२० वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

पूर्वशिक्षकद्वारा आर्थिक सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्व शिक्षकले दुई लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन्।

अन्नपूर्ण-३ दानाका गंगाबहादुर पुर्जा र उनकी श्रीमती योमाया पुर्जाले एक लाख ५१ हजार एक सय पाँच रुपैयाँ सहयोग गरेका हुन्। यसअघि एक लाख रुपैयाँ सहयोग गरेका हाल बेलायतमा बसोबास गर्ने गंगाबहादुरका भाइ कमलबहादुर पुर्जा र उनकी श्रीमती शान्ति पुर्जाले थप  ५० हजार रुपैयाँ उपलब्ध गराएका छन्।

बिदा मनाउने क्रममा नेपाल आएका पुर्जा परिवारले काभ्रेमा पुगेर विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकलाई नगद हस्तान्तरण गरेका थिए। पुर्जा दाजुभाइले बेलायती सेनामा भर्ती हुनुअघि मुस्ताङको सिमानामा रहेको सो विद्यालयमा पढाएका थिए। पचास विद्यार्थी अध्ययनरत विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि सहयोग रकम परिचालन गरिने विद्यालयले जनाएको छ।

शारीरिक रूपमा अपाङ्गता भएका पुर्जाले यसअघि पनि बेलायत सरकारले पेन्सनबापत दिने तलब बापतको रकम जिल्लाका विभिन्न विद्यालयलाई उपलब्ध गराएका छन्। सन् १९८९ मा गोर्खा सैनिकमा भर्ती भएका पुर्जा सन् २००६ मा सेवा निवृत्त भएका थिए। सैनिक सेवामा प्रवेश गरेको तीन वर्षमै ढाडमा समस्या देखिएपछि उनी अहिले पनि वैशाखीको साहराले हिंडडुल गर्छन्।

उनले प्रवासी नेपालीलाई सहयोग गर्ने उद्देश्यले मद्दत समूह नामक संस्था पनि स्थापना गरेका छन्। शारीरिक रूपमा अशक्त भए पनि पुर्जाले दुःखमा परेका नेपालीलाई बेलायतमा सहयोग जुटाउन सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। सो समूहलाई बेलायत सरकारले ‘क्वीन अवार्ड’ समेत प्रदान गरेको जनाइएको छ। रासस

प्रकाशित: २१ फाल्गुन २०७९ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App