१६ चैत्र २०८० शुक्रबार
शिक्षा

गुरुको बिदाइमा वियोगका आँसु

सेवानिवृत्त शिक्षक तोयनाथ जोशी।

एकाएक विद्यालयमा सन्नाटा छायो। २४ वर्षदेखि अध्यापन गराउँदै आएका गुरुको बिदाइ हुने सुन्दा विद्यार्थी र सहकर्मी शिक्षक भावविह्वल बने। विद्यार्थीले हतारहतार फूलमाला ल्याए। अविर किने र रंगाउन थाले आफ्ना गुरुलाई। कसैले गुरुका गलामा फूलका माला लगाइदिए त कसैले हातमा फूल थमाइदिए। अनि रंगाई दिए आफ्ना गुरुलाई अविरले। फूलमाला पहिर्‍याउँदै गर्दा विद्यार्थी घुँक्कघुँक्क आवाज निकाल्दै आँसु पुछ्दै बाहिरिए बाक्लो भिडबाट अनि कक्षा कोठामा पुगेर धित मरुन्जेल रोए। यो दृश्य गौरीगंगा नगरपालिका–१, गोप्कास्थित श्री पशुपति माध्यमिक विद्यालयको हो।

२४ वर्षदेखि लगातार अध्यापन गराउँदै आएका विद्यालयका प्रधानाध्यापक तोयनाथ जोशीको अवकाश भएपछि विद्यार्थीले आफ्नै तरिकाले बिदाइ गरे। उनीहरूले बिदाइ गर्न थालेपछि विद्यालयका शिक्षकहरू पनि विद्यार्थीले गरेको बिदाइ कार्यक्रममा सहभागी भए। सहकर्मी शिक्षकले पनि फूल तथा खादाले बिदाइ गरे। हरेक दिन पढाउँदै आएका शिक्षकलाई सेवानिवृत्तपश्चात् बिदाइ गर्दा विद्यार्थी भावविह्वल भएका थिए। बिदाइ गर्दैगर्दा कोही विद्यार्थी तथा शिक्षक बोल्न सकेनन्। मात्र टीका अविर र फूलमालाले शिक्षकका गला भरिदिए।  

‘एक्कासि विद्यार्थीले हेडसरलाई फूलमाला र अविर लगाउन थालेपछि म पनि भावुक बनें,’ विद्यालयकी शिक्षिका रचना बुढामगरले भनिन्, ‘हेडसरलाई विद्यार्थीले अविर र माला लगाउन थालेपछि म पनि गएँ, केही बोल्नै सकिनँ, उहाँलाई माला लगाएँ र बोल्नै नसकी भिडबाट बाहिरिएँ।’ प्रधानाध्यापक जोशीले आफूलाई पनि पढाएको सम्झँदै उनले भनिन्,‘हेडसरले मलाई पनि त्यही स्कुलमा पढाउनु भएको थियो, पछि म पनि त्यही विद्यालयमा पढाउन थालेँ।’ आफूलाई पढाएको शिक्षक र पछि आफ्नै सहकर्मी भएका हेडसरको बिदाइमा भावुक बन्दै केही बोल्नै नसकेको अनुभव उनले सुनाइन्। ‘उहाँ एक शिक्षक मात्रै नभई विद्यार्थीका लागि असल अभिभावक पनि हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘सहकर्मी शिक्षकका नजरमा पनि उहाँको मिजासिलो बानी व्यहोरा र सबैलाई सम्मान गर्ने एक उच्च अभिभावकको भूमिका थियो।’ आफूलाई हेडसरले बाल्यकालमा पढाएको सम्झँदै उनले भनिन्, ‘उहाँ त शिक्षक नभई सबै विद्यार्थीका लागि अभिभावक हुनुहुन्थ्यो, आज बिदाइ गरिरहँदा सपना जस्तै लागिरहेको छ।’  

विद्यालयप्रतिको उहाँको लगानी बिर्सन नसकिने बताउँदै शिक्षिका रचनाले भनिन्, ‘शिक्षक जोशीबाट विद्यालयले मात्रै नभई समाजले पनि धेरै कुरा सिक्न सक्नुपर्छ।’ बिदाइ कार्यक्रममा भावविह्वल हुँदै प्रअ जोशीका पूर्वविद्यार्थी तथा शिक्षिका निर्मला गिरीले सेवा निवृत्त भई जाँदै गरेका शिक्षक जोशीको बाँकी जीवन सुखमय रहोस् भन्दै शुभकामना दिइन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर छन्तेलले प्रधानाध्यापक जोशीले झुपडीमा रहेको विद्यालयलाई पक्की भवनसम्म पुर्‍याउन गरेको योगदान उच्च रहेको बताए। उनले भने, ‘झुपडीमा रहेको प्राथमिक तहको विद्यालयलाई निमावि हुँदै उच्च माविसम्म पुर्‍याउनु मात्रै भएन, उहाँले विद्यालयमा सिटिइभिटीको कार्यक्रम पनि ल्याउनुभयो।’ प्रधानाध्यापक जोशीकै पहलमा ३ वर्षे सब इन्जिनियर र १८ महिने ओभरसियर कक्षा पनि सञ्चालन भइरहेको उनले बताए। ‘हेडसर आफैं काठमाडौं गएर प्राविधिक कक्षाको स्वीकृति पनि लिएर आउनुभएको थियो,’ अध्यक्ष छन्तेलले भने, ‘उहाँको विद्यालयप्रतिको योगदानबारे बयानै गर्न सकिँदैन।’

आफूलाई एकाएक विद्यार्थीले फूलमाला र अविर लगाउँदा भावविह्वल भएको बताउँदै प्रधानाध्यापक जोशीले भने, ‘त्यो क्षण मेरा लागि सपना जस्तै थियो।’ आफूले खेलाउँदै पढाएका विद्यार्थी नै आफ्नो लागि माला र अविर ल्याएर आउँदा बोल्नै नसकेको उनले बताए। विद्यार्थीहरूले बिदाइ गर्दैगर्दा रोएको दृश्यले आफू पनि भावविह्वल भएको बताउँदै उनले भने, ‘आँखामा टलपलाएका आँसु सकिनसकी रोकेँ।’  

खैरालाबाट सरुवा भई २०५५ साल भदौ १३ गतेदेखि विद्यालयमा अध्यापन गराउँदै आएका जोशीले २०५९ असोज २९ गतेदेखि विद्यालयको प्रधानाध्यापक रही काम गरेका थिए। प्राथमिक तहको विद्यालयलाई २०६२ सालमा निमावि र २०७२ सालमा माध्यमिक तहसम्मको स्वीकृति लिई कक्षा सञ्चालन गरेको पशुपति माध्यमिक विद्यालयमा २०७४ सालमा ३ वर्षे सब इन्जिनियर र २०७८ सालदेखि १८ महिने ओभरसियरको पढाइ हुँदै आएको छ।  

प्रकाशित: ६ पुस २०७९ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App