जेन–जी आन्दोलन निम्त्याउने अनेकन कारणमध्ये दलहरूको लोकतन्त्रीकरण प्रमुख हो । मुलुक लोकतन्त्रमा चलेको भने पनि दलहरूभित्र यसको सर्वथा अभाव अनुभव भएको हो ।
यसले स्वाभाविकरूपमा दलभित्र नेतृत्व हस्तान्तरण मात्र गराएन शासन सत्तामा क्षमतावान् युवा पुग्न पाएनन् । दलभित्र नेतृत्वको चाकडी गर्नुपर्ने र तिनकै अनुकम्पामा मात्र दलभित्र भूमिका पाउने अवस्था रहेको हो । दलभित्र उमेरभन्दा पनि अवसरको पक्ष हो । मुलुकमा २०४६ सालको जनआन्दोलनको सफलतापछि उदाएको राजनीतिक पुस्ताले नै अहिलेसम्म हालिमुहाली गरिरहेको छ । यसले अरुलाई अवसर दिएन ।
एउटा सफल राजनीतिक प्रणालीभित्र भावी नेतृत्व पंक्ति निश्चितजस्तै हुन्छ । नेतृत्व विकास सहज भएको खण्डमा मात्र विगतका कामको निरन्तरता र भावी जिम्मेवारी सम्पन्न गर्न सहज हुन्छ । निकै अघिदेखि विभिन्न मुलुकमा सरकार परिवर्तन हुँदै नयाँ–नयाँ व्यक्तिले अवसर पाइरहे पनि नेपालको अवस्था भने भिन्न रहेको हो । झन् पछिल्ला वर्षमा तीन नेताबिच ‘म्युजिकल चेयर’ कै खेलजस्तो भइरहेको हो । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल यो खेलमा निरन्तर रहेका हुन् । त्यसमा पनि पछिल्लो पटक एमाले र कांग्रेसबिच गठबन्धन भएपछि दुई नेता ओली र देउवाले निश्चित गरेअनुसार सरकार प्रमुख बन्ने अवस्था रहेको हो । ओलीपछि देउवा प्रधानमन्त्री हुने निश्चित मात्र भएको होइन यिनका कामबाट शासकीय सुधार हुँदैन भन्ने पनि परेको हो ।
यस्तो विषम परिस्थिति भएका बेला मुलुकमा आन्दोलन भएको हो । त्यस आन्दोलनले सबै क्षेत्रमा सुधारको अपेक्षा गरेको छ । विशेष गरी मुलुकमा लोकतन्त्रका निम्ति बलिदान गरेका र लामो समय संघर्ष गरेका दलको भूमिकामाथि प्रश्न उठेको छ । एमाले, कांग्रेस र माओवादीको राजनीतिक भूमिका गौण ठान्नुपर्ने अवस्थामा युवा त्यतिकै पुगेका होइनन् । तिनले निरन्तर एकपछि अर्को गरी यिनै दलका नेता रहने र मुलुकको विकास निर्माण र दैनिक शासन प्रशासनमा तात्त्विक अन्तर नदेखेपछि परिवर्तन खोजेका हुन् । परिवर्तनप्रतिको यो अपेक्षा अब दलले कसरी पूरा गर्छन् ? अहिलेको प्रश्न यही हो ।
आन्दोलनकै क्रममा प्रमुख नेतामाथि आक्रमण भएको छ । तिनका घर र सम्पत्ति जलेका छन् । उनीहरू यतिबेला विस्थापितजस्तो अवस्थामा पुगेका छन् । यसले गर्दा स्वाभाविकरूपमा उनीहरूप्रति सहानुभूतिका शब्द पनि बर्सिन थालेका छन् । यसै पनि नेपाली समाज चाँडै बिर्सन सिपालु छ । बिर्सने समाज सुखी हुन्छ तर त्यसले इतिहासबाट पाठ सिक्दैन । इतिहासबाट पाठ सिक्ने समाज हुँदो हो त राजाको शासनलाई बेलाबेलामा महिमामण्डित गर्ने थिएन । अहिलेकै अवस्था अगाडि बढ्दै जाने र प्रमुख नेताले यसबिच बिराएको बाटोलाई त्यतिकै छाडिदिने हो भने फेरि उही महिमामण्डित गर्ने परम्पराले निरन्तरता पाउँछ ।
इतिहासको कालखण्डमा राजनीतिक परिवर्तनका निम्ति भूमिका खेल्ने दल विस्मृतिमा पुगेको हामीले बिर्सन मिल्दैन । राणा शासनको अन्त्यका निम्ति लडेको प्रजा परिषद् नामको दल अहिले कहाँ छ ? यसलाई कांग्रेस, एमाले र माओवादीले बुझ्नु आवश्यक छ । इतिहासको कालखण्डमा यी तीनै दलको आ–आफ्नै उल्लेख्य भूमिका छ । तिनले आम नागरिकको अधिकार प्राप्तिको आन्दोलनलाई सहयोग गरेकै हुन् । नेपाली समाजलाई अधिकारबाट प्रज्वलनशील तुल्याएका यी दलहरू समयानुकूल परिवर्तन हुन नसक्दा अहिले आफैं जल्न बाध्य भएका छन् ।
त्यसैले यतिबेला यी दलका निम्ति एउटा गम्भीर अवसर आएको छ । जेन–जी आन्दोलनको आलोकमा तिनले अब आफूलाई सुधार्न कोसिस गर्नुपर्छ । कांग्रेसको अघिल्लो महाधिवेशनमा दुई युवा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुँदा त्यसको असर सबै दलमा पुग्ने अपेक्षा गरिएको थियो तर त्यो अरु दलमा त्यसरी अनूदित भएन । बरु विस्तारै पुरानै नेताले दललाई आफ्नो पकडमा राखिरहे ।
नेपाली राजनीतिमा दलको सत्ता हातमा राखिराख्दा राज्यसत्ता पनि आफैंमा सीमित हुने अवस्था छ । जो दलको नेतृत्वमा रहन्छ उसले पालैपालो आउने अवसर उपयोग गर्दै सरकार चलाउँछ । दलको नेतृत्व जसले चलाए पनि सरकारमा अरुलाई अवसर दिएको भए पनि त्यसले असन्तुष्टि कम गर्न सक्थ्यो । शारीरिकरूपमा जीर्ण भए पनि युवालाई ढिम्किनै नदिने र जसरी पनि दलको सत्ता आफ्नो हातमा लिने प्रवृत्ति रहेको हो ।
यो अवस्थालाई मनन् गर्दै अहिले दलभित्र सुधारका निम्ति आवाज उठ्न थालेको छ तर त्यो आवाजलाई बिचैमा रोक्न थप बल पनि हुन थालेका छन् । पुरानै नेतृत्वका पक्षधरले त्यो आवाजलाई थुन्ने मात्र होइन अहिलेको अवस्थामा नेतृत्व परिवर्तन गर्न हुन्न भन्न थालेका छन् । यस्तो अवस्था रहेमा स्वाभाविकरूपमा भोलिको अवस्था दुःखद हुने देखिँदैछ । त्यसैले प्रमुख दलका नेताहरूले नयाँ नेतृत्वलाई आउन दिन भूमिका खेल्ने बेला भएको छ । परिवर्तनको आवाज थुन्न खोज्ने हो भने त्यसले दलहरूलाई रसातलमा पुर्याउने निश्चित छ । अब पनि नचेत्ने र पुरानै ढर्रामा हिँड्न खोज्ने हो भने त्यसले ल्याउने दूरगामी प्रभाव पीडादायी हुने निश्चित छ ।
ओली, देउवा, दाहालको नाम प्रमुख दल भएका कारण उल्लेख गर्नुपरेको हो । यही स्थिति अन्य नेताको हकमा पनि लागु हुन्छ । माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुरलगायतका पुराना नेताहरू धेरैले अब क्रमशः नयाँ नेतृत्वलाई दल जिम्मा लगाएर आफूहरू सल्लाहकारको भूमिकामा जानु उचित हुन्छ । सिंगापुरका नेता ली क्वानयुले चाहेका भए बाँचुञ्जेल त्यहाँको प्रधानमन्त्री भइरहन सक्थे तर उनी नयाँ नेतृत्वलाई सरकार बुझाएर ‘मिनिस्टर मेन्टर’ भन्ने सल्लाहकारको पद दिएर बस्न तयार भए ।
त्यसैले सुधारका निम्ति आएको यो अवसरलाई अहिले गुमाउनु उचित हुँदैन । प्रमुख नेताहरूले आफ्नो जीवनमा धेरै योगदान गरेका छन् । अरु थप योगदान गर्न बाँकी छैन । आफ्ना निकटस्थ व्यक्तिहरूले उचालेकै भरमा दलको सत्ता छाड्नु हुन्न भन्ने लागेको छ भने त्यो घातक हुन्छ । मुलुकको लोकतन्त्रले मात्र होइन दलभित्रको लोकतन्त्रले पनि नागरिक जीवनमा प्रभाव पार्छ । नागरिकलाई आशाको सन्देश दिन र भोलिको चुनावमा दललाई प्रभावकारी बनाउन पनि अब पुराना नेताले ध्यान दिनुको विकल्प छैन ।
प्रकाशित: ६ आश्विन २०८२ ०६:०६ सोमबार

