१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

बाजुराका तीन क्याम्पसमा तालाबन्दी, पठन पाठन प्रभावित

बुढीनन्दा क्याम्पस, कोल्टी। चुनाव स्थगित पछि अनेरास्ववियुले खसेका मत गणनाको माग गरे क्याम्पसमा तालाबन्दी गरेका छन्।

स्ववियु निर्वाचनको विषयलाई लिएर बाजुराका ३ वटा क्याम्पसमा तालाबन्दी गरिएको छ।

बाजुरा र बडीमालिका क्याम्पसमा स्ववियु लक्षित फर्जी विद्यार्थी भर्ना गरिएको आरोप सहित तालाबन्दी गरिएको हो। तस्तै बुढीनन्दा क्याम्पसमा निर्वाचनमा खसेका मत गणना गर्न माग सहित तालाबन्दी गरिएको छ।

बाजुरा क्याम्पसमा सत्ता गठबन्धन निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन्। र बुढीनन्दा र बडीमालिका क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेका हुन्। सुदूरपश्चिम विश्वविद्यालयले जारी गरेको चैत्र ८ को स्ववियु निर्वाचनको मिति लक्षित गरेर बाजुरा र बडीमालिका क्याम्पसमा तालाबन्दी गरिएको थियो।

निर्वाचन बाजुराका दुई सहित ५ वटा बाहेक सबै सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसमा आज निर्वाचन भइरहेको छ। तर बाजुरामा भने विद्यार्थी संगठनले तालाबन्दी खुलाएका छैनन्। सच्याउन पर्ने र मिति घोषणा गरिनु पर्ने मागमा विद्यार्थी संगठन देखिएका छन्।

जित्नकै लागि प्रक्रिया विपरीत, गलत बाटोबाट विद्यार्थी भर्ना गरिएको आरोप सहित बाजुरा र बडीमालिका क्याम्पसमा विद्यार्थी संगठनले तालाबन्दी गरेपनि चैत्र ८ गते हुने निर्वाचन अनिश्चित बनेको छ। तालाबन्दी कहिले खोल्ने र कस्ले खोल्नका लागि पहल गर्ने भन्नेमा समेत कोही जिम्मेवार देखिँदैनन्।

बुढीनन्दा क्याम्पसमा भने चैत्र ५ गते चुनाव भएको थियो। चुनावी मैदानमा विवाद बढेर झडपको स्थिति सिर्जना भएपछि निर्वाचन अधिकृतले चुनाव स्थगित गरेका थिए। मतदान स्थलमा पुगेका विद्यार्थीलाई मतदान गर्न दिनु पर्ने सत्ता गठबन्धनका विद्यार्थी संगठनको माग थियो, भने मतदान स्थल बाहिर रहेकालाई समेत भित्र पसाएर सबैले मतदान गराउनु पर्ने, खसेको मतलाई नै गणना गर्नु पर्ने माग अनेरास्ववियुको छ।

कुल ४१२ मत मध्ये खसेको २५२ मत गणना गर्नु पर्ने माग सहित अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेको अनेरास्ववियुका जिल्ला अध्यक्ष दिलबहादुर थापा भोटेले बताएका छन्। शैक्षिक संस्थाको पठन पाठन समेत प्रभावित पार्ने गरी क्याम्पसमा तालाबन्दी गरिदा समेत जिम्मेवार पक्ष नै मौन बसेको आरोप छ।

क्याम्पस प्रशासनले भने विद्यार्थीले राखेका मागको सुनुवाइ बारे छलफल गर्न तयार रहेको बताएका छन्। बाजुरा क्याम्पसले कुनै विद्यार्थी पनि प्रक्रिया विपरीत भर्ना नगरिएकोले तालाबन्दीका माग सुनुवाइ गर्ने अवस्था नै नरहेको बताएका छन्।

बडीमालिका क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी लगायतका संगठनले २ सय बढी विद्यार्थीलाई प्रक्रिया विपरीत भर्ना गरेको अनेरास्ववियुको आरोप छ। तर क्याम्पस प्रशासनले सबै प्रक्रिया पुरा गरेका विद्यार्थीलाई मात्रै भर्ना गरेको दाबी गरेको छ।

बडीमालिका क्याम्पसका प्रमुख वीरबहादुर कटुवालले आफू एक महिना बिदा बसेर आएकोले तालाबन्दीको विषयबारे अध्ययन गरेर भोलिबाटै सहमतिको प्रयास अघि बढाउने बताएका छन्। बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनीया सहित दलका नेताहरु र विद्यार्थी संगठनबिच छलफल गरेर सहमति गर्ने कटुवालको भनाई छ।

बडीमालिका क्याम्पसमा पठन पाठन जारी भएपनि निर्वाचन अधिकृतको कार्यालयमा भने तालाबन्दी गरिएको छ। बाजुरा क्याम्पसले आफूहरुले प्रयास गरेपनि विद्यार्थी नेताहरु तयार नभएको बताएको छ। नेविसंघले बडीमालिका क्याम्पसको ताला नखोलिएसम्म खुलाउन नसकिने बताएको छ।

यता प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले सबै दल र क्याम्पससँग संवाद सुरु भएकोले तालाबन्दी सुचारु गर्ने बारे केही दिनमै सहमति गरिने बताएका छन्। अधिकारी खड्काले क्याम्पसमा समेत यतिसम्मको राजनीति हुनु दुखद विषय भएकोले सबैले समझदारीका साथ सहमतिमा पुग्ने वातावरण अघि बढाउने बताएका छन्।

बुढीनन्दा क्याम्पसमा चुनावको दिनको विवाद पछि थप समस्या उत्पन्न भएको छ। दुबै पक्षले एक अर्कालाई मुद्दा दर्ता गर्ने होडबाजीमा छन्। भने पालिकाले समेत कार्यालयमा तोडफोड गर्ने माथि सार्वजनिक मुद्दा सहित क्षतिपूर्तिका लागि उजुरीको तयारी गरेको छ।

जसका कारण सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन स्थगित छ। केन्द्रीय क्याम्पसको निर्वाचन चैत्र २१ गते हुने गरी मिति तोकिएपनि बाजुराका २ सहित ४ क्याम्पसको निर्वाचन अनिश्चित बनेको छ।

चुनाव नहुनेमा कैलालीको टीकापुर बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बडिमालिका बहुमुखी क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पस रहेका छन्। सबै क्याम्पसमा तालाबन्दी र विद्यार्थीको अवरोध छ। १० वटा क्याम्पसमा भने आज निर्वाचन भइरहेको छ।

प्रकाशित: ८ चैत्र २०७९ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App