४ पुस २०८१ बिहीबार
image/svg+xml
शिक्षा

नमुना बनाइँदै आमचोकको सिंहदेवी मावि

फाकफोकथुम गाउँपालिका–३, आमचोकको सिंहदेवी माध्यमिक विद्यालयलाई नमुना बनाउने प्रयास थालिएको छ। विद्यालयको भौतिक, व्यवस्थापकीय तथा शैक्षिक क्षेत्र सुधार्न थालिएको हो।

संघीय सरकारले विद्यालय नमुना कार्यक्रमका लागि डेढ करोड रुपैयाँ प्रदान गरेपछि यहाँको भौतिक काम धमाधम भइरहेको विद्यालय अध्यक्ष यामप्रसाद अधिकारीले बताए। ५ वर्षभित्रमा विद्यालयको तीनै क्षेत्रमा सुधार गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको उनको भनाइ छ। अहिले विद्यालयको भवन निर्माण भइरहेको छ। १ करोड ११ लाख रुपैयाँमा ठेक्का लागेको भवन निर्माण जारी रहेको उनले जनाए।

‘विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारमा ४० लाख र गुरुयोजना निर्माणमा ५ लाख रुपैयाँ खर्च हुँदैछ,’ उनले भने, ‘संघीय सरकारको मात्रै पैसाले त पुग्दैन, गाउँपालिका र प्रदेश सरकारलाई पनि बजेट प्रस्ताव गर्नुपर्ने भएको छ।’

उनका अनुसार नमुना कार्यक्रम सुरु भएको २ वर्षमा भौतिक सुधारको काम भइरहेको हो। ‘शैक्षिक र व्यवस्थापकीय सुधारमा विद्यार्थी र शिक्षकलाई प्रोत्साहनलगायत कार्यक्रम छन्,’ उनले भने, ‘समग्रमा विद्यालयलाई सबै क्षेत्रमा नमुना बनाउने हो।’

प्रधानाध्यापक मोतीखर पोख्रेलले पहिलो चरणको काम सकिएपछि विद्यालयलाई आउँदो वर्ष थप १ करोड रुपैयाँ संघीय सरकारबाट आउने बताए।

‘भौतिक निर्माणमा प्राविधिक सहयोग चाहिँ गाउँपालिकाले गरिरहेको छ,’ उनले भने, ‘भौतिक काम सकिएपछि पढाइ र अन्य क्रियाकलाप गर्न सहज हुनेछ।’ शैक्षिक र व्यवस्थापकीय सुधारमा कक्षामा स्मार्ट बोर्ड, शैक्षिक सामग्रीलगायत छन्,’ उनले भने, ‘अन्यत्रका नमुना विद्यालयको गतिविधि पनि अवलोकन गरेर त्यसैअनुसार अघि बढ्दैछौं।’

२००८ सालमा स्थापित विद्यालयमा साढे ४ सय विद्यार्थी र ३२ शिक्षक–कर्मचारी छन्। कक्षा १२ सम्म चलिरहेको विद्यालयमा कृषिको प्राविधिक पढाइ ९ कक्षादेखि चलिरहेको छ। कृषि प्राविधिक कक्षामा अहिले ५५ विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ।

प्रकाशित: २१ माघ २०७९ ११:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App