मुलुकले लोकतन्त्र प्राप्त गरेको दुई दशक पूरा भएको छ। यसले स्थिरता प्राप्त गर्न र आम नागरिकले प्रतिफल पाउन अझै लामो समय निरन्तरता पाउनुपर्छ।
लोकतान्त्रिक शासन व्यवस्था भनेको जनताले जनताका निम्ति गर्ने शासन व्यवस्था हो। आम सहभागिता यसको पहिलो सर्त हो। नागरिकले स्वामित्व नलिएको शासन व्यवस्था टिकाउ हुँदैन। लोकतन्त्रमा विश्वास नगर्ने शासकहरूले नागरिकभन्दा आफूमा बढ्ता भर गर्छन्। तिनलाई आफूले मात्र मुलुक हाँक्न सक्छु भन्ने विश्वास लिएका हुन्छन्।
लोकतन्त्र तलैदेखि अभ्यास गरिने र माथिसम्म प्रभावित गर्ने व्यवस्था हो। हामीले विगतमा जस्तै सबै क्षेत्रमा केन्द्र हाबी हुने प्रणालीलाई अंगीकार गरेका छैनौं। संघीय सरकारका सीमा तोकिएका छन्। धेरै जसो क्षेत्रलाई स्थानीय सरकारको मातहतमा राखिएको छ। प्रादेशिक संरचनालाई मुलुकको सर्वोत्तम हितमा काम गर्ने गरी तोकिएको छ।
शासनमा समावेशी चरित्र समावेश गरिएको छ। सर्वधर्म समभावको स्थिति छ। नागरिकलाई अधिकारले सुसज्जित गरिएको छ। हामीले जनताका छोराछोरीलाई राज्यका सबै निकायमा पुर्याउने गरी खुला गरेका छौं। राष्ट्रपति बन्न कसैलाई रोकतोक छैन।
हामीले लोकतन्त्र खोजेको सुशासनका निम्ति पनि हो। गत वर्ष हाम्रा निम्ति आँधीमय रह्यो। मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि चुलिएका आकांक्षा परिपूर्ति भएनन्। नागरिकका सपना अधुरै रहे। सोचेजस्तो सुशासन हासिल हुन सकेन। राजनीतिक नेतृत्वमा भ्रष्टाचार हाबी भएको जस्ता प्रश्न उठिरहे। त्यसैको परिणामस्वरूप भदौ २३, २०८२ मा जेनजी विद्रोह भयो। त्यसको भोलिपल्ट २४ गते मुलुकको मुख्यालय सिंहदरबार, न्यायालय, संसद, निजी तथा सार्वजनिक उद्यम आदिमा तोडफोड, आगजनी र आक्रमण भयो।
यो परिस्थिति हाम्रा निम्ति सहज थिएन। राष्ट्रपति रामचन्द्र पौडेलले त्यतिबेला सार्वजनिक गरेको वक्तव्यमा भनेझैं ‘जुक्तिका साथ’ फेरि परिस्थितिलाई बाटोमा ल्याउन कोसिस भयो। २०८२ फागुन २१ मा निर्वाचन भएपछि फेरि संविधानले सक्रिय हुने मौका पाएको छ। बलियो सरकार आएपछि देशमा अब थप परिवर्तन आउने अपेक्षा गरिएको छ।
मुलुकले प्राप्त गरेको लोकतान्त्रिक संविधान त्यतिकै आएको होइन। विगतका अनेकन् आन्दोलन, संघर्ष र अपेक्षाको दस्ताबेजका रूपमा यो रहेको छ। संविधानसभाले बनाएर जारी गरेको संविधान भनेको जनताको संविधान हो। यसलाई आवश्यकताअनुसार परिमार्जन र संशोधन गर्दै जनसेवामा लगाउनु मुलुकवासीको कर्तव्य हो।
लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र मात्र हो। यदाकदा हामी परिस्थितिसँग आत्तिदै फेरि निरंकुशता विकल्प हो कि भन्ने ठाउँमा पुग्छौं। यथार्थमा उदार लोकतान्त्रिक व्यवस्थाले नै दिगो विकासतर्फ मुलुकलाई अगाडि बढाउँछ। हामीले देखेका दक्षिण कोरिया, जापानजस्ता मुलुक लोकतन्त्रकै बाटोबाट त्यहाँ पुगेका हुन्। त्यसैले लोकतन्त्रको घुमाउरो बाटो निरंकुशताको छोटो बाटोभन्दा कता हो कता उपयोगी छ। वैयक्तिक स्वतन्त्रता अधिक भएको शासन व्यवस्था मात्र दिगो हुन्छ। हरेक क्षेत्रमा राज्य हाबी हुनुपर्छ भन्ने होइन।
यसै पनि हामीले अंगीकार गरेको शासन व्यवस्था भनेको सीमित सरकारको अवधारणा हो। सरकारको काम भनेको नागरिकलाई काम गर्न सहयोग गर्ने हो। निजी क्षेत्रलाई बढावा दिँदै सरकारले मुलुकलाई अगाडि बढाउने हो। कहिलेकाहीं हामीलाई लाग्छ– सबै क्षेत्रको काम सरकारले गर्ने हो। होइन, लोकतान्त्रिक शासन व्यवस्थामा सरकारको काम थोरै हुन्छ। नागरिक र लोकतन्त्रका संस्थाहरूलाई सहजै काम गर्न सक्ने बनाउनु हो।
लोकतन्त्र फस्टाउने भनेकै उज्यालोमा हो। त्यो उज्यालो भनेको आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता हो। प्रेसले निर्भय भएर लेख्न सक्ने वातावरण हो। लोकतन्त्रमा शासन परिवर्तन भइरहन सक्छन्। विभिन्न बहाना र बान्कीमा तिनको आगमन हुन सक्छ। तर, लोकतन्त्रका आधारभूत चरित्रलाई बिगार्न नसक्ने गरी संस्थाहरू सक्रिय हुनुपर्छ।
मुलुकले विश्वास गरेका संस्थाहरूले आफूलाई तदनुकूल परिवर्तन पनि गर्नुपर्छ। सबै खाले नागरिकका आकांक्षा र अपेक्षालाई तिनले पूरा गर्न सक्नुपर्छ। कतिपय मुलुकका सेना, प्रहरी र निजामती कर्मचारीले अपेक्षाअनुरूप काम गर्न नसक्दा शासन व्यवस्था बरालिएका उदाहरण पनि छन्। हामी आजको यस्तो अवस्थामा उभिएका छौं, जहाँबाट हामीले फेरि लोकतन्त्रका निम्ति चिन्ता गर्नु नपरोस्। यो आजभन्दा भोलि बलियो र फराकिलो बन्दै जाओस् भन्ने सोच बनाउनुपर्छ।
यसै पनि हाम्रो मुलुक कहिल्यै निरंकुशतामा रहन सक्दैन। विगतमा पनि हामीले पटक–पटक आन्दोलन गरेका छौं। त्यो लोकतन्त्रकै निम्ति छ। कैयन् पटक गुमेको लोकतन्त्रलाई फेरि हामीले आन्दोलनको जगमा पुन: प्राप्त गरेका छौं। त्यसैले संस्थाहरूलाई यसरी सञ्चालन गर्नुपर्छ, फेरि लोकतन्त्र धराशायी नहोस्। कसैले यसका विरुद्धमा काम गर्छ भने मुलुकको कानुन सक्रिय हुनुपर्छ।
हाम्रा निम्ति लोकतन्त्र अब विश्वास हो। यो हाम्रा निम्ति प्रत्येक पलको श्वास पनि हो। हामी कुनै पनि बहानामा यसबाट पछाडि फर्कन सक्दैनौं। एकपटक पिँजडाबाट उन्मुक्त भइसकेको पन्छी फेरि त्यही बन्धनमा फर्किन चाहँदैन।
लोकतन्त्र दिवसको अनेकानेक शुभकामना ! लोकतन्त्र झन् लयात्मक हुँदै जाओस् !
प्रकाशित: ११ वैशाख २०८३ ०६:०४ शुक्रबार

