२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
सम्पादकीय

लोकसेवाले समातेको लय

मुलुकमा उद्योगधन्दा, कलकारखाना र उद्यमशीलताको अभाव रहेका बेला रोजगारीको सबैभन्दा उपयुक्त क्षेत्र सार्वजनिक सेवा नै हो। राज्यका मुख्य संस्था र संगठनमा लोकसेवा आयोगबाट छानिई जिम्मेवारीमा पुग्ने यो उत्तम अवसर हो। मेहनत गर्ने जहाँसुकैका सर्वसाधारणका लागि बिना ‘सोर्स-फोर्स’ मौका पाउने उपाय लोक सेवाको तयारी हो। त्यसैले पारिवारिक आर्थिक स्थिति कमजोर रहेका, दुर्गम ठाउँमा बसोबास गर्ने र काठमाडौंजस्ता ठुला सहरमा टेक्ने डालो र समाउने हाँगो नभएका व्यक्तिका निम्ति योभन्दा अर्को सहज उपाय छैन।

निजामती प्रशासन, जंगी सेवा, प्रहरीलगायतमा ठुलो संख्यामा युवाले आवेदन दिने गरेका छन्। पञ्चायतकै बेला पनि कतै अवसर नपाउनेहरूले लोकसेवाको तयारी गरी सेवामा प्रवेशको अवसर पाउँथे। लोकसेवा त्यतिबेलै पनि निष्पक्षताका निम्ति चर्चित थियो। मुलुकमा पछिल्ला समयमा एकाध पटक केही गडबडीका सूचना आएका भए पनि लोकसेवालाई अहिलेसम्म खुला र स्वतन्त्र आयोगका रुपमा लिने गरिएको छ। अचेल त कैयन् निकायले लोकसेवालाई जिम्मा दिएर अन्याय र पक्षपातको आरोपबाट आफूलाई जोगाउने गरेका छन्।

लोकसेवा आयोगले विज्ञापन गर्नेबित्तिकै ठुलो संख्यामा किशोर किशोरीले आवेदन दिने गरेका छन् । विगतमा भन्दा अहिले सरकारी सेवाको इज्जत बढेको छ। निजी क्षेत्रतिर हाम फाल्ने वा विदेश जान खोज्ने कैयन्ले अहिले लोकसेवालाई सहारा मानेका छन्। एकातिर, वृद्ध मातापिताको सेवा गरेर घरैमा बस्न पाइने र अर्कातिर विदेशमा दोस्रो दर्जाको नागरिक हुनुभन्दा देशमै केही गर्ने अवसर हो यो। घुँडा धसेर पढ्ने र लोकसेवा उत्तीर्ण भई भविष्य सुधार्ने मौकाका रूपमा यसलाई लिने गरिएको छ।

त्यसको तयारीका लागि लोकसेवासम्बन्धी विषयमा अध्ययन गर्ने प्रवृत्ति पनि बढेको छ। आयोगका तयारी कक्षाहरू पनि त्यहीअनुसार सञ्चालन हुन थालेका छन्। सरकारी जागिरमा युवाको आकर्षणले दक्ष जनशक्ति विदेश पलायनलाई रोकेको छ। त्यसकै परिणाम लोकसेवा आयोगका सबै किसिमका परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गर्नेमा जिल्लागत आधारमा यसअघिसम्म सधैं अगाडि रहेका स्याङ्जा, गुल्मीलगायत जिल्लालाई पछि पार्दै कर्णाली प्रदेशको जुम्ला अगाडि आएको छ। यो निश्चय पनि सुखद पक्ष हो। अन्य कुनै मानव सूचकले गर्न नसकेको काम लोकसेवाले पूरा गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गर्ने जिल्लामा जुम्ला अग्रपंक्तिमा छ। यस हिसाबले आयोगको परीक्षामा आकर्षण बढेको मात्र होइन, दुर्गम र हिमाली जिल्लाका युवा सक्रिय सहभागी भएको पुष्टि हुन्छ। लोकसेवाका लागि पढे मात्रै पुग्छ, यसमा कुनै भनसुन लाग्दैन। अहिलेसम्म आयोगले युवाको मन जितेको पनि यही कारण हो। जसको भित्र मुलुकमै केही गर्ने आगो छ, तिनले निश्चित रूपमा लोकसेवा उत्तीर्ण गर्न सक्छन्।

आर्थिक वर्ष २०८१/८२ मा निजामती सेवातर्फ दुई हजार पाँच सय ८३ जना र राष्ट्रिय मानवअधिकार सेवातर्फ नौ जना गरी कुल दुई हजार पाँच सय ९२ जना उम्मेदवार आयोगको परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा नियुक्तिका लागि सिफारिस भएकोमा जुम्ला अग्रपंक्तिमा देखिनुले अन्य हिमाली तथा दुर्गम जिल्लाका युवालाई पनि प्रेरणा बन्ने देखिन्छ। जुम्लाबाट अन्य जिल्लाका युवाले पनि सिक्ने र मेहनतका लागि उत्साह प्रदान गरेको छ।

यस वर्ष जुम्लापछि स्याङ्जा, गुल्मी, धनुषा र काठमाडौं/सर्लाही छन्। तराई मधेसका जिल्लाबाट पनि सहभागिता कमजोर देखिएको छैन। जिल्लागत आधारमा मुस्ताङबाट एक जना मात्र उम्मेदवार सिफारिस भएका छन्। मनाङबाट यस वर्ष कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन्। सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्ला क्रमशः सर्लाही, धनुषा, बारा, महोत्तरी र रौतहट छन्। यसबाट तराई मधेस पनि कमजोर नभएको देखिन्छ। सबैभन्दा बढी दरखास्त पर्ने जिल्ला सर्लाही भए पनि उत्तीर्ण हुने जिल्ला जुम्ला भएको हो।

लोक सेवाको  तथ्यांकअनुसार पाँच जिल्ला सर्लाही, धनुषा, बारा, महोत्तरी र रौतहटबाट कुल ८० हजार एक सय ६८ (१७.४३ प्रतिशत) दरखास्त परेका थिए। सबैभन्दा न्यून दरखास्त पर्ने पाँच जिल्लामा क्रमशः मनाङ, मुस्ताङ, रसुवा, रुकुम पूर्व र डोल्पा छन्। यी जिल्लाबाट कुल दुई हजार एक सय ८२ (०.४७ प्रतिशत) मात्र दरखास्त परेका छन्। लोक सेवा आयोगमार्फत राष्ट्रसेवामा युवा आकर्षण सबैभन्दा उच्च देखिनु नै सकारात्मक पक्ष हो। विगतमा पेन्सनसहित सेवा निवृत्त जीवनको सुरक्षाका लागि सुरक्षित भएका कारण लोकसेवामार्फत राष्ट्रसेवामा आकर्षण देखिए पनि अहिले निवृत्तिभरणको व्यवस्था हटाइएको छ। तर पनि युवाको अकर्षण भने अझ बढी देखिनुलाई युवाले राष्ट्रमै बसेर देशका लागि गर्छु भन्ने अर्को सुखद पक्ष रहेको छ।

लोकसेवा आयोगमार्फत स्वतन्त्र, निष्पक्ष तथा तटस्थ परीक्षा हुने र योग्यताअनुरूप समान अवसर प्राप्त हुन्छ। यो विश्वास आयोगले लामो समयदेखि कामय राखेका कारण पनि युवा आकर्षित हुने गरेका हुन्। यो विश्वसनीयता लामो समयको अभ्यासबाट हासिल भएको हो। विदेशमा भन्दा स्वदेशमा रोजगारीको चाहना राखेर लोकसेवा पढ्ने युवाहरू नै यसमा बढी संलग्न रहेका छन्। प्रतिस्पर्धाको रेखा लम्बिँदै गएको छ। लोकसेवामा हजारौं प्रतिस्पर्धीको बिचमा नाम निकालेर राष्ट्रको सेवामा लाग्नु कम्ती गर्वको पक्ष हो। यो यथार्थमै सही आर्जन हो।  

प्रकाशित: १९ कार्तिक २०८२ ०५:५६ बुधबार

Download Nagarik App
Download Nagarik App