११ कार्तिक २०८३ बुधबार
image/svg+xml
राजनीति

ओलीको विश्वास- एमाले सधैं सत्यको पक्षमा छ, जनताले अवश्य विजयी गराउँछन्

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले विजय हासिल गर्ने दाबी गरेका छन्।

एमाले सधैँ सत्य, न्याय, देश र जनताको पक्षमा दृढतापूर्वक उभिएकाले आउँदो निर्वाचनमा जनताले पार्टीलाई विजयी गराउने उनको भनाइ छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार मनोनीत तीन केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले गत वर्ष फागुन २१ मा भएको निर्वाचन चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला भएको टिप्पणी गरे। उनले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध भएर जनतामाझ जान नेता-कार्यकर्तालाई निर्देशन दिए।

अनुशासित र एकजुट भएर अगाडि बढ्दा मात्र कार्यकर्तामा नयाँ उत्साह भर्न र जनतामाझ एमालेप्रतिको आकर्षण फर्काउन सकिने उनले उल्लेख गरे।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाएर अघि बढेको एमालेको काँधमा मुलुकलाई वर्तमान ‘क्रिटिकल’ अवस्थाबाट निकास दिने ऐतिहासिक अभिभारा रहेको उनले सुनाए।

सोही क्रममा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरे। ‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ,’ उनले भने, ‘देश कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने अवस्थामा हुनुपर्छ। परिस्थितिलाई थप बिग्रन नदिन आन्दोलनको तयारी गर्नुको विकल्प छैन।’

वर्तमान सरकार बेलगाम फासीवादतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले देशमा कसैले बोल्न नसक्ने गरी राज्य आतंक र गुण्डाराज सिर्जना गरिएको दाबीसमेत गरे।

प्रकाशित: ११ कार्तिक २०८३ १६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App