२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
सम्पादकीय

दुई दिने बिदा

पटक–पटकको बिदा प्रयोग फेरि अर्को एक पटक भएको छ। सरकारले यसपटक पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै सातामा दुई दिन सार्वजनिक बिदा दिन थालेको छ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। निर्णयबाट सरकारी कर्मचारी र शिक्षकका निम्ति यो बिदाको प्रत्यक्ष प्रभाव देखिएको छ। सामान्यतः सरकारी निकायमा हुने बिदाको प्रभाव सबै क्षेत्रमा पर्छ। सरकारी कार्यालय नखुलेपछि स्वाभाविक रूपमा सर्वसाधारण सेवाग्राहीको प्रवाह पनि घट्छ।

दुई दिन बिदा दिनु आफैंमा नराम्रो होइन। संसारभरि यस किसिमको बिदा अभ्यास भइरहेको छ। हामी नेपालीले पनि दुई दिन बिदा लिएर बाँकी पाँच दिन राम्रोसँग काम गरे नहुने होइन। तर विगतमा दिइएका यस्ता बिदाको प्रभावकारिता नदेखिएपछि सरकार निर्णय उल्ट्याउन बाध्य भएको हो। तर सधैं एउटै परिस्थिति हुँदैन। विगतको यस्तो अभ्यास सफल भएन भन्दैमा अहिले पनि त्यही हुन्छ भन्ने होइन। मानसिकतामा परिवर्तन भएर र बाँकी पाँच दिनमा बढीभन्दा बढी काम गरेर दुई दिन छुट्टी लिने अवस्थाको सकारात्मक प्रभाव पनि पर्न सक्छ।

विगतमा दुई दिन छुट्टी भएपछि टाढाटाढाबाट सेवा लिन पुग्ने सर्वसाधारणलाई मर्का परेको ठानिएको थियो। कसैको काम शुक्रबार सकिएन भने उसले सोमबारसम्म पर्खिनुपर्ने अवस्था प्रीतिकर नहुन सक्छ। यस्तो काममा सर्वसाधारणलाई बढीभन्दा बढी सहज बनाएपछि भने त्यसको फाइदा देखिन सक्छ। दुई दिनको सरकारी कार्यालय बन्दले इन्धन, बिजुली, पानीलगायतका अन्य सेवा तथा सुविधाको प्रयोगमा कटौती हुँदा राज्यलाई फाइदा पुग्छ। त्यसमा पनि अहिलेको जस्तो इन्धनको भाउ उकालो लागिरहेको र अन्तर्राष्ट्रिय स्तरमै समस्या परेको बेलामा यसबाट स्थिति सहज हुन्छ।

अहिलेको बिदा अभ्यासले विशेष गरी स्कुल कलेजको शैक्षिक कार्यक्रमलाई व्यवस्थित गर्न भने समस्या देखिएको छ। दुई दिनको बिदालाई समायोजन गर्ने गरी पढाइ घण्टाको व्यवस्था गर्नुपर्ने हुन्छ। वास्तवमा दुई दिनको बिदाले विद्यार्थीलाई भने नयाँ विषयवस्तुको अध्ययन गर्न मात्र होइन, आफूलाई अतिरिक्त क्रियाकलापमा लगाउन मद्दत पुग्छ। तथापि, निरन्तर मोबाइल र कम्प्युटरको स्क्रिनटाइम बढाउने र सिर्जनात्मक नबन्ने अवस्थाले भने विद्यार्थीको हित गर्दैन।

नेपाल यसै पनि धेरै दिन सार्वजनिक बिदा दिने मुलुकका रूपमा चिनिन्छ। एक, हाम्रो मुलुकमा विभिन्न जातजाति, सम्प्रदाय र धर्मका कारण सांस्कृतिक परम्परा र प्रचलनअनुसारका बिदा दिनुपर्ने अवस्था छ। अर्को, हामी बिदाबाहेकका दिनमा पनि खासै प्रभावकारी ढंगले काम नगर्नेमा पर्छौं। पाँच दिन राम्ररी काम गर्ने हो भने दुई दिन बिदा दिँदा पनि खासै फरक पर्दैन। त्यसले कार्यक्षमता अभिवृद्धिमा मद्दत गर्छ। कतिपय मुलुकमा बिदाको समय बढाउँदा सकारात्मक प्रभाव परेको देखिएको छ। हामीकहाँ पनि जेनजी अभियानपछि आएको सरकार हुनाले बदलिँदो परिस्थितिलाई ध्यानमा राखेर कार्य घण्टामा ध्यान दिन सक्छ।

दुई दिनको सार्वजनिक बिदाका हिसाबले मुलुकमा सार्वजनिक बिदा दिन १४५ पुग्ने देखिएको छ। सरकारले गत फागुन १३ मा २०८३ सालका लागि बिदा स्वीकृत गरेको थियो। मुलुकमा अहिले ५२ दिन शनिबार, ५२ दिन आइतबार, ३७ दिन विभिन्न पर्व बिदा र थप चार दिन विभिन्न दिवसमा बिदा पाउने व्यवस्था छ। दुई दिन बिदा भन्नेबित्तिकै उतर्सिनु पर्दैन। धेरै हिसाबले यसलाई कार्यान्वयन गर्नेतिर लाग्नुपर्छ। हामीले पनि विश्वका अन्य मुलुकका जस्तै बिदा प्रक्रिया अपनाएर व्यावहारिक ढंगले काम अगाडि बढाउन सकिन्छ। जति दिन बिदा दिए पनि कार्य दिनमा भने राम्ररी काम नगर्ने सार्वजनिक निकायका कर्मचारीका हकमा भने सरकारले अन्य उपाय लगाउन र तिनलाई प्रेरित गर्न सक्छ।

सरकारले दुई दिन बिदा दिने अभ्यास यसअघि दुई पटक छोटो समयका निम्ति कार्यान्वयन गरी फेरि हटाएको हाम्रो इतिहास छ। २०५६ सालमा पाँच महिना सातामा दुई दिन बिदा दिइएको भए पनि सरकारले पछि हटाएको थियो। २०७७ सालमा आन्तरिक पर्यटन बढाउन दुई दिन बिदाको पहल गरिएको थियो। दुई दिन बिदा दिँदा राज्यले एक अर्ब ६५ करोड रुपैयाँ बचत गर्ने, लैंगिक समानता कायम हुनेजस्ता तर्क पनि गरिएको थियो। यसको विरोध सामान्य प्रशासन मन्त्रालयबाटै भएपछि कार्यान्वयनमै गएन।

बिदा मनाएर र फुर्सदमा बसेर आफूलाई थप क्रियाशील बनाउन नसकिने होइन। त्यसका निम्ति बाँकी समयमा यथार्थमै काम गर्नुपर्ने हुन्छ। हामीकहाँ अहिलेजस्तो के बिदा के कामको अवस्था भने हुनुहुँदैन। काम भए वा नभएको अनुगमन गर्ने व्यवस्था हुनुपर्छ। दुई दिनको बिदाको व्यवस्थाले पारिवारिक वातावरण बढाउने, होटल तथा रेस्टुरेन्टमा खानपिन गर्ने, पर्यटकीय क्षेत्रमा घुमफिर गर्ने अवस्थाले अर्थतन्त्रलाई योगदान पनि गर्न सक्छ।

प्रकाशित: २४ चैत्र २०८२ ०६:०३ मंगलबार

Download Nagarik App