३ पुस २०८१ बुधबार
image/svg+xml
शिक्षा

२१ वर्षका प्रधानाध्यापक

सामान्यतया कुनैपनि विद्यालयको प्रधानाध्यापक भनेपछि हाम्रो मनमा एउटा ‘विम्ब’ बन्छ । पाको उमेर, कपाल अलिअलि फुलेको, अनुभवी हुन्छन् भन्ने हामीलाई लाग्छ। तर यस्तो मात्र होइन, पाँचथरको एउटा विद्यालयमा २१ वर्षका युवक प्रधानाध्यापक भएका छन्। 

फाल्गुनन्द गाउँपालिका वार्ड न.१ भोगटेका स्थायी बासी सरोज श्रेष्ठ २१ वर्षमै प्रधानाध्यापक भएका छन्। उनी ५ कक्षासम्म अध्ययन गराइने श्री बाल विकास आधारभूत विद्यालयका हेडसर भएका हुन।  

यस विद्यालयमा २०७८ साल कात्तिक महिनादेखि उनले पढाइरहेका छन्।  श्रेष्ठले २०७९ कात्तिकमै करार प्रधानाध्यापक भएका हुन्। उनले प्रदेश नम्बर १ को शिक्षा आयोगबाट निम्न माध्यमिक तहको स्थायी दरबन्दी पनि पाइ सकेका छन्। उनी आफू अघिका प्रधानाध्यापकले अवकाश पाएपछि शिक्षक र व्यवस्थापनको पहलमा प्रधानाध्यापक बनेका हुन्।

श्रेष्ठले नेतृत्व गरिरहेको विद्यालयमा शिक्षक र कर्मचारी गरी ५ जना छन् भने ४५ जना विद्यार्थी छन्। ‘एक जना शिक्षकका लागि आवेदन माग गरेका छौ। आएपछि हामी ६ जना हुन्छौँ’, २१ वर्षीय प्रधानाध्यापक श्रेष्ठले नागरिकन्यूजसँग भने।  

उनले आफ्नो नियुक्तीबारे भने, ‘म नियुक्ती भएदेखि नै प्रधानाध्यापकको काम गरेको थिए तर जिम्मेवारी भने अहिले सर अवकाश भएपछि मात्र पाएको हु। नियममा करार शिक्षक प्रअ हुन पाइँदैन तर प्रअको अवसर पाउने शिक्षक र व्यवस्थापनका व्यक्तिहरुले प्रअ बनाउनु भएको हो।’

उनले आफ्नो शिक्षाकोबारे भने, ‘म शिक्षक हुँदा २० वर्षको थिए। मेरो जन्म मिति २०५७ साल ११ महिना १० गते हो। मैले श्री तिरतिरे आधारभूत विद्यालयबाट ५ कक्षा सम्म अध्ययन गरे। कक्षा ६ देखि १० सम्म श्री सिद्धेश्वरी माध्यमिक विद्यालयबाट ५८.७९ प्रतिशत लाएर एसएलसी पास गरे। ११ देखि १२ उच्च मावि सिद्धदेवी माध्यमिक विद्यालय उमलावुङ नविडाडाबाट ५८ प्रतिशत ल्याएर उत्तीर्ण गरे। स्नातक तह अध्ययन गर्न २०७४ सालमा इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा भर्ना भई २०७८ सालमा ६२.२३ प्रतिशत अंकलाएर स्नातक उत्तीर्ण गरे। अब मास्टरका लागि अध्ययन गर्ने तयारीमा छु।’  

उनी भन्छन्, ‘सानै उमेरमा प्रअ भएकाले कतिपयले तपाइले उमेर ढाटनु पो भयो कि पनि भने।’ आफू निमावि शिक्षकमा नै कान्छो शिक्षक र प्रधानाध्यापक भएकोमा श्रेष्ठ खुसी छन्।

उनले थपे, ‘मैले बोर्डिङ स्कुल पढ्न पाइन सरकारी स्कुल पढे गाउँमा पढदाँ अग्रेजीमा केही अनुभव नहुँदा कमजोरी महसुस गरे। मेरो अनिवार्य नेपालीको विषय भएकाले साथीहरूको अगाडि नजानेको महसुस भयो। म पनि निजीमा पढ्न पाएको भए साथीहरू जस्तै जान्ने हुन्थे की भन्ने लाग्दो रहेछ। निजी विद्यालय नपढ्दैमा आफू माथि गइन्न भन्ने कुरा गलत रहेछ।’

उनी भन्छन्, ‘राम्रोसँग शिक्षण गरी आफ्नो विषयमा दक्षता प्रदर्शन गर्न सक्छ। हजारौं अबोध बालबालिकालाई ज्ञानको ज्योति दिन्छन्। प्रधानाध्यापक भन्नासाथ आफ्नो शिक्षण कार्य त छँदै छ, समग्र विद्यालयको शैक्षिक, आर्थिक, भौतिक, प्रशासनिक कामकाजको मुख्य नेतृत्वकर्ताको भूमिका पनि निर्वाह गर्नुपर्छ।’  

श्रेष्ठले आफ्ना साथीको बारेमा भने, ‘आफ्नो उमेरका साथीहरूसँग शिक्षक भएपछि सँगै हिडन् समय दिन पाएको छैन्। साथीहरू कोही लाहुरे भए, कोही वैदेशिक रोजगारमा गए, कोही विभिन्न देशका भाषाहरू पढ्दै छन्। आफू भने प्रअ भएर बसेको छु। देशमै बसेर रोजगार पाउँदा खुसी छु।’  

उनकाअनुसार प्रधानाध्यापक र शिक्षकमा कामका हिसाबले धेरै भिन्नता छन्। हरेक विद्यालयको समस्या समाधानको केन्द्रबिन्दु प्रअ हो। 

श्री बाल विकास आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल कुमार का अनुसार विद्यालयको समस्या हेरेर श्रेष्ठलाई प्रअ बनाएको बताउँछन्। ‘उहाँमा प्रअ सञ्चालन गर्न सक्ने खुबी भएकोले जिम्मेवारी दिएका हौँ’, उनले भने।  

अध्यक्ष दिलकुमारले आङ्देम्बे भने, ‘उहाँलाई प्रअ दिएको २ महिना भयो। उहाँ निमित्त प्रअ हो। उहाँ अब एक दुई महिना पछि अर्को स्कुल जानुहुन्छ।’  

आङ्देम्बले पहिलो प्रअले अवकाश पाएपछि सबैको सहमतिमा श्रेष्ठलाई प्रअ बनाएको बताए। उहाँ करारमा हुनुहुन्थ्यो। अहिले स्थायी भइसक्नु भयो।’  

२१ वर्षीय प्रअ श्रेष्ठले थपे, ‘म शिक्षक हुनुको मुख्य कारण मेरो एउटा लक्ष्य हो। हामी २१ औं शताब्दीका मान्छेहरु धन सम्पत्तिमा नै लिप्त छौँ तर धन सम्पत्ति आ–आफ्नो ठाउँमा छ तर सम्मान, इज्जत भन्ने कुरा हाम्रो अमूल्य गहना हो, त्यो म शिक्षण पेसामा पाउँछु।’

उनले यो पेसाप्रतिको आकर्षण व्याख्या गर्दै भने, ‘जहाँ आफू पनि सिक्न पाइन्छ र आफुले पनि अरुलाई सिकाउन सकिन्छ । यस्तो आनन्ददायी र हजारौँ अबोध बालबालिकालाई ज्ञानको ज्योति दिन पाउँदा मन त्यसै प्रफुल्ल हुन्छ यही सोचबाट प्रेरित हुँदै यो क्षेत्रमा आएको हुँ। विशेषतः यो क्षेत्रमा आउनुमा मेरो बुबाको ठुलो साथ र सहयोग छ । उहाँ आफैँ पनि शिक्षण पेसामा नै हुनुहुन्छ तर उहाँ स्थायी बन्न सक्नु भएन। बुबाको शिक्षण कौशलबाट प्रेरित भएको छु र आज यहाँसम्म आउन सफल भएको हुँ।’

उनी आफुले भने करिब ४ वर्षको उमेरमा विद्यालय शिक्षा सुरु गरेका हुन। ‘त्यति बेला बुबाले मलाई पढाउन भन्दा नि साथी भाइसँग घुलमिल र समय बिताउन पठाउनु भएको रहेछ’, श्रेष्ठले भने। तर उनलाई शिक्षकहरूले भर्ना गरिदिए। पढाइमा मेहनती र इमानदार रहेको उनको दाबी छ।  

प्रकाशित: ६ माघ २०७९ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App