२६ असार २०८३ शुक्रबार
image/svg+xml
सम्पादकीय

शून्य सडक सचेतना

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा यो साता एक दिनमै दुई हजार ६६ जना सवारीचालक कारबाहीमा परेका छन्।  कारबाहीस्वरूप उनीहरूबाट राज्यकोषमा १८ लाख ६० हजार रुपैयाँभन्दा बढी राजस्वसमेत संकलन भयो।  सतहमा हेर्दा यो नियमित ट्राफिक अनुगमनको तथ्यांकजस्तो देखिन्छ तर यसको अर्थ गहिरो छ।  एउटै दिनमा यति ठुलो संख्यामा नागरिक नियम उल्लंघन गर्दै भेटिनु केवल ट्राफिक व्यवस्थापनको समस्या मात्र मान्न सकिँदैन, यो हाम्रो नागरिक चेतना, कानुनप्रतिको सम्मान र सार्वजनिक अनुशासनको प्रतिविम्ब हो।

राजधानी काठमाडौं देशको राजनीतिक, प्रशासनिक र आर्थिक केन्द्र हो।  अन्यत्रभन्दा शिक्षित, सचेत र अवसरप्राप्त जनसंख्याको ठुलो हिस्सा यहीं बस्छ तर यहीं दैनिक हजारौं मानिसले जानीजानी ट्राफिक नियम उल्लघन गर्नुले समस्या सडकमा होइन, हाम्रो आमसोचमा रहेको संकेत गर्छ।  रातो बत्ती काट्ने, लेन मिच्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, सडकपेटीमा पार्किङ गर्ने, एकतर्फी सडकमा उल्टो दिशाबाट सवारी चलाउने वा तीव्र गतिमा सवारी कुदाउने व्यवहार कुनै अन्जानमा हुने गल्ती होइनन्। यी सबै ‘मलाई केही हुँदैन’ भन्ने मानसिकता र सार्वजनिक नियमलाई व्यक्तिगत सुविधाभन्दा कमजोर ठान्ने प्रवृत्तिका उदाहरण हुन्।

अझ चिन्ताको विषय त मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६५ जना र नियमविपरीत राइड सेयरिङ गर्ने एक सय २२ जनामाथि भएको कारबाही हो।  मापसे गरेर गाडी चलाउनु वा व्यावसायिक नियमलाई बेवास्ता गर्नु आफ्नो मात्रै होइन, अरूको जीवनसँग खेलवाड गर्नु हो। यस्ता गतिविधिलाई सामान्य नियम उल्लंघनका घटनाको रूपमा हेर्न मिल्दैन।

नेपालमा हरेक वर्ष हजारौं सडक दुर्घटना हुन्छन्। प्रहरीको तथ्यांकअनुसार वार्षिक करिब दुई हजार पाँच सयदेखि तीन हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाउँछन् भने ३० हजारभन्दा बढी घाइते हुन्छन्। अधिकांश दुर्घटनाको मूल कारण चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, ओभरटेकमा असावधानी र ट्राफिक नियमको बेवास्ता नै हुने गरेको छ। सडकको अवस्था, सवारी साधनको प्राविधिक कमजोरी वा मौसमले पनि दुर्घटनामा भूमिका खेल्छन् तर मानवीय त्रुटि नै सबैभन्दा ठुलो कारक बनेको छ।  त्यसैले ट्राफिक नियम उल्लंघनलाई सामान्य प्रशासनिक विषय ठान्नु गलत हुनेछ।  यसको प्रत्यक्ष सम्बन्ध नागरिकको जीवनसँग छ।

महत्त्वपूर्ण प्रश्न समाजलाई नियममा राख्ने आधार के हो ? नागरिकको आत्मानुशासन कि प्रहरीको डन्डा वा जरिवानको भारी ? वास्तविक उत्तर दुवैको सन्तुलनमा छ। विकसित समाजमा ट्राफिक प्रहरी हरेक चोकमा उभिनुपर्दैन। त्यहाँ नागरिकले नियम प्रहरीको डरले होइन, आफ्नो जिम्मेवारीका रूपमा पालना गर्छन्। रातको समयमा सडक खाली भए पनि रातो बत्तीमा गाडी रोकिन्छ किनभने नियम सार्वजनिक सुरक्षाका लागि बनाइएको हो भन्ने बुझाइ हुन्छ। नेपालमा भने प्रहरी देखे हेल्मेट लगाउने, ट्राफिक चेकिङ सकिएपछि फेरि नियम उल्लंघन गर्ने प्रवृत्ति अझै व्यापक छ।  यसले हाम्रो अनुशासन बाह्य नियन्त्रणमा निर्भर रहेको देखाउँछ।

यसको अर्थ प्रहरीको भूमिका कम गर्नुपर्छ भन्ने होइन। बरु अहिलेको अवस्थामा कडा कार्यान्वयन अपरिहार्य छ।  नियम उल्लंघन गर्नेले सजिलै उम्कने अवस्था रहेसम्म सुधार सम्भव हुँदैन।  प्रविधिमा आधारित निगरानी, सिसिटिभी, स्वचालित जरिवाना प्रणाली, दोहोरिने उल्लंघनकर्तामाथि कडा कारबाही र चालक अनुमतिपत्रमा अंक कटौतीजस्ता व्यवस्था प्रभावकारी रूपमा लागु गरिनुपर्छ।  कानुनको निष्पक्ष र निरन्तर कार्यान्वयनले मात्रै नियमको सम्मान बढाउँछ।

सार्वजनिक यातायात व्यवसायी, राइड सेयरिङ कम्पनी, स्थानीय तह, विद्यालय, सञ्चारमाध्यम र नागरिक समाज सबैले सडक अनुशासनलाई सामाजिक अभियानका रूपमा अघि बढाउन आवश्यक छ।  ट्राफिक नियम पालना गर्नु जरिवानाबाट बच्ने उपाय मात्र होइन, सभ्य समाज निर्माणको आधार हो भन्ने सन्देश व्यवहारमै स्थापित हुनुपर्छ।

त्यसैले, दुई हजारभन्दा बढी कारबाहीको समाचारलाई राजस्व संकलनको सफलताका रूपमा हेर्नु पर्याप्त हुँदैन।  वास्तवमा यो हाम्रो सामाजिक अनुशासनको कमजोर अवस्थाको प्रतिविम्ब हो। प्रहरीको कारबाहीले तत्काल नियन्त्रण गर्न त सक्छ तर दिगो परिवर्तन तब मात्रै सम्भव हुन्छ, जब हरेक सर्वसाधारणले सडकलाई साझा सार्वजनिक सम्पत्ति र ट्राफिक नियमलाई आफ्नो नैतिक दायित्वका रूपमा स्वीकार गर्छन्। जिम्मेवार र सभ्य नागरिकले सडक र सहरको गरिमा अक्षुण्ण राख्न सक्छन्। 

प्रकाशित: २६ असार २०८३ ०६:०९ शुक्रबार

Download Nagarik App