८ वैशाख २०८१ शनिबार
शिक्षा

साढे ४ सय बालबालिका विद्यालयकाे पहुँच बाहिर

मायादेवी गाउँपालिकामा विद्यालयको पहुँच बाहिर रहेको बालबालिकालाई विद्यालयको पहुँच बढाउन ढेड दशक अघि देखि प्रत्येक बर्ष विद्यालयमा भर्ना अभियान संचालन गर्ने गरिन्छ।

तर जिल्लाको मायादेवी गाउँपालिकामा झन्डै साढे ४ सय विद्यार्थी विद्यालयको पहुँच बाहिर छन्। गाउँपालिकामा ४ सय ३९ जना बालबालिकाहरू अझै विद्यालय बाहिरै रहेको एक तथ्याङ्कले देखाएको छ।

गाउँपालिकाको प्रत्येक वडामा प्रगतिशील युवा सञ्जालले पालिको ८ वटै वडामा तथ्याङ्क संकलन गर्दा सो तथ्य बाहिर आएको हो। विद्यालय नजाने ५ देखि १८ वर्ष उमेर समूहका बालबालिका चार सय ३९ जना रहेका छन्। जसमा छात्रा २ सय २८ र छात्र २ सय ११ रहेका छन्।

मायादेवी गाउँपालिकामा आयोजना गरिएको विद्यालय नजाने बालबालिकाहरूको तथ्याङ्क प्रस्तुतीकरण तथा सरोकारवाला निकायहरू सँग बाल संरक्षण सम्बन्धी बहस छलफल कार्यक्रममा सो तथ्याङ्क प्रस्तुत गरिएको हो।

प्रस्तुत गरिएको तथ्याङ्कमा ५ देखि १० वर्षका ९२, १० देखि १५ वर्षका २ सय ६ र १५ देखि २० वर्ष सम्मका १ सय ४१ जना रहेको प्रगतिशील युवा सञ्जालकी अध्यक्ष सुनिता कोहारले बताईन।

सो मध्ये २ सय ४३ जना घरायसी समस्याका कारण विद्यालय छाडेका, १ सय ३४ जनाको इच्छा नभएर र ३ जना शारीरिक अपाङ्गताका कारण विद्यालय नगएका उनले बताईन। पालिकामा ३३ सामुदायिक विद्यालयमा झन्डै साढे १३ हजार बाल बालिका अध्ययनरत छन्।

मदर्सा र संस्थागत विद्यालयका विद्यार्थीलाई यसमा समावेश गरिएको छैन। प्रदेश सदस्य मदुसुदनशरण चौधरीले हाल सम्म पनि पालिका भित्र साढे ४ सय विद्यार्थी विद्यालय पहुँच बाहिर रहनु दुखद कुरा भएको बताए।

यसमा अभिभावक, शिक्षक लगायत सबै पक्षको कमजोरी रहेको उनको भनाइ थियो। ‘जब सम्म सोचमा परिवर्तन हुँदैन तब सम्म कुनै किसिमको विकास हुँदैन’ उनले भने। 

गाउँपालिका अध्यक्ष वलिउद्धिन खाँले राज्यले शिक्षाका लागि यति धेरै लगानी गर्दा पनि अझै आफ्नो पालिकामा साढे ४ सय बालबालिका विद्यालय बाहिर रहन दुःखदायी कुरा भएको बताए।

उनले पालिकाले शिक्षाको गुणस्तर र शिक्षाको विकासमा लगानी बढाउँदै जाने बताए। विद्यालय बहिरा रहेका बालबालिकाको तथ्याङ्क गाउँपालिकाका साथै सम्बन्धित वडामा दिन उनले आग्रह गरे। उनले जनचेतनाको अभावका कारण यस्तो समस्या आएको बताए। 

शिक्षा शाखा प्रमुख माधव प्रसाद घिमिरेले विद्यालय जाने उमेरका बालबालिकालाई आउने शैक्षिक सत्र देखि विद्यालय भर्ना गराउने बताए।

उनले १५ देखि २० वर्ष उमेरकालाई विभिन्न किसिमका सिप विकास तालिम दिएर स्वरोजगार बनाइने बताए। 

विद्यालय बाहिर रहेको बालबालिकालाई विशेष योजना बनाएर अगाडी बढ्ने प्रमुख प्रशासकीय अधिकृत पमेश्वर यादवकाे भनाइ थियाे। अभिभावकका साथै विद्यालयका शिक्षकहरूले पनि विशेष जोड दिनु पर्ने गाउँपालिकाका सामाजिक विकास अधिकृत बैतुल्ला धुनियाले बताए।

कार्यक्रममा सनशाइन विकास संस्थाका अध्यक्ष शिवलाल यादवले त्यति बालबालिका विद्यालय बाहिर रहनु चुनौतीको विषय रहेको बताए। उनले अभिभावक अशिक्षित भएको कारणले यस्तो समस्या भएको बताए। मायादेवी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष असफाक अहमद खां र वडा नं. ५ का वडाध्यक्ष राघबेन्द्र पाण्डेयले भएको तथ्याङ्कलाई वडामा उपलब्ध गराएर अगामी दिनमा विद्यालय बाहिरा रहेका बालबालिकालाई विद्यालय भर्ना गगराईने बताए।

कार्यक्रममा विभिन्न विद्यालयका प्रअ, शिक्षक, अभिभावक, विद्यार्थी, विभिन्न वडाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

प्रकाशित: २ माघ २०७९ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App