१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

सेन्ट जेभियर्स स्कुलको भर्ना रोकिँदा करिब चार हजार विद्यार्थीको भविष्य अन्योल

ललितपुर महानगरपालिकामा रहेको सेन्ट जेभियर्स स्कुल जाउलाखेलको कक्षा १ मा नयाँ विद्यार्थी भर्ना रोकिँदा करिब चार हजार विद्यार्थीको भविष्य अन्योल बनेको छ।

महानगरपालिकाले स्कुलले उपलब्ध गराउँदै आएको  विद्यार्थी भर्ना कोटामा एक रुपता नभएकोले यसलाई व्यवस्थित गर्नु पर्ने भन्दै चैत ६ गते स्कुललाई  भर्ना प्रकृया अविलम्ब यथास्थितिमा स्थगन गर्न निर्देशन दिएको थियो। महानगरको निर्देशनपछि स्कुलले तत्काल भर्ना प्रकृया रोकेको छ। 

भर्ना रोकिँदा फरम भरि भर्नाकोलागि अन्तरक्रिया सकाएर नतिजा कुरिरहेका  साढे पाँच वर्षदेखि साढे ६ वर्षका चार हजार बनलबालिका र तीनका अभिभावक मानसिक तनावमा छन्। 

स्कुलले व्यवस्थापन समितिको निर्णयबाटै सिट कोटा निर्धारण गरी फागुन १८ गतेदेखि भर्ना प्रकृया सुरु गरेको थियो। शिक्षा मन्त्रालयले यस पटकदेखि कक्षा १मा प्रवेश परीक्षा नलिन स्कुलहरुलाई निर्देशन दिएपछि यस पटक विद्यालयहरुले भर्ना फारमकै अधारमा सर्टलिष्ट गरी अन्तरक्रियाबाटै विद्यार्थी भर्ना सुरु गरेका छन्। सेन्टजेभियर्समा पनि नयाँ शैक्षिक सत्रकोलागि एक सय ५० सिटमा चार हजार पाँच सय विद्यार्थीको फारम आएको स्कुल प्रशासनले जनाएको छ। जसमध्ये तीन हजार ७ सयको सर्ट लिस्ट गरी यसमध्ये तीन हजारको अन्तरक्रिया सम्पन्न गरिसकेको थियो। 

सर्वसुलभ शुल्कमा विगत ७० वर्षदेखि गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएकोले पनि सेन्ट जेभियर्स स्कुल मुलुकभरि अभिभावकको रोजाइको पहिलो स्कुल बन्न सफल भएको अभिभावकहरुको भनाई छ। 

‘ चैत ७ गते ७ सय विद्यार्थीको अन्तरक्रिया सकाएर लट्री गर्ने तयारी थियो,’ स्कुल व्यवस्थापन समितिको एक सदस्यले भने ‘तर महानगरपालिकाको निर्देशनपछि भर्ना स्थगन भयो। यसले चार हजार विद्यार्थीको भविष्यनै अन्योल बन्यो।’ती सदस्यले नागरिकसँग भने ‘विद्यालय व्यवस्थापन समितिकै निर्णयबाट कोटा निर्धारण गरी भर्ना खुलाएका हौँ। तर महानगरले बिचैमा प्रकृया रोकेर भर्ना प्रकृया अवरोध गर्दा विद्यार्थी मानसिक तनावमा छन्।’ यति मात्र होइन महानगरले भर्ना व्यवस्थित गर्ने लक्ष्यनै राखेको थियो भने भर्ना पुर्वनै मापदण्ड बनाएर दिनु पर्ने विद्यालय स्रोतको भनाई छ।

‘बिगतमा कक्षा १ मा भर्नाको समयमा राजनीति दलदेखि उच्च ओहोदामा रहेकाहरुको निकै दबाब आउँथ्यो। दबाब थेग्न नसकी र भर्ना प्रकृयालाई मर्यादित र व्यवस्थित गर्न स्कुल व्यवस्थापनले विगत दुई वर्षदेखि लटरी प्रणालीबाट विद्यार्थी छनौट गर्दै आएको हो,’ विद्यालय स्रोतले भन्यो ‘सेन्ट जेभियर्समा भर्ना गराइदिने भन्दै विभिन्न व्यक्तिहरूले रकम असुली गरेको, तयारी कक्षाको नाममा विद्यार्थीका अभिभावकसँग कनसल्टेन्सी संचालकहरुले  मोटो रकम असुली गरेको जस्ता थुप्रै गुनासाहरु आए। ’ स्रोतले भन्यो‘स्कुललाई बदनाम गर्ने सबै अनैतिक कार्य रोक्न विद्यालयले फारम भर्ने विद्यार्थीलाई सर्ट लिस्ट गरी लटरीबाटै भर्ना लिन थालेपछि भनसुन कम भयो। स्कुलमा भर्ना व्यवस्थित बन्यो। तर यस पटक महानगरले भर्नाको अन्तिम चरणमा रोकेर विद्यार्थीमाथि अन्याय गरेको छ।’

स्कुलले उपलब्ध गराएको भर्ना कोटाका विधि तथा प्रक्रिया अनुसार व्यवस्थापन समितिको फागुन १९ गतेको बैठकले गरेको निर्णय अनुसार कर्मचारकिो छोरा÷छोरीलाई छुटाएर बाँकी रहेको सङ्ख्यामा समूहगत प्रतिशत कायम गरेको छ। जस अनुसार दलित समुदायलाई ५ प्रतिशत, सीमान्तकृत एवं आर्थिक रुपले विपन्न एकल महिला, शारीरिक रुपले अक्षम र अशक्त अभिभावक १० प्रतिशत र अल्पसङ्ख्या समुदायकालाई १० प्रतिशत कोटा निर्धारण गरेको छ। 

यसै गरी विद्यालयमा अध्ययनरत विद्यार्थीका सहोदर भाइबहिनी १० प्रतिशत, पूर्व विद्यार्थी एलुमुनाइका छोराछोरी १० प्रतिशत, ललितपुर महानगरपालिका,बड नम्बर चारका स्थायी बासिन्दालाई ५ प्रतिशत र ललितपुर महानगरपालिका क्षेत्र भित्र स्थायी बासिन्दालाई १० प्रतिशत  र खुला तथा साधारण तर्फ ४० प्रतिशत कायम गरी भर्ना प्रकृया सुरु गरेको हो। जेभिरियनविच संस्कार कायम गर्न र शिक्षक कर्मचारीलाई थप प्रोत्साहित गर्न विद्यालयले स्थापनाको ७० वर्षदेखि कोटा निर्धारण गरी भर्ना लिने गरेको विद्यालय व्यवस्थापनले जनाएको छ।

उता  महानगरपालिकाले भने सेन्ट जेभियर्स अभिभाव र विद्यार्थीकोलागि एक ब्रान्ड बनिसकेकोले आकर्षण बढ्दै गएपछि भर्ना कोटालाई व्यवस्थित गर्न महागरले पहल मात्र गरेको महानगर शिक्षा विभाग प्रमुख महेन्द्र क्षेत्रीले बताए। उनले महानगरले विद्यार्थी वा तीनका अभिभावकलाई कुनै सास्ती दिन नभई स्कुलले उपलब्ध गराउँदै आएको कोटामा एकरूपता कायम गर्न खोजेको दाबी गरे।

विभाग प्रमुख क्षेत्रीले हाल स्कुलले उपलब्ध गराउँदै आएको विद्यार्थी भर्ना कोटामा एक रुपता नभएकोले सर्वसाधारण विद्यार्थी मार्कामा परेको गुनासो आएकोले महानगरपालिकाले कोटामा एकरुपमा कायम गर्न निर्देशन दिएको जनाए।‘दलित, सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदाय गरी २५ प्रतिशत समावेशी अन्य सबैलाई एकै प्रकृयाबाट विद्यार्थी भर्ना गर्नु पर्ने महानगरको निर्देशन हो,’ शिक्षा विभाग प्रमुख क्षेत्रीले नागरिकसँग भने ‘गुठी अन्तर्गत संचालित सेन्ट जेभियर्सले सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिएको छ। यसमा कुनै शंका छैन। तर कोटामा सबैलाई एकरूपता हुनु पर्छ।’ उनले थपे ‘विद्यालयसँग महानगरले दुई पटक छलफल गरिसकेको छ। अब छिटै समस्या समाधान गरी भर्ना खुल्छ। ’ उनका अनुसार महानगरभित्र ४० सामुदायिक र २ सय ३७ निजी विद्यालय छन्। 

प्रकाशित: १७ चैत्र २०७९ १०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App