परिक्षामा मात्रै नभई उच्च शिक्षामा पनि पोखरियाका विद्यार्थीले उत्कृष्ठ नतिजा ल्याएपछि पोखरिया प्रति विद्यार्थी र अभिभावको विश्वास जितेका कारण हरेक वर्ष यहाँ भर्ना हुन चाहने विद्यार्थीको संख्या  बढ्दै गएको प्रधानअध्यापक भट्टराईले बताए।  

पोखरियाले शैक्षिक गुणस्तरमा सुधार गरेपछि नीजि विद्यालयमा चर्को शुल्क तिरेर विद्यार्थी पढाउन बाध्य भएका विराटनगरका अभिभावकहरूलाई राहत मिल्यो। अभिभावकहरूले नीजि विद्यालयबाट विद्यार्थी  झिकेर पोखरियामा भर्ना गर्न थाले। पोखरियाले शैक्षिक गुणस्तर सुधार गरेर विद्यार्थी र अभिभावकको आकर्षणको केन्द्र बन्न थालेपछि विराटनगरका अन्य विद्यालयहरूले पनि गुणस्तर सुधारको अभियान चलाउन थाले।

हाल विराटनगरको आदर्श माध्यामिक विद्यालय, सत्य नारायण माध्यामिक विद्यालय पनि विद्यार्थीको रोजाइमा पर्न थालेका छन्। विराटनगरमा मात्रै हैन पोखरियाको सुधारमा विराटनगर आसपासका स्थानिय तहका विद्यालयहरूमा समेत प्रभाव परेको छ।

त्यहाँका विद्यालयहरूले पनि अंग्रेजी माध्ययमबाट पठनपाठन गराउने र विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रयास थालेका छन्। 

प्रकाशित: २५ चैत्र २०७९ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App