१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
सम्पादकीय

सडक शासना


फेरि अर्को बस दुर्घटना भयो। केही दिनका निम्ति यो चर्चामा रहन्छ। फेरि यो एउटा थप दुर्घटनाबाहेक केही हुँदैन। सडक दुर्घटनामा अवसान र अंगभंग हुनेका परिवारका निम्ति पहाड खस्छ। तर, अन्यका निम्ति दुर्घटनाको एउटा तथ्यांकबाहेक केही हुँदैन। प्रत्येक पटक यस्तो दुर्घटना हुन्छ। फेरि त्यस्तो नहोस् भनेर कुनै जिम्मेवारीपूर्ण काम गरिँदैन। हवाइ दुर्घटना र सडक दुर्घटनामा पर्नेका बिच त्यही अन्तर हुन्छ, जुन अन्तर उच्च र निम्न वर्गका बिचमा हुन्छ। दुर्घटनामा पनि वर्ग हेरिन्छ, व्यक्ति हेरिँदैन। 

बेनीघाट रोराङ गाउँपालिका– भैंसीगौडामा भएको बस दुर्घटनामा परेर १९ जनाको ज्यान गएको छ। पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुबस सोमबार बिहान पृथ्वी राजमार्गबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो। यस्तो भयावह दुर्घटना हुँदा जीवन रहने स्थिति हुँदैन। एउटै दुर्घटनामा यति ठुलो संख्यामा सर्वसाधारणको मृत्यु हुनु आफैंमा दु:खलाग्दो पक्ष हो। हामीले सवारी दुर्घटनालाई गम्भीरतापूर्वक लिएकै छैनौं। गम्भीर भएको भए उस्तै प्रकृतिका घटना हुने थिएनन्। कल्पना गरौं, कुनै हवाइ दुर्घटना भएर यतिका व्यक्तिको निधन हुँदा कतितिरबाट संवेदनशीलता देखिने थियो। 

धन्य, गृह मन्त्रालयले यसमा छानबिन समिति गठन गर्ने भएको छ। तर, यस्तो छानबिन केवल झारा टार्ने वा तत्कालको आक्रोश कम गर्ने हिसाबले मात्र हुनुहुँदैन। यसले यो घटना कसरी भयो भनेर मात्र पुग्दैन। भविष्यमा यस्ता घटना हुन नदिन राज्य, यातायात व्यवसायी, बस सञ्चालक र यात्रुका निम्ति स्पष्ट मार्गदर्शन आवश्यक छ। सडक दुर्घटनामा परेर सर्वसाधारणको मृत्यु हुनु भनेको नियमित आकस्मिकता जस्तो मात्र छ। 

वास्तवमा हाम्रो मुलुकमा सवारी साधनको यान्त्रिक परीक्षण समयमै हुँदैन। त्यसै गरी यात्रुको सुविधा र सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवसाय गरिँदैन। यात्रा गर्ने व्यक्तिहरूको स्पष्ट पहिचान हुँदैन। यसरी यात्रा गर्नेका निम्ति बिमाको व्यवस्था गर्नुपर्ने हो। कतिपय अवस्थामा त्यो पनि गरिएको हुँदैन। सडक यातायात व्यवस्थाको अनुगमन गर्ने जिम्मेवारी पाएका निकायले अहिलेसम्म यात्रुलाई आश्वस्त तुल्याउने गरी काम गरेका छैनन्। नियमन व्यवस्था प्रभावकारी हुन सकेमा दुर्घटना टार्न सकिन्छ। सावधानी कम हुँदा नै दुर्घटना हुने हो।

बसमा चालकसहित ४४ जना थिए। दुर्घटनामा घाइते २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अधिकांशलाई ट्रमा सेन्टर काठमाडौंमा उपचारका लागि ल्याइएको छ। मृतकमध्ये एकएक जना बेलायती, भारतीय र चिनियाँ नागरिकसमेत रहेका छन्। यस्तो दुर्घटनाले स्वाभाविक रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै नेपालको बदनामी गराउने खतरा रहन्छ। सडक दुर्घटनाका हिसाबले यसै पनि नेपालको अवस्था कमजोर छ। 

बर्सेनि नेपालमा सडक दुर्घटनामा परी मर्नेको संख्या ठुलो छ। नेपालमा दैनिक ७५ भन्दा बढी सडक दुर्घटना हुने गरेका छन्। यसले हाम्रो सडक कति भयानक अवस्थामा छ भन्ने प्रस्ट हुन्छ। सडकलाई हामीले खेलाँचीका रूपमा लिएका छौं। सडकको स्पष्ट रेखांकन नभएको र राम्ररी बनिनसकेको अवस्थामा पनि प्रयोग गर्ने गरिएको छ। सडक दुर्घटनामा परी नेपालमा सरदर दैनिक सात जनाको मृत्यु हुने सरकारी तथ्यांक छ। त्यो हिसाबले बर्सेनि मृत्यु २५ सय जनाको हाराहारीमा पुग्छ। कतिपय दुर्घटनाको रिपोटिङ नहुने र अस्पतालमा पुगेपछि भएको मृत्युको गणना नहुने हिसाबले सडक दुर्घटनाको तथ्यांक अझ धेरै हुने मानिएको छ। हुन पनि, विश्व स्वास्थ्य संगठनको एक आँकलनले सडक दुर्घटनाका कारण नेपालमा बर्सेनि करिब आठ हजार जनाको मृत्यु हुने देखाएको छ । यस्तो मृत्यु विश्वव्यापी रूपमा बर्सेनि १३ लाख ५० हजार रहेको छ। आश्चर्यको पक्ष, सडक दुर्घटनाको ९० प्रतिशत चालकको गल्तीले हुन्छ भन्ने अनुमान गरिएको छ। यस हिसाबले यात्रुबस चलाउने व्यक्तिको मानसिक तथा अन्य स्वास्थ्यबारे धेरै चासो राखेको देखिँदैन। कतिपय अवस्थामा स्कुलबस चलाउने चालकले समेत मादक पदार्थ सेवन गरेको पाइएका घटना भर्खरै मात्र पनि सार्वजनिक भएका छन्। 

समस्या आउँछ, त्यसको सामना गर्ने तत्परता हुनुपर्छ। केही घटनालाई हामीले सामान्यीकरण गरिसकेका छौं। सडक दुर्घटनामा आफू नपरेसम्म खासै त्यसलाई गम्भीरतापूर्वक नलिने हाम्रो प्रवृत्ति आफैंमा चिन्ताजनक पक्ष हो। कतिपय अवस्थामा हामी अन्य घटनाक्रममा बढी संवेदनशील हुन्छौं तर यसमा खासै ध्यान दिइएको देखिँदैन। राजधानी काठमाडौंकै सडकमा हेर्ने हो भने पनि असाध्यै धेरै दुर्घटना हुन्छन्। त्यसलाई मिलाउन र कानुनी व्यवहार मिलाउन प्रहरीलाई धौधौ परेको देखिन्छ। यसको अर्थ सडक अनुशासनमा कमै ध्यान दिने गरिएको छ। सडकमा निस्किएपछि साँझसम्ममा के हुने हो भन्ने त्रासमय वातावरण हुनु भनेको डरलाग्दो पक्ष हो। सडक अनुशासन कायम गर्न विशेष ध्यान दिनुपर्ने देखिएको छ। 

प्रकाशित: १२ फाल्गुन २०८२ ०६:०० मंगलबार

Download Nagarik App